स्थानीय तहमा मौलायो भ्रष्टाचार, प्रतिशत नै तोकेर घुस

काठमाडौं । सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरेको दाबी गरिरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पछिल्ला कारबाहीले स्थानीय तहमा भ्रष्टाचारका उजुरी र मुद्दा उल्लेख्य देखिएका छन् । आयोगले साउनको दोस्रो र तेस्रो सातामा दायर गरेका मुद्दामध्ये करिब ४५ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको पाइएको छ ।

आयोगका अनुसन्धान अधिकारीहरूका अनुसार पछिल्ला स्टिङ अपरेसनमा पक्राउ परेका अधिकांश कर्मचारीले भुक्तानी रकमको निश्चित प्रतिशतलाई ‘सिस्टम’ वा ‘अडिट खर्च’ भन्दै सेवाग्राहीसँग घुस असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आर्थिक वर्षको अन्त्यमा भएका भुक्तानीको कमिसन असुल्न सेवाग्राहीलाई पटक–पटक सम्पर्क गर्ने, प्रतिशतमा बार्गेनिङ गर्ने तथा विभिन्न ‘कोड भाषा’ प्रयोग गर्ने प्रवृत्तिसमेत अनुसन्धानको क्रममा देखिएको स्रोतको दाबी छ ।

गत ११ साउनमा झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार शाह सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा १० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परे ।

धनुषाको विदेह नगरपालिका–५ का पूर्व वडाध्यक्ष विजयकुमार यादवविरुद्ध एम्बुलेन्स सञ्चालनबाट उठेको सेवा शुल्क हिनामिना गरेको अभियोगमा १२ साउनमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

यही अवधिमा कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी र एमआईएस अपरेटर सुरेश कहारविरुद्ध पनि काम नै नगरी पाँच लाख रुपैयाँ भुक्तानी गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मंगलबार दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित सात जना र एक कम्पनीविरुद्ध ढुंगा, गिट्टी निकासी कर हिनामिनाको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । सोही दिन नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङ सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका थिए । आयोगका अनुसन्धान अधिकारीहरूका अनुसार पछिल्ला कारबाहीले पुराना फाइलभन्दा नयाँ प्रकृतिका भ्रष्टाचारका घटनामा वृद्धि देखिएको छ ।

विशेषगरी स्थानीय तहमा ‘अडिट खर्च’ वा ‘कमिसन’का नाममा रकम असुल्ने प्रवृत्ति व्यापक बनेको उनीहरूको भनाइ छ । कतिपय सेवाग्राहीले उजुरी गरेपछि मात्रै यस्ता घटना बाहिर आएको र धेरैले झन्झटको डरले रकम बुझाउने गरेको अनुसन्धानमा देखिएको स्रोतले जनाएको छ ।

यता सरकारले केही दिनअघि मात्रै भ्रष्टाचार नियन्त्रणसम्बन्धी दोस्रो राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गर्दै अनलाइन अनुगमन, सिसिटिभी, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सूचना प्रणालीमार्फत निगरानी सुदृढ बनाउने योजना अघि सारेको छ । तर स्थानीय तहमा देखिएका पछिल्ला घटनाले सुशासनका सरकारी प्रतिबद्धता र व्यवहारबीच अझै ठूलो अन्तर रहेको देखाएको सुशासनका क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक भएको दाबी, परिणाममुखी कार्यसम्पादनमा जोड