काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्ष २०८२/८३ मा ११ हजार १०१ जना कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाएको छ ।
केन्द्रले देशभरका १ हजार ५७७ सरकारी कार्यालयहरूको छड्के तथा अनुगमन गरेको थियो । सो क्रममा समय पालना नगर्ने ९ हजार ६९७ र तोकिएको पोसाक नलगाउने १ हजार ४०४ गरी जम्मा ११ हजार १०१ जना कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाएको हो ।
केन्द्रले आफूले सम्पादन गरेका कार्यहरू समेटिएको वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेस गरेको छ ।
भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यका साथ स्थापित केन्द्रले २५औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रतिवेदन निकालेको हो ।
सो आर्थिक वर्षमा केन्द्रमा प्राप्त २ हजार ५६६ उजुरीमध्ये १ हजार ८५४ (७२ प्रतिशत) उजुरी फछ्र्योट भएको प्रतिवेदनमा उल्लेख छ । यसमा अघिल्लो आर्थिक वर्ष (२०८१/८२) बाट जिम्मेवारी सरेर आएका ४२९ उजुरीसमेत समावेश थिए । भ्रष्टाचार र अनियमिततासम्बन्धी प्राप्त सूचनाको छानबिन र उजुरी फछ्र्योटलाई केन्द्रले मुख्य प्राथमिकतामा राख्दै आएको छ ।
यस्तै, केन्द्रले दैनिक रूपमा आचारसंहिता पालना, फाइल ट्रयाकिङ, सरकारी सवारी साधनको प्रयोगमा नियमन र बिचौलिया नियन्त्रण जस्ता विषयमा पनि निगरानी गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्थाको पालनामा पनि केन्द्रले सक्रियता देखाएको छ । यसै क्रममा केन्द्रले आर्थिक वर्ष २०८१÷८२ मा ७ लाख ६७ हजार ३३ जनाले सम्पत्ति विवरण पेस गरेकामा ५ हजार २६५ जनाले भने विवरण पेस नगरेको पाइएको जनाएको छ ।
केन्द्रले राष्ट्रिय गौरव तथा ठूला आयोजनाहरूको प्राविधिक परीक्षण गर्नुका साथै विभिन्न सहरमा प्राविधिक जनशक्तिका लागि सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरेको छ । केन्द्रले नियमित अनुगमन गरिएका १८४ र प्राविधिक विश्लेषण गरिएका ६ आयोजनाहरूको कार्यान्वयनमा देखिएका कमीकमजोरी र जोखिम पहिचानले समयमै सुधार पुग्न सहयोग पुग्नुका साथै प्राविधिक परीक्षणका क्रममा कैफियत देखिएका आयोजनाहरूलाई सुधारका लागि ‘नन–कन्फरमेन्स रिपोर्ट’ सहित लेखी पठाएको छ ।
यस्तै, नयाँ प्रविधिको प्रयोग र सचेतना केन्द्रले सेवा प्रवाहमा सुधार ल्याउन ‘सार्वजनिक सेवा सन्तुष्टि मापन फारम’को क्यूआर कोड पनि सञ्चालनमा ल्याएको छ । साथै, भ्रष्टाचारविरुद्ध जनचेतना जगाउन जिल्ला र स्थानीय तहसम्म सदाचार शिक्षा र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ ।
केन्द्रले सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि सम्पूर्ण सरोकारवाला निकाय र नागरिक समाजसँग सहयोगको अपेक्षा गर्दै आफ्नो कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध
जेनजी आन्दोलनमा भरतपुर कारागारबाट भागेका कैदी भरुवा बन्दुकसहित पक्राउ
काठमाडौंमा लुटपाट आतंक मच्चाउने ‘कर्मा समूह’ यसरी पर्याे पक्राउ
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
जुवाको खालबाट ५७ जना जुवाडे पक्राउ
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना






