महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर । पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएको पाइएको छ ।

गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक बङ्गुरपालनमा जुटेका हुन् ।

पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राई गाउँपालिकाको सहयोगमा खोर निर्माणसँगै उन्नत जातका बङ्गुरका पाठापाठी पाएपछि व्यावसायिक रूपमा बङ्गुरपालन थालेको बताउँछिन् । हाल उनले उन्नत जातका १० वटा बङ्गुरका पाठापाठीबाट व्यवसाय सुरु गरेकी छिन् ।

अनुदान पाएपछि स्थानीय किसानमा पशुपालनतर्फको आकर्षणसमेत बढेको छ । पशुपालन सुरु गर्न आवश्यक प्रारम्भिक लगानी प्राप्त हुँदा व्यवसाय सञ्चालन गर्न सहज भएको सोही पालिकाका जयमारानी राईले बताउछिन् । अनुदानले किसानलाई आफ्नै लगानीमा मात्र निर्भर हुनुपर्ने अवस्था कम गर्नुका साथै व्यावसायिक पशुपालनतर्फ अघि बढ्न प्रेरित गरेको उनको भनाइ छ ।

पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत वडा नं. ४, ५ र ६ का किसानलाई बङ्गुरपालनका लागि अनुदान दिइएको बताए । “महिलालाई उद्यमशील बनाउँदै आयआर्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ,” उनले भने ।

गाउँपालिकाले गत आर्थिक वर्षमा रु। ३० लाख बजेट विनियोजन गरी किसानको ५० प्रतिशत लागत साझेदारीमा रु। ६० लाख बराबरका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रममार्फत २० वटा बङ्गुर र एउटा बाख्रा फर्मलाई अनुदान दिइएको थियो ।

गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय आवश्यकता र किसानको मागका आधारमा पशुपालन तथा कृषिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई भन्छिन् “महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन पशुपालन तथा कृषिमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ । कृषिमा आधारित आयआर्जन वृद्धि गर्दै स्थानीय महिलालाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।”-रासस

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

आज पनि तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ कारोबार ?