काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशको आगामी सरकारको नेतृत्वका लागि प्रदेशसभा सदस्य किरण थापालाई चयन गरेको छ। एमाले संसदीय दलको हालै सम्पन्न बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने निर्णय गरेको हो।
थापा भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डुमा बसोबास गरिरहेका घर तिनै थापाको हो । अध्यक्ष ओलीले घरबेटीलाई मुख्यमन्त्री बनाउन चाहेको यसअघि नै सार्वजनिक भएको थियो । उनी राप्रपाबाट एमाले प्रवेश गरेको धेरै समय भएको छैन ।
एमाले संसदीय बैठकले संसदीय दलको नेताको जिम्मेवारी भने जगन्नाथ थपलियालाई नै कायम राख्ने निर्णय गरेको छ। मुख्यमन्त्रीको उम्मेदवार चयनका विषयमा पार्टीभित्र लामो समयदेखि देखिएको मतभेदबीच संसदीय दलले निर्णयमा पुग्दै नेतृत्वको विषय टुंग्याएको हो।
एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच बनेको नयाँ राजनीतिक समीकरणमा प्रदेश सरकारको बाँडफाँट गर्दा बागमतीको नेतृत्व एमालेको भागमा परेको थियो।
त्यसपछि मुख्यमन्त्रीका लागि पार्टीभित्रै विभिन्न नेताबीच प्रतिस्पर्धा बढेको थियो। थापालाई अघि सार्ने निर्णय हुनुअघि थपलिया र थापाबीच नेतृत्वका विषयमा विशेष प्रतिस्पर्धा देखिएको थियो। विवाद समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बन्धित नेताहरूसँग निरन्तर छलफल गरेका थिए।
बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन्। सरकार गठनका लागि कम्तीमा ५३ सदस्यको समर्थन आवश्यक पर्छ। हाल नेपाली काँग्रेस ३६ सदस्यसहित प्रदेशसभाको सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। नेकपाका २६ र एमालेका २५ सदस्य छन्। एमालेका २५ मध्ये अप्सरा चापागाईँ उपसभामुखको भूमिकामा रहेकी छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ तथा हाम्रो नेपाली पार्टीका २ सदस्य प्रदेशसभामा छन्। राप्रपाले सरकार गठनको प्रक्रियामा तटस्थ रहने निर्णय गरिसकेको छ।
एमाले र नेकपाका सदस्य जोड्दा ५१ सदस्य पुग्ने भए पनि बहुमतका लागि आवश्यक ५३ संख्या पूरा हुँदैन। त्यसमा एमालेकी उपसभामुख चापागाईँको भूमिकासमेतलाई ध्यानमा राख्दा नयाँ सरकार गठनका लागि थप सदस्यको समर्थन जुटाउनुपर्ने अवस्था छ। त्यसैले एमाले नेतृत्वको सरकार गठनमा साना दल वा अन्य सदस्यको समर्थन निर्णायक बन्ने देखिएको छ।
सम्बन्धित समाचार
सरकारका प्रवक्ताले आज पत्रकारहरूसँग राजनीतिक विषयमा अन्तरक्रिया गर्ने
कांग्रेस सभापति गगन र निर्वाचन आयोगलाई शशांकको पत्रः ‘पार्टीका गतिविधि रोक्नू, नयाँ निर्णय नगर्नू’
चमत्कारको सन्देशसहित चुनदेवीमा चहलपहल
सुदूरपश्चिम प्रदेशमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री नियुक्त
भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जासहित सम्मान प्रदान
जसपा र लोसपाको एकीकृत संरचनामा नयाँ केन्द्रीय समिति
प्रतिनिधिसभामा भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने
दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता






