२६ बर्ष निदाएर ब्युझिदै हेटौंडा कपडा उद्योग

मकवानपुर । बिस २०५७ सालदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुन सन्चालनमा ल्याउने तयारी स्वरुप परीक्षण थालिएको छ।

२० वटा लुम चल्यो, बाँकी मर्मत हुँदै

२६ बर्षदेखी माकुराको जालो र धुलोले ढाकिएर थन्केका औजार अहिले चम्किने, टल्किने मात्रै हैन चल्ने र उत्पादन दिने भएका छन् । मेसिन नेपाल सरकारको पहलमा नेपाली सेनाले मर्मत गरी सञ्चालन गरेपछि २० वटा लुम (कपडा बुन्ने तान) बाट परीक्षण उत्पादन सुरु गरिएको हो। कुल ४८८ मेसिनमध्ये अन्य मर्मतको क्रममा छन् ।

सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढाइएको हो। उद्योगमा सरसफाइ, विद्युत् प्रणाली तथा मेसिन मर्मतको काम नेपाली सेनाले गरेको हो। परीक्षणका लागि सरकारले ३३ लाख रुपैयाँ बजेटसमेत उपलब्ध गराएको छ।
हाल बाहिरबाट धागो ल्याएर पुराना लुममार्फत कपडा बुन्ने परीक्षण भइरहेको छ।

परीक्षणबाट प्राप्त नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी तय गरिनेछ। त्यसपछि आवश्यक नयाँ मेसिन तथा प्रविधि थप गरी उत्पादन विस्तार गर्ने सरकारको तयारी छ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढिरहेका बेला संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अबको केही महिनाभित्र उद्योगका सबै लुम सञ्चालनमा ल्याएर कपडा उत्पादन थालिने बताइन ।

शनिबार उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले लामो समयदेखि बन्द रहेको उद्योग सञ्चालनका लागि सरकारले अघि बढाएको काम देखिन थालेको बताउनु भयो। ‘सरकारले स्टन्टबाजी गरिरहेको भनेर चर्चा छ’ मन्त्री यादवले भन्नुभयो ‘अवस्था त्यस्तो होइन, मेसिन मर्मत गरेर परीक्षण उत्पादन सुरु भइसकेको छ। अबको केही महिनाभित्र सबै लुम सञ्चालनमा ल्याएर कपडा उत्पादन गर्छौँ।’

‘सरकारी उद्योग सञ्चालनमा आउन थालेपछि केही निजी उद्योगीहरूले रोक्नका लागि विभिन्न तत्त्व प्रयोग गरिरहेका छन्,’ उहाँले बताउनुभयो । हेटौंडा कपडा उद्योगमा नेपाली सेनाको प्राविधिक टोलीले बिग्रिएर थन्किएका मेसिन मर्मत गरेपछि पुनः सञ्चालनको प्रक्रिया अघि बढेको हो।

उद्योगमा अहिले २० वटा लुम सञ्चालनमा ल्याएर कपडा उत्पादनको परीक्षण भइरहेको छ। सरकारले क्रमशः सबै लुम सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। ‘उद्योगमा रहेका कुल ४८८ वटै मेसिनहरू क्रमशः सञ्चालनमा ल्याइनेछ । नेपाली सेनाले यसको व्यवस्थापन र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ’ मन्त्री यादवले भन्नुभयो ‘विगतमा ९ करोड रुपैयाँ खर्च हुँदा पनि प्रशासनिक काममै सकियो । तर अहिले हामीले मात्र ३३ लाख रुपैयाँको लगानीमा २० वटा मेसिन तयार पारेका काम गरेर देखाएका छौँ र यसको मूल्याङ्कन जनताले गर्नेछन् ।’

उद्योगका लागि आवश्यक कच्चा पदार्थ (कपास) नेपालकै विभिन्न स्थानबाट सङ्कलन गरिने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने बताईएको छ। ‘सरकारले उद्योगको मर्मत, पुनःस्थापना र सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएपछि उद्योगले पुनर्जीवन पाएको प्रतिक्रिया आउन थालेको छ। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन्।

यसअघि उद्योग सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले तत्काल परीक्षण उत्पादन गर्ने र त्यसको परिणामका आधारमा दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने खाका सरकारलाई बुझाएको थियो । उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको कामसमेत सम्पन्न भएको जनाइएको थियो । यसअघि सरकारले हेटौंडा कपडा उद्योगलाई चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याउने तयारी गरेको बताएको थियो ।

चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो ।

उद्योग पुनः सञ्चालनको प्रयास भने नयाँ होइन । यसअघि पनि विभिन्न सरकारले पटक–पटक उद्योग सञ्चालन गर्ने घोषणा र अध्ययन गरेका थिए । २०७३ सालमा उद्योग पुनः सञ्चालन’bout विस्तृत अध्ययन गर्न समिति गठन गरिएको थियो भने २०७५ सालमा सरकारले उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको अध्ययन प्रतिवेदनसमेत तयार गरेको थियो। त्यतिबेला उद्योग सञ्चालनका लागि करिब ३० करोड रुपैयाँ खर्च आवश्यक पर्ने र विभिन्न मोडालिटीबाट सञ्चालन गर्न सकिने सुझाव दिइएको थियो ।

त्यसैगरी, २०७५ सालमै नेपाली सेनालाई समेत संलग्न गराएर उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको थियो । पछिल्लो पटक २०८१/८२ को बजेटमा पनि हेटौंडा कपडा उद्योगलाई सार्वजनिक-निजी साझेदारीमा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो ।

यस अघि गत साउन २३ गते शनिबार उद्योगमा पुराना मेसिन मर्मत गरी सफल परीक्षण उत्पादन सुरु गरिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले सामाजिक संजालमा लेखेका थिए ।

लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको परियारले आफ्नो सामाजिक सञ्जालमा तान चलेको भिडियो सामग्री राख्दै उल्लेख गरेका छन् ।

उद्योग पुनःसंचालनको लागि गरिएका सरकारी प्रयास
२०६२/०६३ को जनआन्दोलनपछि बनेका विभिन्न सरकारले हेटौडा कपडा उद्योग पुनः सञ्चालनका लागि पटक-पटक पहल गरेका थिए । धेरैजसो घोषणा, अध्ययन, समिति गठन र केही बजेट उद्योगका पुराना मसिनहरु मर्मत र परिक्षणमै सीमित रहे तर सञ्चालन भने हुन सकेन।

आर्थिक वर्ष २०६५/६६ मा माओवादी नेतृत्वको सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराई बजेट वक्तव्यमै उद्योग पुनः सञ्चालन गर्ने घोषणा गरेका थिए ।सेना, प्रहरी र निजामती कर्मचारीका पोसाकका लागि स्वदेशी कपडा उत्पादन गर्ने योजना सहित उनले गरेकाे बजेट भाषणमा करिब ९ करोड रुपैयाँ बजेट विनियोजन भएकाे थियाे ।

त्यसपछिकाे २०६६ साल कार्तिकमा सरकार परिवर्तन भएपछि माधवकुमार नेपाल नेतृत्वको सरकारले कपडा उद्योग खारेज गर्ने निर्णय गरकेा थियो । माओवादीकाे सरकार हुँदा बिनयोजन भएकाे बजेट खर्च भए पनि नेपाल नेतृत्वकाे सरकारमा निरन्तरता पाउन सकेन ।

त्यसपछि बनेकाे उद्योग मन्त्रीहरू अष्टलक्ष्मी शाक्य, महेन्द्रप्रसाद यादव, अनिलकुमार झा, महेश बस्नेत, नविन्द्रराज जोशी लगायतका उद्योगकाे अनुगमन र र पुनः संचालनकाे घोषणा गरेका थिए । २०७३ सालमा विस्तृत अध्ययनका लागि समिति गठन समेत गरियो । २०७५ सालमा सरकारी अध्ययनले करिब ३० करोड लगानीमा विभिन्न मोडालिटीबाट सञ्चालन सम्भव भएको निष्कर्ष निकालेकाे थियाे । नेपाली सेनाले सामान्य मर्मतबाट उद्योग चलाउन सकिने प्रस्ताव समेत गरेकाे थियो ।

आर्थिक वर्ष २०७९/८० मा अर्थमन्त्री जनार्दन शर्मा बजेटमा रुग्ण उद्योग सञ्चालन नीतिकाे घोषणा गरे । २०८०/०८१ मा पुष्पकमल प्रचण्डकाे सरकारले नीति तथा कार्यक्रममा कपडा उद्योग पुन संचालनलाई समावेश गरी सेनासँग छलफल समेत गरेका थिए ।

सेनाको अध्ययन प्रतिवेदनले उद्योग पूर्ण सञ्चालनका लागि प्रारम्भिक १ अर्ब ९३ करोड लागत, वार्षिक सञ्चालन खर्च करिब ७८ करोड र ९ वर्षपछि लागत प्रतिस्थापन गरी नाफामा जाने अनुमान सहित सेनाको कल्याणकारी कोषबाट लगानी गर्न सकिने प्रस्ताव सरकारलाई गरेकाे थियाे ।

आ.व. २०८१/८२ बजेटमा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा उद्योग सञ्चालन घोषणा गरियो । घोषणाहरू प्रायः कार्यान्वयनमा आएनन्। उद्योगको सम्पत्ति औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (आइडीएम) मा हस्तान्तरण भएकाे थियो। २०८२/८३ सालमा सरकारले पुनः सक्रियता देखाउँदै पुनः संचालनकाे लागि परीक्षण संचालन गरेकाे छ ।

उद्योग पुनः संचालनकाे लागि बजेट विनियोजनसहित प्रारम्भिक काम २०६५ सालमा माओवादी सरकार ले गरेको हाे । तर राजनीतिक अस्थिरताले रोकेको यसले पूर्णता पाएन ।

यसैगरी सरकारले हेटौंडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास उत्पादन बढाउन जोड दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वानै गरेको छ ।

नेपालमा कपडा उद्योगका लागि आवश्यक कच्चापदार्थ कपास ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था अन्त्य गर्दै स्वदेशमै कपास उत्पादन र कपडा उद्योगको कच्चापदार्थ आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले व्यवसायीलाई कपास खेतीतर्फ आकर्षित हुन आग्रह गरेको हो ।

उद्योग पुनः सञ्चालनको महत्वपूर्ण सुरुवात भए पनि उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी र दिगो बनाउने चुनौती सरकार सामू बाँकी नै छ । उद्योगका पुराना मेसिन तथा प्रविधि, उत्पादन लागत र निजी क्षेत्रसँगको प्रतिस्पर्धा महत्वपूर्ण हुन्छ । पुरानो प्रविधिबाट उत्पादन गर्दा आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने र नयाँ प्रविधिमा ठूलो लगानी आवश्यक पर्ने विज्ञ तथा उद्योगसम्बद्ध अधिकारीहरूको धारणा छ ।

हेटौंडा कपडा उद्योगलाई दिगो बनाउन कपास र धागोको आपूर्तिलगायत कच्चा पदार्थको सुनिश्चिततासमेत महत्वपूर्ण हुने विषय विगतदेखि उठ्दै आएको छ । लामो समयदेखि बन्द रहेकाे उद्योगका तान फेरि चल्नुले पूर्ण व्यावसायिक सञ्चालन हुनेमा आशावादी हुन सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

सतर्कता केन्द्रले भन्यो : कर्मचारीले समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्नु