पानालाल–कुश्मीको पूरा भयो आफ्नै घरको सपना

सुन्दरहरैँचा (मोरङ) । जीवनभर अभाव र संघर्षसँग जुध्दै आएका सुन्दरहरैँचा नगरपालिका–६ का पानालाल ऋषिदेव (पनुवा) र उनकी श्रीमती कुश्मी ऋषिदेवका लागि आइतबारको दिन जीवनकै अविस्मरणीय दिन बन्यो। वर्षौँदेखि सुरक्षित बासको अभाव झेल्दै आएका ऋषिदेव दम्पतीले अन्ततः आफ्नै घरको छानो पाएका छन्।

आर्थिक रूपमा विपन्न अवस्थामा जीवन बिताउँदै आएका पानालालको परिवारका लागि ‘आफ्नै घर’ एउटा सपना जस्तै थियो। कमजोर आर्थिक अवस्थाका कारण चाहना हुँदाहुँदै पनि घर निर्माण गर्न नसकेका उनीहरूको त्यो सपना सामाजिक अभियन्ता कृष्णकुमार घिमिरेको अगुवाइमा पूरा भएको हो।

घिमिरेको नेतृत्वमा सुरु भएको घर निर्माण अभियानमा स्थानीय समाजसेवी राजु जिमी राई र धनबहादुर याम्फु राई लगायतले हातेमालो गरे। विभिन्न सहयोगी दाता तथा स्थानीयवासीको आर्थिक, भौतिक र मानवीय सहयोग जुटेपछि ऋषिदेव परिवारका लागि नयाँ घर निर्माण सम्पन्न गरिएको हो।

नयाँ घर निर्माण सम्पन्न भएपछि आयोजित कार्यक्रममा घर ऋषिदेव परिवारलाई हस्तान्तरण गरिएको थियो। राजु जिमी राईको अध्यक्षता तथा ज्येष्ठ नागरिक समाज सुन्दरहरैँचाका अध्यक्ष रामकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति थियो।

घरको चाबी हातमा पर्दा पानालाल र उनकी श्रीमती कुश्मीका आँखामा खुसीका आँसु देखिन्थे। अभावका दिन सम्झिँदै उनीहरू केहीबेर भावुक बने। जीवनका कठिन दिनमा कहिले सुरक्षित छानोको आशा गरेका उनीहरूका लागि अब वर्षा, हावाहुरी र चिसोको चिन्ता केही कम भएको छ।

“आफ्नो घर हुन्छ भन्ने आशा त थियो, तर यसरी अरूको सहयोगमा यति राम्रो घर पाउँछौँ भन्ने सोचेका थिएनौँ,” घर पाएपछि पानालाल र कुश्मीले सहयोगी सबैप्रति भावुक हुँदै आभार व्यक्त गरे। उनीहरूले आफूहरूको दुःख बुझेर घर निर्माणमा सहयोग गर्ने प्रत्येक व्यक्तिको ऋण कहिल्यै बिर्सन नसक्ने बताए।

कार्यक्रममा सामाजिक व्यक्तित्व महेन्द्र कार्कीले विपन्न परिवारको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने काम नै वास्तविक सामाजिक सेवा भएको बताए। उनले कमजोर आर्थिक अवस्था भएका परिवारका लागि गरिने सहयोगले उनीहरूको जीवनमा नयाँ आशा र आत्मविश्वास थप्ने धारणा राखे।

घर निर्माण अभियानका अगुवा सामाजिक अभियन्ता कृष्णकुमार घिमिरेले यो घर आफ्नो एक्लो प्रयासले नभई सबैको सामूहिक सहयोगबाट निर्माण सम्भव भएको बताए। उनले समाजमा धेरै पानालाल र कुश्मीजस्ता परिवार अझै पनि अभावमा बाँचिरहेको उल्लेख गर्दै उनीहरूको पीडामा मलम लगाउन समाजका सबै पक्ष एकजुट हुनुपर्ने बताए।

“यो एउटा घर मात्र होइन, एउटा परिवारको वर्षौँदेखिको सपना हो,” घिमिरेले भने, “हामीले एउटा परिवारलाई सुरक्षित छानो दिन सकेका छौँ भने त्यो नै हाम्रो अभियानको सबैभन्दा ठूलो सफलता हो।”

त्यस्तै, ज्येष्ठ नागरिक समाज सुन्दरहरैँचाका अध्यक्ष रामकुमार कार्कीले ऋषिदेव परिवारका लागि निर्माण गरिएको घर मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताए। उनले समाजमा सहयोग गर्ने भावना अझ विस्तार गर्न सके विपन्न तथा असहाय परिवारको जीवनमा ठूलो परिवर्तन ल्याउन सकिने बताए।

राजु जिमी राई तथा धनबहादुर याम्फु राईसहित विभिन्न सहयोगी दाताको सहकार्यले सम्पन्न भएको यो अभियानले मानवता अझै जीवित छ भन्ने बलियो सन्देश दिएको छ। कसैका लागि एउटा सामान्य घर हुन सक्छ, तर पानालाल र कुश्मीका लागि यही घर सुरक्षित जीवनको सुरुवात हो।

वर्षौँसम्म अभावको पीडा बोकेर बसेका ऋषिदेव दम्पतीका लागि अब त्यो पीडाभन्दा ठूलो आशा बनेको छ—आफ्नै घर, आफ्नै आँगन र सुरक्षित भविष्य।

पानालालको परिवारले पाएको यो नयाँ घर केवल इँटा, ढुंगा र सिमेन्टले बनेको संरचना होइन; यो सामूहिक मानवता, सहयोग र सामाजिक उत्तरदायित्वले निर्माण गरेको एउटा सुन्दर आशाको घर बनेको छ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो