सुन्दरहरैंचा (मोरङ) । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ को अधिवेशनका क्रममा जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राईबीच विवाद भएको छ। मंगलबार अधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित प्रतिनिधिको भेलामा दुई नेताबीच भनाभन र धकेलाधकेल भएपछि घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।
के हो विवाद ?
नेपाली कांग्रेस मोरङ–१ को क्षेत्रीय सभापतिका लागि सुरुमा पाँच जना आकांक्षी थिए। तीन जना पछि हटेपछि अर्जुनकुमार तुम्रुक र देवराज चाम्लिङ राईबीच प्रतिस्पर्धा हुने अवस्था बनेको थियो।
जिल्ला सभापति डिगबहादुर लिम्बूले आफ्नो क्षेत्र भएकाले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्दै आएका थिए। सोही क्रममा सोमबार साँझ तुम्रुकलाई क्षेत्रीय सभापति बनाउने सहमति भएको थियो। उक्त सहमतिपत्रमा चाम्लिङले समेत हस्ताक्षर गरेको बताइएको छ।
तर, सहमति भएको केही समयपछि नै चाम्लिङले आफूले क्षेत्रीय सभापतिको दाबी नछाडेको भन्दै सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएपछि विवाद थप चर्किएको थियो। बन्द कोठामा भएको सहमति आफूले स्वीकार नगरेको आशयका अभिव्यक्तिपछि नेतृत्वमाथि प्रश्न उठेपछि मंगलबार सहमतिको विषय स्पष्ट पार्न प्रतिनिधिहरूको भेला बोलाइएको थियो।
कार्यक्रममा लेटाङ नगरपालिकाका पूर्वमेयर शंकर राईले कार्यक्रम सञ्चालन गरिरहेका थिए। सोही क्रममा चाम्लिङ बोल्नका लागि मञ्चमा पुगे। ‘बोल्न पाउँछु नि है’ भन्दै उनले बोल्न सुरु गरेपछि मञ्चमा रहेका जिल्ला सभापति लिम्बूले उनलाई रोक्न खोज्दा धकेलाधकेल भएको हो।
त्यसपछि लिम्बू र चाम्लिङबीच केहीबेर भनाभन भएको थियो। मञ्च तथा दर्शकदीर्घामा रहेका नेता–कार्यकर्ताले दुवैलाई छुट्याएपछि स्थिति नियन्त्रणमा आएको थियो। विवादका कारण केही समय कार्यक्रमसमेत रोकिएको थियो।
जिल्ला सभापति लिम्बूले भने चाम्लिङले समय र अनुमति नलिई मञ्चमा गएर बोल्न खोजेपछि सामान्य विवाद भएको बताएका छन्। उनले मञ्च कब्जा गर्ने तथा अनर्गल प्रचारबाजी गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन आफूले हस्तक्षेप गरेको दाबी गरे।
लिम्बूका अनुसार पालिका सभापति तथा क्षेत्रीय नेताहरूबीच पटक–पटक भएको छलफलपछि अर्जुनकुमार तुम्रुकलाई सर्वसम्मत रूपमा क्षेत्रीय सभापति चयन गर्ने सहमति भएको थियो। उनका अनुसार चाम्लिङ र तुम्रुकबीचको विवाद समाधान गरी सहमतिपत्रमा हस्ताक्षरसमेत भइसकेको थियो भने सोमबार नै तुम्रुकलाई बधाईसमेत दिइएको थियो।
तर, सहमति भइसकेपछि पनि ‘कोठामा बन्धक बनाएर निर्णय गराइयो’ भन्दै सामाजिक सञ्जालमा भ्रामक तथा अनर्गल प्रचार गरिएको लिम्बूको आरोप छ।
लिम्बूले भने, “निर्वाचन समितिको अनुमतिमा सहमति’bout उठेका भ्रमहरू स्पष्ट पार्न प्रतिनिधिहरूलाई जानकारी गराउने उद्देश्यले मञ्च तयार गरिएको थियो। तर समय र अनुमति नलिई जबरजस्ती मञ्च कब्जा गरेर अनुशासनहीन काम गर्न खोजिएपछि त्यसलाई रोकिएको हो।” घटनापछि मोरङ–१ कांग्रेसको अधिवेशनमा भएको सहमति, नेतृत्व चयन प्रक्रिया तथा दुई नेताबीचको विवाद थप चर्चामा आएको छ।
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान
संविधान संशोधनको साहस र स्पष्टता महाधिवेशनबाट ल्याउँछौंः गगन थापा
रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : राष्ट्रसंघको महासभामा भोटेकोशी विपद सम्बन्धमा सम्बोधनको तयारी गर्नु
अन्तरसंंघर्ष व्यवस्थापनमा एमाले, एकताको ढोका खोल्दै नेकपा
इलाम कांग्रेसमा ३ जना २१ वर्षमुनिका क्षेत्रीय प्रतिनिधि
कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरू उम्मेदवार बन्दै
चोलेन्द्रशमशेरलाई भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाइयो
मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै




