गण्डकीमा ठूलो मानवीय क्षति, मुख्यमन्त्रीद्वारा निरीक्षण

पोखरा । अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट गण्डकी प्रदेशमा मात्रै पछिल्लो समय २० जनाभन्दा बढी मानिसको ज्यान गयो । मनाङमा हिमाल आरोहणमा गएका अझै १२ जना बेपत्ता छन् । देशका अन्य प्रदेशको तुलनामा सबैभन्दा ठूलो मानवीय क्षति गण्डकीमा भएको हो । बाढीपहिरोमा परी ३ जना घाइते भएका छन् ।

बाढीपहिरोले बागलुङ, म्याग्दी र मनाङ जिल्लामा सबैभन्दा बढी क्षति गरेको हो । बाढीपहिरोका कारण गण्डकीका ११ जिल्लामा गरी १ सय ७९ घरमा पूर्ण क्षति भएको छ भने २६ घरमा आंशिक क्षति छ । सडक, पुल, खानेपानी तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पु¥याएको छ । प्रदेशभर बाढीपहिरोका कारण ११ झोलुङ्गे पुल, ६ पक्की पुल र ४३ वटा सडकखण्ड अवरुद्ध भएको थियो । अवरुद्धमध्ये अधिकांश प्रादेशिक सडक पुनः सुचारु हुने क्रममा छन् ।

यसैबीच, गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशभित्र बाढीपहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका नागरिकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृत्यु भएका नागरिकका परिवारलाई काजकिरिया खर्चबापत थप २५ हजार रुपैयाँ पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

घाइते नागरिकलाई उपचार खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गण्डकी सरकारले गत महिना रसुवा भोटेकोशी बाढी प्रभावितलाई पनि उक्त सहयोग उपलब्ध गराएको थियो । साथै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको थियो ।

गण्डकी सरकारले विपद्मा परेका नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकता दिने पनि जनाएको छ । मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचना तथा पूर्वाधारको पुनर्निर्माणका सम्भव काम तत्काल सुरु गर्न र भएको क्षतिको पूर्ण विवरण ३ दिनभित्र संकलन गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ, म्याग्दी, पर्वत जिल्लाका प्रभावित क्षेत्रको मंगलबार स्थलगत निरीक्षण गरे । उनले बाढीपहिरोबाट भएको जनधनको क्षति, सडक तथा पुल लगायत भौतिक पूर्वाधारमा परेको असर र प्रभावित नागरिकको अवस्था’bout स्थानीय नागरिक र जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिए ।

बागलुङ र म्याग्दीमा मुख्यमन्त्रीको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक भएको थियो । बाढीबाट भएको क्षति, हालको अवस्था तथा तत्काल गर्नुपर्ने कामका ’boutमा छलफल भएको छ । मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट विस्थापित हाल बसिरहेको स्थान, खाद्यान्न, स्वास्थ्य लगायतको अवस्थाका ’boutमा पनि विस्थापितहरूसँग जानकारी लिएका थिए । नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन फिल्डमै पुगेर समन्वय गरिएको उनले बताए ।

मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला सडक तथा बेँसीसहर–मनाङ सडक सञ्चालनमा ल्याउन संघीय सरकारसँग समन्वय गरिएको प्रदेश सरकारले जनाएको छ । चाडपर्वका बेला बाढीपहिरोले सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती हुने भएकाले वैकल्पिक व्यवस्था सम्भव भएको ठाउँमा तत्काल सडक सुचारु गराउन प्रदेशमातहतका जिल्लास्थित पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिइएको मुख्यमन्त्री पाण्डेले बताए ।

विपद्का कारण क्षतिग्रस्त सडक तथा भौतिक पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने, विस्थापित नागरिकको पुनःस्थापना गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले संघीय सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षसँग समन्वय र सहकार्य गरिरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्रीको व्यवस्थापनका लागि बागलुङ, मनाङ, म्याग्दी र पर्वतमा आवश्यकताअनुसार त्रिपाल, टेन्ट तथा स्वास्थ्य सामग्री पठाइएको छ । त्यस्तै, प्रदेशका ११ वटै जिल्लाका विपद् व्यवस्थापन समितिको कोषमा न्यूनतम् १० लाख रुपैयाँ नघट्ने गरी बजेट व्यवस्था गरिएको छ भने प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ मौज्दात रहेको प्रदेश सरकारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डकीमा ठूलो मानवीय क्षति, मुख्यमन्त्रीद्वारा निरीक्षण