सुन्दरहरैंचा (मोरङ) । इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेलाको बुधबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले युवाले हासिल गरेको सीपलाई रोजगारीमा रूपान्तरण गर्न ढिलाइ गर्न नहुने बताए। रोजगारीको विस्तारबाट मात्रै मुलुकको अर्थतन्त्रको आधार बलियो बन्ने उल्लेख गर्दै उनले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई सीपयुक्त, उत्पादनशील तथा रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
आन्तरिक श्रम बजारको माग र उपलब्ध जनशक्तिको सीपबीच पर्याप्त तालमेल हुन नसक्दा युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको उनको भनाइ थियो। त्यसैले बजारको मागअनुसार सीप विकास, रोजगारसँगको प्रत्यक्ष समन्वय र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने उनले बताए।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा भएको कार्यक्रममा मेलाको औपचारिक शुभारम्भ गरिएको हो। युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी सार्क संवाद’ विषयमा विशेष प्यानल छलफलसमेत सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको मन्त्री यादवले बताए। युवालाई सीप, रोजगारी र उद्यमशीलताको अवसरसँग जोड्ने गरी मेला सञ्चालन गरिएको उनको भनाइ छ।
आयोजकका अनुसार असोज १५ देखि १९ गतेसम्म विभिन्न १० विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन गरिनेछ। मेला अवधिभर विभिन्न प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलसमेत निरन्तर सञ्चालन हुनेछन्।
मेलाले स्थानीय तथा अन्य क्षेत्रका युवालाई आफ्नो सीप प्रदर्शन गर्ने, रोजगारीका अवसर’bout जानकारी लिने तथा रोजगारदाता र तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।
सम्बन्धित समाचार
सहकारी समस्या समाधानमा सरकारको अलमल
सुनको भाउ फेरि ३ लाख रुपैयाँ मुनि
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
राजपथ विस्तार पीडितसँग मेयर सिंहका केही सर्त र प्रतिबद्धता
शेयर कारोबार पुनः सञ्चालन
सेयर बजार राताम्मे
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
लिट्मस इन्डस्ट्रिजद्वारा पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना





