काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
क्यानका कोषाध्यक्ष पदम खड्काले आईतवार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट क्यानले उक्त परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिएका हुन् । उनकाअनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिव २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।
टिकटिङलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गतको एनपीएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने उनको भनाइ छ । फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको खड्काले बताए ।
यसअनुसार एनपीएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिव डेढ अर्ब रुपैयाँ पुग्ने उनको अनुमान छ । खड्काले एनपीएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको जानकारी दिए ।
उनकाअनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन् भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
पहिलो र दोस्रो संस्करणमा पनि व्यक्तिगत तथा टोलीगत पुरस्कारको व्यवस्था गरिएको उल्लेख गर्दै उनले यसपटक एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको बताए ।
क्यानको नेतृत्वले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल बनाउने र संस्थाको कार्यकाललाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ । एनपीएलको पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको उनले बताए ।
एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्याउने अपेक्षा क्यानले गरेको छ ।
सम्बन्धित समाचार
लिग-२ क्रिकेट: नेपालद्वारा क्यानडा पराजित
ओमानविरुद्ध नेपालको सानदार जीत
९ दिनमै क्यान बाेर्ड सदस्यबाट गुञ्जन शाहलाई हटाइयो
क्यानको पछिल्ला कामबाट आईसीसी प्रभावित छ: पारस खड्का
राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा
एनपीएलका सबै खेलमा डीआरएस लागू हुने
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित






