मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आइसोलेसन अस्पतालमा उपचाररत ४० जना कोरोना जितेर फर्किएका छन् ।
कोरोना जित्नेहरूलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धना तामाङ्लगायतले पुष्प गुच्छा दिएर स्वास्थ्यलाभको कामना गर्दै बिदाई गरे ।
बिदाई कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले प्रदेश १ मा अहिलेसम्म कोरोना नियिन्त्रत अवस्थामा रहेको बताए । उनले आउन सक्ने भयावह स्थितिका विषयमा समेत सरकार गम्भीर रहेको भन्दै उनले क्रमशः क्षमता बिस्तार गर्दै जाने बताए । उनले कोरोना संक्रमितलाई तीन तहमा वर्गीकरण गरेर सोही अनुशार उपचारको ब्यवस्था मिलाइने बताए ।
मन्त्री घिमिरेका अनुशार लक्षण अनुसार लेभल १, २ र ३ गरेर वर्गीकरण गरिनेछ । ती मध्ये कोरोना पुष्टि भएका तर लक्षण नदेखिएकाको गोठगाउँमा उपचार गर्ने ब्यवस्था मिलाइएको छ । बिराटनगरमा कोभिड अस्पताल निर्माण गरि उपचार शुरु गरिएपनि त्यसपछि धरान र गोठगाउँमा उपचार थालिएको भन्दै मन्त्री घिमिरेले चाँडै झापा, उदयपुर र सुनसरीमा पनि आइसोलेशन निर्माण हुने बताए ।
यस्तै मन्त्री घिमिरेले अब डब्लुएचओको मापदन्ड नपुगेका क्वारेन्टाइन स्थललाई मापदण्ड अनुसार बनाउने र नपुग्नेलाई बन्द गर्ने बताए । क्वारेन्टाइन स्थल नै संक्रमण फ़ैलिने स्थल हुन नदिन प्रदेश सरकार गम्भीर रहेको मन्त्री घिमिरेले बताए ।
बिहिबार कोरोना जितेर फर्किनेमा मोरङ्का ९, झापाका १३, सुनसरीका १४ र भोजपुरका ४ जना रहेक छन् । डिस्चार्ज हुनेमा १५ देखि ४६ वर्षका पुरुष हुन् । अब त्यस अस्पतालमा ७६ जना पुरुष उपचाररत छन् ।