सिन्धुपाल्चोक । कोेरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण सिन्धुपाल्चोकमा एक जना पुरुषको मृत्यु भएको छ । बिरामी भएर पाटन अस्पतालमा उपचारका लागि आएका पाँचपोखरी थाङपाल गाउँपालिकाका ४५ वर्षीया पुरुषको मृत्यु भएको हो ।
यो सँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि बाह्रविसे नगरपालिका राम्चेकी एक सुत्केरी महिलाको नेपालमा नै पहिलो पटक कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार उनी विगत तिन महिनादेखि बिरामी थिए । विरामी भएर केही दिन अघि मात्रै उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको थियो । बिरामी भएर अस्पतालमा ल्याएपछि उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटीभ देखिएको ढकालले जानकारी दिए ।
त्यसैगरी भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका पाँचपोखरी थाङपाल गाउँपालिकाका थप पाँच जनामा कोरोना पोजेटीभ देखिएको छ । सिन्धुपाल्चोकमा कोरोना संक्रमीतको संख्या ६१ पुगेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये पाँचपोखरी थाङपालगाउँपालिकामा सबैभन्दा बढी कोरोनाको विरामी छन् । पाँचपोखरीमा हालसम्म ३१ कोरोनाका बिरामी भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ३१ मध्ये १३ जना निको भएर घर फर्केका छन् ।






