रौतहट । घाटा भएको भन्दै रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स स्थायी रुपमै बन्द गरेको छ । २०४९ सालमा स्थापना भएको सो मिल संचालन गर्न नसकिने भन्दै ब्यबस्थापन पक्षले साउन ११ गतेबाट बिधिवत रुपमा बन्द गरेको जनाएको छ ।
गोल्छा समूहले सूचना जारी गर्दै महृमदपुर गरुडामा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायीरुपमा बन्द हुने जनाएको छ ।
विविध कारणले किसानको उँखुको रकमसमेत भुक्तानी गर्न नसकेको भन्दै मिलले वार्षिक करोडौं रुपैयाँ नोक्सानी बेहोर्नु परेको सूचनामा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष ०७५/७६ सम्ममा कुल घाटा २ अर्व १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ पुगेको श्रीराम सुगर मिल्सले जारी सुचनामा जनाएको छ ।
मिल स्थापना भएको केही वर्षसम्म मुनाफामा चलेको भए पनि पछिल्लो समयमा किसानलाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको थियो । आर्थिक बर्ष ०७६/०७७ मा मिलले १३ दिन मात्रै उखु क्रसिंङ्ग गरेको थियो । मिलले यस वर्ष कार्यरत कर्मचारीको चार महिना देखिको तलब तथा संचयकोषको रकमसमेत दिन सकेको समेत उक्त सुचनामा उल्लेख छ ।
यता नगदे बालीको रुपमा रहेको उखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक सँघले जनाएको छ । यसै गरी अवकाश प्राप्त कर्मचारीहरुको ७० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।
आइतबारदेखि उद्योग बन्द भएको जानकारी गराउँदै मिलले तिर्नु पर्ने कर्मचारीहरुको सबै किसिमको तलब भता क्रमशः भुक्तानी गर्दै जाने जनाएको छ ।
उखु किसानहरुको बाँकी रकम भुक्तानीका लागि मिलको चल अचल सम्पत्ति बिक्री गर्न नेपाल सरकारसँग आवश्यक अनुमतिको प्रक्रिया सुरु गरेको मिल्सको सुचनामा उल्लेख छ ।






