धनगढी । अछामको एक अस्पतालमा कार्यरत १९ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । जिल्लाको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकाश गौचनले बताए ।
बयालपाटा अस्पतालको विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको बयलपाटा अस्पतालले जनाएको छ । संक्रमितमध्ये पाँच जना अस्पतालको प्रयोगशालामा कार्यरत रहेका थिए । ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
यसैगरी शुक्रबार कैलालीका ३४ सहित सुदूरपश्चिममा थप ९२ जनामा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९२ जनामा कोरोना संक्रमण देखिएको हो । डडेल्धुरा अस्पतालमा पाँच सय २९ जनाको गरिएको परीक्षणमा ५६ जनामा संक्रमण देखिएको हो । अस्पतालका अनुसार डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका दुई र जोरायल गाउँपालिकाका एक जना रहेका छन् ।
त्यस्तै, अछामको साँफेवगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १०, मेल्लेख गाउँपालिकाका एक जनामा संक्रमण देखिएको छ भने डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई र बैतडीको सिगास गाउँपालिकाका दुई जनामा कोरोना देखिएको छ । उता, धनगढीस्थित सेती अस्पतालको प्रयोगशालामा चार सय २६ जनाको गरिएको परीक्षणमा ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण देखिएको बताए । श्रेष्ठका अनुसार संक्रमण देखिएकामा धनगढी उपमहानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका चार पुरुष रहेका छन् भने अछामको बान्नीगढी जयगढका एक महिला र एक पुरुष रहेका छन् । योसँगै सुदूरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या पाँच हजार ३०७ पुगेको छ । संक्रमितमध्ये चार हजार तीन सय निको भएर घर फर्किसकेका छन् भने १२ जनाको ज्यान गएको छ ।