हेटाैडा। वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समितिको वाग्मती प्रदेश कार्यालयको भवन र कर्मचारी संरचनाका लागि मन्त्रालयका तर्फबाट भौतिक र आर्थिक व्यवस्थापन सहयोग गर्न तयार रहेको बताएका छन् । हेटाैंडामा आयोजित राससको ५९ औंँ वार्षिकोत्सव समारोहमा उनले राससको छुट्टै गरिमा र महत्व रहेको बताउँदै यो बलियो र व्यवस्थित हुंँदा सबै सञ्चारमाध्यम व्यवस्थित हुने भएकाले यसको संरचनागत विकासमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री जम्कट्टेलले राससको प्रदेशस्तरीय संरचना निर्माणमा आफू लागिपरेको बताउँदै भने “सरकारी स्वामित्वमा रहेको देश र विदेशका सञ्चारमाध्यमलाई समाचार दिने संस्था बलियो हुनुपर्ने हो तर सङ्घीय सरकारको मातहतमा रहेकाले हामी धेरै गर्न सक्दैनौँ यद्यपि भवनलगायतको व्यवस्थापनमा म जुटिरहेको छु ।” उनले रासस वाग्मती प्रदेश कार्यालयले अर्को वार्षिकोत्सव आफ्नै भवनमा मनाउन पाउने समेत बताए ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले सरकारी माध्यम भन्दैमा राससले सरकारको गुनगान मात्र गाउन नपर्ने सुझाव दिँदै सकारात्मक आलोचनासहितको समाचारले सरकारको कामको गतिलाई सशक्त बनाउने धारणा राखिन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पत्रकारका हकहितका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै पत्रकारलाई पनि सही सूचना प्रवाह गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका महासचिव कृष्ण सारु मगरले रासस जस्तो गरिमामय संस्थाले श्रमजीवी पत्रकार ऐन पूर्णतः कार्यान्वयन गरिदिँंदा निजी सञ्चारमाध्यममा समेत सकारात्मक प्रभाव परेको बताए । पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईँले राससले कुनै पनि जिल्लामा स्थायी कर्मचारीका रुपमा पत्रकार नियुक्त नगर्दा समस्या रहेको बताए ।
रासस वाग्मती प्रदेश कार्यालयले छिटो आफ्नो भवन पाउँछः मुख्यमन्त्री
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राससको ५९ औंँ वार्षिकोत्सव समारोह सफलताको शुभकामना दिँदै राससको स्तरोन्नति र प्रगतिको कामना गरे । रासस वाग्मती प्रदेश कार्यालयले छिटो आफ्नो भवन पाउनेसमेत बताउनुभएको उहाँका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
सञ्चारकर्मी दाहाल पुरस्कृत
वार्षिकोत्सवका अवसरमा रासस वाग्मती प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा रासस वाग्मती प्रदेश मकवानपुरका संवाददाता रिपेश दाहाललाई प्रदेश उत्कृट समाचारदाताका रुपमा सम्मान गरिएको थियो । रासस वाग्मती प्रदेश कार्यालयका प्रमुख सुरेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दाहाललाई आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कट्टेलले १५ हजार रूपैयाँ सहित सम्मानपत्र प्रदान गरे । कार्यक्रममा सहभागी वक्ताले रासस वाग्मती प्रदेश कार्यालयको आफ्नै कर्मचारी संरचनासहितको भवन हुनुपर्नेमा जोड दिए ।