निजामती सेवाप्रतिको जनअपेक्षा

राज्यलाई सञ्चालन गर्ने विभिन्न अंग हुन्छन् । परम्परागत रूपमा भूगोल, जनसंख्या, सरकार र सार्वभौमिकताबाट राज्य चलायमान हुन्छ । राजनीति, समाज र प्रशासनको यसमा महŒवपूर्ण भूमिका हुन्छ । यी तीनवटै पक्षको विश्लेषण गरेर मात्र निजामती सेवाप्रतिको जनअपेक्षाको विवेचना गर्नु उपयुक्त हुन्छ ।

लोकतान्त्रिक गणतन्त्रकालमा आइपुगेपछि हामी नेपाली धारिला भएका छौं । दुईधारे तरबारजस्ता छौं । हामी हरेक क्षेत्रमा दुई ध्रुवमा उभिएका छौं । मैले माथि उल्लेख गरेका राजनीति, समाज र प्रशासन तीनवटै क्षेत्र दुईथरी प्रवृत्तिबाट चलायमान भएका छन् । राजनीति भनेको राज्य सञ्चालनको मियो हो । यसले सरकार गठन गर्छ । जनताका आकांक्षालाई सम्बोधन गर्छ । जनआकांक्षाको परिपूर्तिका लागि नीति, नियम, कानुन र कार्यक्रम निर्धारण गर्दछ । प्रशासनको मार्गबाट तिनलाई जनतासामु प्रतिफलका रूपमा पु¥याउने प्रयास गर्दछ ।

नेपालको राजनीतिमा राजनीतिज्ञ प्रवृत्ति र राजनीतिकर्मी प्रवृत्ति छ । राजनीतिज्ञले राजनीतिलाई सेवा मान्दछ । उसले जनताको भावना, आवश्यकता र आकांक्षालाई समेटेर शासन सञ्चालन गर्ने प्रयास गर्दछ । यस्तो प्रवृत्ति सत्तानजिक पुग्न धेरै नै संघर्ष गर्दछ । यसको विपरीत राजनीतिकर्मीका लागि राजनीति पेसाभन्दा माथि उठ्न सकेको छैन । उसले आफ्ना आकांक्षा, आवश्यकता र चाहनालाई सन्तुष्ट गर्नबाट फुर्सद नपाएर होला जनताको आवश्यकता र भावनाको कदर गर्न सकेको हुँदैन । यस्तो गर्नुमा राजनीतिकर्मीको मात्र दोष छैन । त्यसमा विभिन्न तŒवले प्रभाव पारेको देखिन्छ । त्यो पछि स्पष्ट हुँदै जानेछ । लामो समयसम्म सत्ता सञ्चालनको अनुभव हासिल गर्ने राजनीतिकर्मीले नै हो ।

आम जनता, पेसाकर्मी, व्यवसायी, प्रशासक, राजनीतिज्ञ सबै मिलेर समाज बनेको हुन्छ । यसमा धर्म, संस्कृति, रहनसहन, भाषा, वेशभूषाजस्ता विभिन्न तŒव समाविष्ट हुन्छन् । समाजभित्रका यी विभिन्न घटकमा सदाचार, सेवाभाव र पेसागत निष्ठाको मर्यादाभित्र रहेका र लोभलालच, स्वार्थ, नातावाद, कृपावाद र आशीर्वादलाई बोकेर हिँडेका दुवैथरी छन् ।

राजनीति र प्रशासनसँग नजिकको सम्बन्ध गाँसेर महाजन बनेका गाउँसहरमा योजना तथा विकास कार्यक्रम सञ्चालन गर्दछन् । ती कार्यक्रम तिनीहरूकै नाममा जान्छन् । गाउँठाउँमा कुनै विवाद हुँदा तिनीहरूले मध्यस्थता गरी विवाद मिलाउँछन् । साधुजनले स्थानीय तह वा जिल्लास्तरबाट सेवा लिन जाँदा उनीहरूले नै सहजीकरण गरिदिने गर्दछन् । उनीहरूको जीविकोपार्जन गर्ने कुनै पेसा–व्यवसाय दृष्टिगोचर हुँदैन तथापि तिनीहरूको जीवन गुणस्तरीय र प्रतिष्ठित तवरले चलिराखेको हुन्छ ।

‘विद्या ददाति विनयं’ भने पनि सेवाग्राहीले प्रशासनमा विनयशीलता पाउँदैनौं भन्छन् भने त्योभन्दा ठूलो विडम्बना के होला

साधुजनलाई म सर्वसाधारण जनता मान्दछु । उनीहरू आर्थिक, सामाजिक, राजनीतिक तथा भौगोलिक रूपमा सीमांकित भएका छन् । यहाँ जातजाति, वर्ग, धर्म, लिंग, क्षेत्र, भाषा आदिका आधारमा साधुजनहरूको निर्धारण भएको छ । उनीहरूले साधारण कृषि कर्म, ज्यामी, सिकर्मी, डकर्मी, ज्याला मजदुरीको काम र अन्य पेसागत कामहरू गर्छन् । दिनभरि काम गरेर बेलुका छाक टार्नसमेत उनीहरूलाई धौधौ पर्छ । उनीहरूलाई शासन सञ्चालनका जटिल प्रक्रियाहरूसँग वास्ता हुँदैन । उनीहरूले सामाजिक सुरक्षा भत्ता लिने प्रयोजनका लागि वा कुनै राहत सहायता लिने प्रयोजनका लागि वा कुनै शिक्षा हासिल गर्ने प्रयोजनका लागि नागरिकताको प्रमाणपत्र लिन जाँदा मात्र प्रशासनलाई चिन्दछन् । बढी नै बिरामी पर्दा स्थानीय स्वास्थ्यचौकी वा नजिकको अस्पतालमा जाँदा मात्र स्वास्थ्य प्रशासनसँग आत्मसाक्षात्कार गर्दछन् । घरदैलोको सरकारका रूपमा रहेको स्थानीय तह वा वडा कार्यालयलाई समेत उनीहरूले कुनै आवश्यकता परी जन्म वा मृत्यु दर्ता गर्न जाँदा मात्र चिन्दछन् ।

प्रशासन पनि दुईथरीका छन् : पहिलो, स्वयंसेवक र अर्कोथरी राष्ट्रसेवक । आफ्नो सेवालाई मात्रै हेर्ने भएकाले स्वयंसेवक भनेको होइन तर यस्तो प्रवृत्तिको प्रशासनले जनताको सेवाभन्दा आफ्नो सेवालाई प्राथमिकतामा राखेको हुन्छ । यिनीहरूका लागि जनमुखी प्रशासन, सुशासन, नयाँ सार्वजनिक सेवा फगत सिद्धान्त हुन्छन् । आफूलाई पायक पर्ने ठाउँमा मात्रै बसिरहन अनेक तिकडम गर्ने, अत्यधिक लाभको आकांक्षा राख्ने, मन, वचन र कर्मले आफूलाई मालिक र जनतालाई दास ठान्ने प्रवृत्तिलाई म स्वयंसेवक प्रवृत्ति भन्दछु । स्वयंसेवक प्रवृत्तिसँग आकर्षण हुन नसक्ने कर्मचारीहरूलाई मैले राष्ट्रसेवक मान्दछु । यस्तो कर्मचारीहरूमा म साँच्चै जनताको सेवा गर्छु, राज्यले खटाएको जुनसुकै ठाउँमा खटिएर भए पनि काम गर्छु, मैले चाहेमा परिवर्तन सम्भव छ भन्ने भावना भित्रैदेखि मडारिएर आएको हुन्छ ।

राजनीतिकर्मी बन्ने कारण मूलतः चारवटा छन् : राजनीतिमा लागेको मान्छेलाई पनि खान लाउन चाहिएको छ । खाने, लाउने र बस्ने आधारभूत कुरा पूर्ति गर्ने अभिलाषामा ऊ कतिखेर राजनीतिकर्मी बन्छ पत्तै हुँदैन । दोस्रो राजनीतिकर्मीलाई सत्तामा पु-याउने कार्य महाजनबाट हुन्छ । उनीहरूले समाजमा साधुजनलाई समेत प्रलोभनमा पारेर राजनीतिकर्मीलाई सत्तामा पु-याइदिन्छन् । त्यसैले, महाजनलाई रिझाइराख्नका लागि पनि राजनीतिकर्मी बन्नुपर्छ । तेस्रो महँगो चुनावी खर्चको चपेटामा परेर व्यक्ति राजनीतिकर्मी बन्दछ र चौथो स्वयंसेवक प्रशासकले नै कतिपयलाई राजनीतिकर्मी बनाइदिन्छन् । कुनै पेसा, व्यवसाय नभइकनै उन्नत जीवनचर्या चलाउने पैसा कमाउनका लागि नै मान्छे महाजन बन्दछन् ।

राजनीति, प्रशासन र जनताका विविध प्रवृत्ति रहेको अवस्थामा एकको अर्कोप्रतिको अपेक्षा पनि प्रवृत्ति सापेक्षित हुन्छ । राजनीतिज्ञ चाहन्छ, निजामती सेवाले आफ्ना नीतिका माध्यमबाट जनतालाई छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गरोस् । राजनीतिकर्मीले प्रशासनलाई आफ्नो चाकरी गर्ने संयन्त्रका रूपमा विकसित गर्न चाहन्छ । विधि, पद्धति र प्रक्रिया त्यति माने राख्दैन आफ्नो नजिकको समूहलाई लाभ पुग्नेगरी सेवाप्रवाह होस् भन्ने चाहना हुन्छ । महाजनको अपेक्षा के हुन्छ भने म सेवा लिन जाँदा आवश्यक प्रक्रिया नपुगेको भए पनि छिटो सेवा प्राप्त होस् । म फलानोको मान्छे भनेर सेवा लिन सकियोस् । अझ योभन्दा बढ्ता राजनीतिकर्मीको भनसुनका आधारमा मलाई घरमै सेवा आइदेओस् । साधुजनको अपेक्षा हुन्छ, सेवा प्रवाहमा विलम्ब होस् तर कम्तीमा सेवा प्रदायकले झर्को नमानी मसँग बात गरिदेओस्, एकचोटी मुसुक्क मुस्काइदेओस् । कम्तीमा मलाई पनि मान्छे त गनिदेओस् ।

नेपालमा सञ्चालनमा रहेका केही कार्यक्रममा प्रशासनको भूमिका सराहनीय छ । हिमाली जिल्लामा सुत्केरी उद्धारमा देखाइने तदारुकता, विपद् उद्धारमा देखाइने तदारुकता, तराई मधेस समृद्धि कार्यक्रम, हिमाली क्षेत्र पूर्वाधार विकास कार्यक्रम, कर्णाली विकास कार्यक्रमलगायतका क्षेत्रीय कार्यक्रमको कार्यान्वयनमा जनता आशावादी रहेका छन् । २०६२÷६३ सालपछि प्रशासन क्षेत्रमा व्यापक सुधार गरिएको छ । समावेशीकरणको अभ्यासले किनारमा रहेका नागरिकमा एक प्रकारको आशाको किरण जगाएको छ । पछिल्लो समयमा राज्यका हरेक क्षेत्रमा लंैगिक मूल प्रवाहीकरण हुँदै गएको छ । संघीय शासनका लाभलाई जनतासमक्ष पु¥याउनेगरी तीनवटै तहमा कर्मचारी समायोजनको काम सम्पन्न भएको छ । जनमुखी सेवाका लागि नागरिक वडापत्र, विद्युतीय सेवा प्रणाली, घुम्ती सेवा प्रणालीलगायतका सेवाप्रवाहका विभिन्न औजार प्रयोगमा ल्याइएका छन् । सार्वजनिक पूर्वाधारहरूलाई अपांगमैत्री तथा बालबालिकामैत्री बनाउने प्रयासहरू भएका छन् । सेवाग्राहीलाई छिटो सेवा दिने उद्देश्यका साथ कार्य प्रक्रियालाई सरलीकरण गरिएको छ ।

जनता धेरै केही चाहँदैनन् । उनीहरू त प्रशासनको एक चिम्टी मुस्कानका भोका छन् । सुख, शान्ति र अमनचयनले बाँच्न चाहन्छन् । सेवा लिनका लागि घण्टौंसम्म लाइन बसेर बेलुका सेवा नलिई कुनै दुर्भावना नराखी फर्कने जनता पनि हामीले देखेका छौं । २०७२ सालको भूकम्पपछि महिनौंसम्म पनि त्रिपालमुनि रात बिताएर परिस्थितिलाई सही दिने तिनै जनता होइनन् ? कोरोनाको कहरका बीच आफ्नो पेसा–व्यवसाय चौपट पारेर तीनतीन महिनासम्म लकडाउन पचाइदिने पनि जनता होइनन् ? दाउरामा खाना पकाएर हाँसीहाँसी नाकाबन्दी सही दिने पनि जनता होइनन् ? जनताले यति सहयोग गर्दा बदलामा हामी के दिइराखेका छौं ? एक जना चेली बलात्कृत भएर वीभत्स हत्या हुँदा हत्यारालाई खोज्न सक्दैना‌ै‌ं हामी । कार्यालय उठ्नै लाग्दा पुगेका एक जना ज्येष्ठ नागरिकलाई सेवा लिन भोलि आउनु भनेर फर्काउँछौं हामी । बेलैमा गुणस्तरीय उपचार, बेलैमा विभिन्न परिचयपत्रसम्बन्धी सेवा, बेलैमा मौद्रिक तथा गैरमौद्रिक सुविधा दिन सक्दैनौ हामी । ‘विद्या ददाति विनयं’ बुद्धिजीवी विनयशील हुन्छन् । तर, सेवाग्राहीले हाम्रो प्रशासनमा विनयशीलता पाउँदैनौं भन्छन् भने त्योभन्दा ठूलो विडम्बना के होला ?

तपाइको प्रतिक्रिया
(Visited 356 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन