सर्लाही । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले सर्लाहीमा आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । सर्लाहीको गोडैता,बागमती,हरिवन, लालबन्दी, चन्द्रनगर, बलरा, मलंगवा लगायत सर्लाहीका २० वटै पालिकामा यो पर्व धुमधामका साथ मनाइएको छ ।
कोरोना संक्रमणको समय भए पनि ब्रतालु तथा स्थानिय व्यक्तिहरु छठ पर्व हर्षोउल्लासका साथ मनाएको चन्द्रनगर गाउँपालिका वडा नं. १ बस्ने स्थानिय बिनय महराले जानकारी दिए । कोरोना महामारीको समय हुदाँ पनि कुनै पनि मानिस समाजिक दुरी तथा स्वास्थ्य मापदण्ड पुरा नै नगरी छठ पर्व मनाएको छ । छठ पर्वले कोरोना बाट जोगाउँछ भन्ने विश्वासका साथ बिगतका वर्षझै यस वर्ष पनि यो पर्व धुमधामका साथ मनाइएको अर्का स्थानिय रमेश यादबले बताए ।
आज सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्व सर्लाहीमा समापन गरिएको हो ।व्रतालु सर्लाहीको विभिन्न पोखरी, तलाउ, नदीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।
अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गरेर पर्व समापन गरेका हुन । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।