काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो कार्यकाल सय दिन पुगेको उपलक्ष्यमा उपलब्धि सार्वजनिक गरेका छन् । सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।
आफ्नो उपलब्धि सार्वजनिक गर्न आइतबार मन्त्रालयको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी वैशाखबाट उपत्यकाको फोहोर व्यवस्थापनका लागि नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरे डाँडामा निर्माण भइरहेको ल्यान्डफिल्ड साइट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।
‘काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापनका लागि निर्माणाधीन नुवाकोट र धादिङको सिमानास्थित बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल्ड साइटको निर्माणलाई तीव्रता दिन १८ पुसपछि पटक–पटक स्थलगत अनुगमन गरिएको छ,’ उनले भने, ‘अनुगमनका साथै निर्माण कार्यलाई तीव्रता दिन आवश्यक निर्देशन र बजेट व्यवस्थापनमा सहजीकरण गरिएको छ, बन्चरेडाँडामा आगामी नयाँ वर्षदेखि फोहोर विसर्जन गर्ने गरी कामलाई तीव्रता दिन आवश्यक व्यवस्था मिलाइएको छ ।’
उनले ५ अर्ब ३ करोड रुपैयाँ लागतमा १२ वटा भवनसहित निर्माणाधीन संसद् भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास, सभाहलको निर्माणलाई तीव्रता दिन आवश्यक व्यवस्था मिलाएको जनाएका छन् ।
राज्यमन्त्री मानन्धरले आफ्नो सय दिनको अवधिमा काठमाडौं जिल्लामा निर्माण गर्न लागिएका चार नयाँ सहरको डीपीआरका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको बताए ।
‘नुवाकोटको छहरेदेखि धादिङको गल्छीसम्मको करिब ३५ किलोमिटर र धादिङको गल्छीदेखि नुवाकोटको चाउथे–बन्चरे हुँदै काठमाडौंको तीनपिप्ले–बालाजु जोड्ने करिब ३० किलोमिटरसहित जम्मा ६५ र ७० किलोमिटरको उपत्यकालाई उत्तरतर्फको बाहिरी जिल्लाबाट घेर्ने वैकल्पिक राजमार्ग र चक्रपथ निर्माणका लागि सम्बन्धित पक्षसँग समन्वय गर्दै निरन्तर छलफल भइरहेको छ,’ उनले भने ।
उनले धादिङको नौबिसे–गल्छी, मकवानपुरको इन्द्रसरोवर, सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती उपत्यका, दोलालघाट, पाँचखाल, भकुन्डेबेंसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित गरेर बृहत्तर सहर निर्माणसँगै बृहत्तर राजधानीको विकास, प्रदूषणमुक्त राजधानी बनाउने परिकल्पनासहित छलफल आरम्भ भएको दाबी गरे ।
उनले सरकारबाट घोषणा भएका २७ नयाँ सहर निर्माण गर्न मध्य पहाडी लोकमार्गमा कार्यालय स्थापना गरी १० वटा नयाँ सहरको काम थालिएको उल्लेख गरे । काठमाडौं उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने गरी नयाँ चक्रपथ राजमार्गको परिकल्पना गरिएको र विभिन्न १० स्थानमा नयाँ सहर निर्माण गर्ने विषयमा छलफल सुरु भएको जनाए ।
राज्यमन्त्री मानन्धरले उपत्यकाको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने, ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने लगायत काम भएको जनाएका छन् । उपत्यकामा धुवाँधुलो न्यूनीकरण गर्ने, भित्री सडक मर्मत र खाल्टाखुल्टी पुर्ने लगायत कार्यलाई तीव्रता दिएको उनको भनाइ छ । कलंकीदेखि चावहिलसम्म निर्माणाधीन चक्रपथमा अन्डरपास, फ्लाई ओभर, सुरुङमा प्राविधिक विषयमा सुझाव संकलन हुने जनाइएको छ । उनले काठमाडौं उपत्यकाको जनचापको समुचित व्यवस्थापनका लागि उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने गरी विभिन्न १० स्थानमा थप नयाँ सहर निर्माणका लागि छलफल थालिएको पनि जनाएका छन् ।
मन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा ३६ अर्ब ८५ करोड बजेटमध्ये ३७ प्रतिशत अर्थात् १३ अर्ब ६५ करोड रुपैयाँ खर्च गर्न सफल भएको जनाएको छ । राज्यमन्त्री मानन्धरले विद्यमान कानुनी प्रक्रियाका कारण पनि वित्तीय प्रगति सोचेअनुसार हासिल गर्न नसकेको जनाए ।
राज्यमन्त्री मानन्धरको प्रगति विवरणमा मन्त्रालय मातहत चालू योजनालाई तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक निर्देशनसहित स्रोत र साधन परिचालन गरिएको उल्लेख छ । गत ५ मंसिरमा उनी नियुक्त भएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई नै सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको दोहोरो जिम्मेवारीका कारण मन्त्रालयले अधिकार र जिम्मेवारीअनुसार उपलब्धि गर्न भने सकेको छैन ।