चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यलय अनुसार मंगलबार कोरोना मुक्त हुनेमा ८ जना घरमै बसेका संक्रमित र १ जना आइसोलेस बसेका संक्रमित रहेका छन् । संक्रमण मुक्त हुने ९ जना नै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
मकवानपुरमा हालसम्म कोरोना ४ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएकामा ३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त भएका हुन् । मकवानपुरमा बुधबारको मितिमा ७ सय ७२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ७ सय ४० जना होम आइसोलेसन र ३२ जना मध्ये १९ जना हेटौंडा हस्पिटल र १३ जना गौरिटार आइसोलेसनमा उपचाररत छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका २ जनाको मृत्यु भएको छ । हेटौडा अस्पतालको कोभिड वार्डमा उपचारत १ पुरूषको बुधबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ बस्ने ६८ वर्षिय पुरुषको पनि बुधबार हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका डाक्टर सागरले जानकारी दिए । यो समेत यसवर्ष हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमण पुष्टि भएका ६ जनाको मृत्यु भएको छ । मृतक मध्ये मकवानपुरका ४ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २ जना रहका छन् ।
यसै गरी मकवानपुरको मनहरी गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका १ पुरषको मृत्यु भएको छ । मनहरी १ मकरीमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । कोरोनाबाट संक्रमित पुरुषको मंगलबार राती मृत्यु भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।
निषेधाज्ञा समयमा गुनासो सिधै जिल्ला प्रशासन कार्यालयमा
जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको समयमा जिल्लाबासीलाई कुनै समस्या गरी गुनासो राख्नु परेमा सिधै कार्यालयमै सम्पर्क गर्न अनुरोध गरेको छ ।
निषेधाज्ञाको मौका बनाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यबृद्धिलगायतका काम भएको भन्ने जनगुनासोहरु भएमा कार्यालयको इमेलमा सम्पर्क गर्न सोमबार २० गते सूचना जारी गरेको छ । जनगुनासो सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरी समेत राख्न सकिने कार्यालयले जनाएको छ । जनगुनासो अनुसार अनुगमनका क्रममा जोकोहीबाट पनि उपभोक्ता हित विपरितका कुनै पनि कार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने भन्दै जिल्ला प्रशासन कार्यालयले सुचित गरेको छ ।
यससम्बन्धी कुनै पनि गुनासो भएका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ९८४९३५६८५८ मा प्रमाणसहित उजुरी एवं जानकारी गराउन सकिने छ भने कार्यालयको इमेल ठेगानामा वा कार्यालयको अफिसियल फेसबुक पेजमा समेत उजुरी गर्न सकिनेछ सूचनामा उल्लेख छ ।






