बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए पछि जिल्लामा कोरोना तिब्र गतिमा फैलिएको पुष्टि भएको छ । बुधबार कोरोना पुष्टि भएकामा ७८ जना महिला र १२२ जना पुरुष रहेका छन् ।

जिल्लाका आठवटै स्थानिय तहमा कोरोना फैलिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार गुलरिया नगरपालिकामा सबै भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । यहाँ एकै दिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता गुलरियामा हालसम्म २६१ जनाका कोरोना पुष्टि भएको छ ।

बढैयाताल गाउँपालिकामा बुधबार एकै दिन ४५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै बढैयाताल गाउँपालिकामा कोरोना संक्रमितको संख्या २५३ पुगेको प्रशासन कार्यालयले जनाएको छ । बुधबार ठाकुरबाबा नगरपालिकामा २१ जना, बारबर्दियामा २४ जना, बासगढीमा २९ जना, मधुवनमा १४ जना, राजापुरमा ८ जना र गेरुवा गाउँपालिकामा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएयता बुधबारसम्ममा जिल्लामा कोरोना संक्रमितको संख्या १४ सय २ पुगेको छ । जसमा गुलरिया नगरपालिकामा २६१, ठाकुरबाबामा १५१, बारबर्दियामा १८८, राजापुरमा १२५, बासगढीमा १८७, मधुवनमा १४८ जना संक्रमित रहेका छन् । यसै गरी बढैयाताल गाउँपालिकामा २५३ र गेरुवा गाउँपालिकामा ८९ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता यहाँ कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या बढ्दै जाँदा उपचारमा निकै ठूलो समस्या आइपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । कोरोना संक्रमितको उपचारका लागि जिल्लाका ८ वटै पालिकामा आइसोलेसन निर्माण गरिएपनि प्रयाप्त नभएको स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लाका विभिन्न स्थानिय तहमा १३२ वटा आइसोलेसन वेड रहेको छ । जसमा ८४ वटा वेड अक्सिजनसहितका रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको बैठकले गुलरिया नगरपालिकास्थित साविक महिला विकास कार्यालयको भवनमा २५ वेड कोभिड अस्पतालबाट प्रारम्भिक सेवा सुरु भएकोका यसलाई तत्कालै पूर्णरुपमा संचालनमा ल्याउने, कोरोना संक्रमण फैलने क्रम तिब्र भएको हुँदा विरामीको उपचारका लागि अत्यावश्यक रहेको अक्सिजन अभाव हुन नदिन जिल्लाका ८ वटै स्थानिय तहले कोभिड विशेष अस्पतालमा कम्तिमा २० वटा ठूलो अक्सिजन सिलिण्डरको व्यवस्था गर्ने र सबै स्थानिय तहले कोभिड मैत्री अक्सिजनसहितको एम्बुलेनसको व्यवस्था गर्ने लगाएतका निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 469 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर