वीरगन्ज । कोरोना संक्रमणको हटस्पट वीरगन्ज क्षेत्रको नारायणी अस्पतालमा साढे ६ घण्टाको अन्तरालमा ४ जना संक्रमितको निधन भएको छ । अस्पतालमा उपचार गराइरहेका संक्रमित मध्ये बिहान ५ बजेर ५ मिनेटदेखि ११ बजेर ३५ मिनेटको अन्तरालमा कोरोनाका कारण ४ जनाको निधन भएको हो ।
बिहान ५ बजेर ५ मिनेटमा गौर २ रौतहटका ५४ बर्षीय पुरुषको निधन भएको थियो । त्यसयता बिहान ८ बजे रौतहटको विजयपुरका ४५ बर्षीय पुरुष, ११ बजेर १० मिनेटमा रौतहटकै फत्तेपुर ६ का ६० बर्षीया महिला र ११ बजेर ३५ मिनेटमा पर्साको जगरनाथपुर ८ का ५५ बर्षीय पुरुषको निधन भयो । यति छोटो समयको अन्तरालमा निधन हुने क्रम लगातार भएपछि मृतकको संख्या ४ पुगेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले बताए ।
मृतक तीन मध्ये दुई जनामा अन्य रोग पनि थियो । एक जनामा भने कोरोना मात्र रहेको डा दासले बताए । कडा निमोनियाको कारण उनीहरुको दुवै फोक्सोले काम गर्न छोडेपछि निधन भएको डा. दासको भनाई छ । पछिल्लो पटक निधन भएका सहित वीरगन्जको नारायणी अस्पताल उपचार गराउन आएका मध्ये ३६ जनाले अहिलेसम्म ज्यान गुमाइसकेका छन् ।
वीरगन्जका अन्य नीजि अस्पतालहरुमा पनि संक्रमित भएर निधन हुनेको कुल संख्या ४८ जना भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।






