लमजुङ । लमजुङको ग्रामीण पर्यटकीय गन्तव्यको स्मार्ट भिलेज घलेगाउँमा कोरोना संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । घलेगाउँलाई कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपबाट बचाउनका लागि स्मार्ट भिलेज घलेगाँउ पर्यटन व्यवस्थापन समितिले गाउँ प्रवेश गर्ने नाका नाकामा युवाहरूलाई चौकीदारी गर्न शुक्रबारदेखि खटाएको हो ।
क्ब्होलासोथर गाउँपालिका– ३ मा रहेको स्मार्ट भिलेज घलेगाँउ सञ्चालक समितिको बिहीबार बसेको बैठकले गाउँमा कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउने निर्णय गर्दै गाउँका नाकामा युवाहरूलाई चौकीदारी गर्न खटाउने निर्णय गरेको हो । बैठकले छिमेकी गाँउ तथा स्थानीय तहबाट आएका व्यक्तिबाट कोरोना संक्रमणको जोखिम बढी हुन सक्ने भएको हुनाले नाकामा युवाहरूलाई खटाउने निर्णय गरेको स्मार्ट भिलेज घलेगाउँ सञ्चालक समितिका अध्यक्ष गंगाबहादुर घलेले बताए । उनका अनुसार नाकाबाट नवागन्तुकहरूलाई प्रवेश गर्न नदिन निगरानीका लागि युवाहरू खटाउने काम गरिएको हो ।
छिमेकी मस्र्याङदी गाउँपालिकामा कोरोनाको संक्रमण उच्च हुने स्थिति देखिएपछि यस्तो निर्णय गर्नु गर्नु परेको घलेले जानकारी दिए । उनका अनुसार घलेगाउँ प्रवेश गर्ने मुलतः दुई नाका मस्र्याङदी गाँउपालिकाबाट घलेगाउँ आउने र बेसीशहर नगरपालिकाबाट घलेगाउँमा प्रवेश गर्ने नाकामा चौकीदारी गर्न दुई टोली बनाएर युवाहरू परिचालन गरिएको छ । उनले भने, ‘दुवै नाकामा प्रतिदिन २/२ जनाका दरले युवाहरू खटाइएको छ ।’ उनीहरू बिहान ७ देखि बेलुका ८ बजेसम्म आफूलाई तोकिएको नाकामा खटिएर बस्ने गर्दछन् । प्रवेशद्वारबाट घलेगाउँ आउन चाहनेहरूलार्ई सोधपुछ गरेर अत्यावश्यक काममा आएको भए मात्र सञ्चालक समितिको समन्वयमा गाउँमा प्रवेश दिइएको र अनावश्यक रुपमा आउनेलाई सम्झाई बुझाई फर्काउने काम गरिएको समितिका अध्यक्ष घलेले जानकारी दिए ।
गाउँमा नआई नहुने भएको खण्डमा त्यस्तो अत्यावश्यक काममा आउने– जाने व्यक्तिहरूको विषयमा निर्णय गर्नका लागि समितिका अध्यक्ष घलेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । सो समितिको सदस्यहरूमा भारती घले, भोजराज न्यौपाने, विशाल घले र सुनील विक रहेका छन् । गाउँमा प्रवेश निषेध गर्ने उक्त निर्णय पहिलो चरणमा आउँदो जेठ ५ गतेसम्मका लागि लागु हुने सञ्चालक समितिले जनाएको छ । यसैगरी समितिले अर्को निर्णय नहुँनदासम्मका लागि ग्रामीण पर्यटकीय घलेगाउँ क्षेत्रमा भेला, जमघट, पिकनिक सबै बन्द गरिएको छ ।
साथै, गाँउबासीलाई अनिवार्य रुपमा मास्क, स्यानिटाइजर तथा सावुनपानीको प्रयोग गर्न निर्देशन दिएको समितिका सदस्य भारती घलेले बताइन् । उनका अनुसार सो बैठक गाउँको सञ्चालक समितिका अध्यक्ष गंगाबहादुर घलेको अध्यक्षतामा बसेको थियो ।
स्मार्ट भिलेज घलेगाउँ लमजुङको उत्तर पश्चिमको क्व्होलासोंथर गाउँपालिका– ३ मा पर्दछ । क्ब्होलासोथर गाउँपालिकामा आजका मितिसम्म एक जनामात्र कोरोनाको संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।






