सन् १८०९ देखि नेपालका उच्च हिमालका चुचुरा मापन हुँदै जाँदा जुनजुन हिमालका चुचुरा नापियो त्यही त्यही विश्वको अग्लो चुचुरा घोषणा गर्दै गइयो । सुरुमा धवलागिरी (८१६७ मि. अग्लो)लाई विश्वको सर्वोच्च शिखर भनियो र सन् १८४८ तिर कन्चनजङ्गा (८५८६ मि अग्लो)लाई भनियो भने सन् १८५२ मा मात्र आएर सगरमाथालाई विश्वको सर्वोच्च शिखर रहेको घोषणा गरिएको थियो । सुरुमा २९००२ फिट (८८४० मि) नापिएकोमा पछि २९०२८ फिट (८८४८ मि) हुँदै हाल २९०३१.६९ फिट (८८४८.८६ मि) यसको उचाई पुष्टि भइसकेको छ । त्यस समयमा र अहिले पनि सगरमाथालाई तिब्बतीहरुले चोमोलोङ्गमा नेपालीहरुले झ्यामोलोङ्गमा भन्छन् भने सगरमाथा मापन गर्दा पिक १५ भनियो । सर्भे अफ इन्डिया (भारतको नापी विभाग) हिमाल मापन टोलीका सदस्य राधानाथ सिकन्दर(वंगाली) ले सगरमाथा विश्वको सबैभन्दा अग्लो भनेर सर्वप्रथम उनले भनेका थिए । सगरमाथाको मापन सन् १८५२ मा सबैभन्दा अग्लो पुष्टिको सुरुवात भएपनि पटक पटक विभिन्न देशहरुले मापन गरेर कहिले ८८४० मि., ८८४४ मि., ८८५० मि. भने पनि ८८४८ मि. नै लामो समय आधिकारीक भनिएकोमा पछिल्लोपटक नेपाल र चीन दुवैतिरका सर्भेयरहरुले सन् २०१९ मा मापन गरी २०२० मा घोषित मापन ८८४८.८६ मिटर नै पहिलो आधिकारीक पुष्टि भैसकेको छ ।
शुरुमा उचाई नाप्ने प्रविधि बेलायतका इन्जिनियर जर्ज एभरेष्टले विकास गरेका र विश्को सर्वोच्च शिखर खोज्ने कार्य शुरु भएपछि भारतका सर्भेभर जनरल सर एन्ड्रयू वाघले नै आफ्ना अग्रज “जर्ज एभरेष्ट“ कै स्मरणमा त्यही पन्धौं चुचुरोको नाम फेरेर सन् १८६५ (वि.सं. १९२१) मा माउण्ट एभरेष्ट नाम राखिदिए । त्यसपछि नै एभरेष्टको नाम चर्चामा आयो । जर्ज एभरेष्ट सन् १८२५ देखि १८४३ सम्म भारतको सर्भेयर जनरल थिए । उनको नाममा माउण्ट एभरेष्ट घोषणा हुँदा उनी ७५ बर्षको उमेरका भैसकेका थिए । पछि नेपालका इतिहासकार बाबुराम आचार्यले लगभग ९० वर्ष पछि सन् १९५६ (वि.सं २०१२) मा मात्र सगरमाथाको नामाकरण मात्र गरेनन् त्यसभन्दा अगाडि पनि यसलाई सगरमाथा नै भनिन्थ्यो भनेर उनले चर्चामा ल्याए। त्यहीबाट नेपालमा सगरमाथा, विश्वले माउण्ट एभरेष्ट, चीन (तिब्बत)मा चोमोलङ्गमा भनेर विश्वको सर्वोच्च शिखरको नामाकरण गरिएको थियो ।
विश्वको सर्वोच्च शिखर घोषणा र पुष्टि भइसकेपछि विश्वभरी यसको चुचुरो चुम्ने धेरै रहर र प्रयासहरु हुन थाले । सगरमाथा चढ्न प्रथम पटक सन १९२१ र १९२२ मा गरेको प्रयास असफल भएपछि (सोही समयतिर आरोहणमा हिडेका ७ जना शेर्पा हिमपहिरोमा परी मृत्युर्वरण भएका) सन १९२४ मा तेस्रो प्रयासमा बेलायती नागरिक जर्ज म्यालोरिको टिम सम्भवत पुष्टि हुन नसकेको उनी र एक उनको साथी एर्भिनले ८ जुन १९२४ मा सगरमाथा चढे तर उनीहरु कहिल्यै फर्किएनन्। उनीहरुको खोजी धेरै भयो, तत्काल कुनै प्रमाण फेला पर्न सकेन । तर ७५ वर्षपछि सन १९९९ मा मात्र उनको मरेको शरीर सगरमाथाको चुचुरोभन्दा २,००० फिट तल फेला पर्यो । म्ल्ब् तथा अन्य परीक्षणबाट प्रमाणित उनको मृतशरीर नातिले बुझेर लगे । तर उनीहरु सगरमाथा चुचुरो चढेको कतै पुष्टि हुन सकेन । त्यसपछि सगरमाथा आरोहण अभियान लामो समय हुन सकेन । बीचमा धेरै टोलीले प्रयास गरे पनि २९ वर्षपछि २९ मे १९५३ मा मात्र प्रथम पटक तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीले सगरमाथाको चुचुरो चुम्न सफल भए । पुष्टि नभए पनि सगरमाथा चुचुरो चुम्न लगातार प्रयास गरि त्यही देहत्याग गरेका म्यालोरी र उनको टिमलाई यहाँ सम्झना गर्न चाहन्छु।
२९ मे १९५३ मा तेन्जिन नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्वप्रथम चुचुरो चुमेको दिन २९ मे को सम्झनास्वरुप नै } Everest Day (सगरमाथा दिवस)को रुपमा मनाउन थालिएको हो । त्यसपछि हालसम्म यस बर्षको बाहेक सगरमाथा चढ्नेको संख्या हेर्दा ६,५०७ जना पुगिसकेका छन् । सगरमाथा चढ्ने मुख्य सिजन भनेको सन् २००० सम्म Autumn / Spring दुवै सिजन प्रचलनमा थियो तर सन् २००१ पछि Autumnभन्दा Spring लाई बढी सुरक्षित मानेर मुख्यतः मे महिना त्यसमा पनि १५–२५ मे सम्म अत्याधिक चढ्ने गरेको पाइन्छ । अरुबेला आकलझुकलबाहेक सन् २००५ मा जुन महिनाको पहिलो हप्ता र सन् २००३ मा पनि २९ मे पछि ३०/३१ मे मा चढेको रेकर्डबाहेक २९ मेपछि सगरमाथामा बिरलै चढेको इतिहासबाट विश्लेषण गर्न सकिन्छ । सगरमाथा चढ्ने तुलना हेर्दा सन् १९८० सम्म ११४ जना, सन् १९९० सम्म ३३४ जना, सन् २००० सम्म ८९३ जना ले चढेको देखिन्छ । सन् २००३ अर्थात सगरमाथा चढेको ५० वर्ष सम्ममा १२०८ जना ले चढेको देखिन्छ । त्यसपछि भने एक÷दुई वर्ष विविध कारणले स्थगितबाहेक चढ्नेको संख्या ह्वात्तै बढेको देखिन्छ । सन् २०१० सम्ममा ३,०५८ जना र सन् २०२० सम्ममा ६,५०७ जनाले सगरमाथा चढिसकेका छन् । सन् २००१ पछि मे महिना बाहेक अन्य महिनामा सगरमाथा चढ्नेको संख्या १०० भन्दा बढि रहेको देखिँदैन । त्यसमा पनि २९ मे पछि सन् २००३ र सन् २००५ मा बाहेक अन्य वर्ष खासै चढेको देखिँदैन । सगरमाथा आरोहणको १०० वर्ष पुग्दै गर्दा यो दिवसलाई नीकै उत्साहका साथ हेरिएको छ ।
सगरमाथा आरोहणका क्रममा विभिन्न व्यक्ति समूहहरुले विविध रेकर्डहरु बनाएका छन् । यसै क्रममा नेपालका निजामती कर्मचारीहरुको प्रथम टोलीले वि.सं २०६८ जेष्ठ ४ गते म आफू स्वयं समेत ९ जनाको टोलीले सफल आरोहण गरी सेवा सम्बन्धि सात बुँदे घोषणापत्र जारी गरेकोमा गौरवान्वित छु। साथै प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्व रहेको सगरमाथा उचाई मापन आरोहण टोलीले २२ मे २०१९ मा सगरमाथाको सफल आरोहणसहित उचाइ मापन गरेको थियो । यो वर्ष पनि आजसम्म कोभिड–१९ को महामारी र मौसम प्रतिकूलताको बीच केहीले आरोहण पूरा गरिसकेको र अझै केही आरोहीहरू आरोहण कै पर्खाइमा हुनुहुन्छ । प्रत्येक वर्ष सगरमाथा आरोहण क्रममा आधार शिविरमा विभिन्न समस्या उत्पन्न हुने र विषयवस्तुको उठान हुने गर्छ तर समाधान भने अलि कमै हुने गरेको देखिन्छ । विगतमा हामीले उठान गरेका सुधारका विषयवस्तु धेरै थिए र अझै ती कार्यान्वयन कै चरणमा पनि छन् । म एउटा निजामती सगरमाथा आरोही, खुम्बु क्षेत्र विगत १५ वर्ष देखि हिँडेको बुझेको एवं त्यही खुम्बु पासाङल्हामु गाउँपालिकामा विगतमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा र पर्यटन मन्त्रालयमा समेत केही समय काम गरेको अनुभवको आधार र परिवर्तित समय सन्दर्भ, संविधान–ऐन कानुनको व्यवस्था समेतलाई मध्यनजर गर्दा निम्न केही विषय कार्यान्वयन गर्दा उपयुक्त देखि बहस छलफलको लागि पुनः उठान गरेको छु र सम्बन्धित सरोकार पक्षको ध्यान जावस पनि भन्न चाहन्छु ।
१. वर्तमान नेपालको संविधान जारी भएपछि र स्थानीय सरकार संचालन ऐन समेतले गरेको व्यवस्थाको आधारमा स्थानीय तह एउटा सशक्त सरकार हो । स्थानीय तहको क्षेत्र भित्रको हरेक काम आवश्यकताको आधारमा कानुनी हिसाबले स्थानीय सरकारको अनुमतिले र सिफारिसको आधारमा हुने गर्दछ । संघसंस्था परिचालन, सरसफाइ, फोहरमैला व्यवस्थापन लगायतका काम स्थानीय तहको हो र यी काममा प्रदेश र केन्द्र सरकारले समेत स्थानीय तहमार्फत गरिनु पर्दछ ।
२. खुम्बु क्षेत्रमा मुख्यतः हिमालको फोहोरमैला व्यवस्थापन गर्न, सगरमाथा क्याम–२ सम्मको बाटो खोल्न लगायतको काम गर्ने ल्न्इ को रुपमा संस्थागत निकाय सगरमाथा प्रदुषण नियन्त्रण समिति (क्एऋऋ) कार्यालय रहेको छ । यो सरकारी, व्यवसायी, सामाजिक सबैले स्वीकार गरेको संस्था भएकोले क्याम–२ भन्दा माथि बाटो खोल्दा सुनिने गरेको अस्वस्थ प्रतिस्पर्धा निराकरण गर्न र विवाद पनि कम हुने हुदा टपसम्म बाटो खोल्न क्एऋऋ लाई जिम्मा दिन सकिने ।
३. खुम्बु क्षेत्रको हिमाल सफाइ, फोहोरमैला व्यवस्थापनका काम स्थानीय तहमार्फत क्एऋऋ लाई नै जिम्मेवार बनाउन सकिने । यसले जति सहज गर्दछ नि अरू कसैले गरेर हुँदैन र लागत पनि अरूको तुलनामा कममा हुन्छ । यसका लागि पर्यटन मन्त्रालयले स्थानीयमार्फत बजेट पठाउने व्यवस्था मिलाउन सकिने तर गलत र सहि कामको सुपरिवेक्षण, अनुगमन, मूल्यांकन आफैले गरी सुझाव, दण्ड –पुरस्कारको पनि व्यवस्था गर्न सकिने ।
४. हिमालमा हुने दुर्घटनाको रेस्क्यु गर्न र हाइअल्चिच्युट लगायतका विमारीलाई उपचार गर्न फिरिचेमा रहेको हिमालय उद्धार संघ(ज्च्ब्) को स्वास्थ्य युनिटको भूमिका महत्त्वपूर्ण छ र यसले सगरमाथा आधार शिविरमा समेत सिजनमा अस्थायी क्याम खडा गरि सेवा दिने पनि गरेकोले यसले झन महत्त्व राखेको छ । अब यसलाई केन्द्र र प्रदेश सरकारको समन्वयमा स्थानीय तहले हाइअल्चिच्युट अस्पतालको रुपमा विकास गरि थप जनशक्ति सहित जिम्मेवार बनाउन सकिने ।
५. आधार शिविरमा सिजन अनुसार बढ्दो जनघनत्व र अपराधी करणलाई न्यून गर्न जरुरी भैसकेकोले गृह मन्त्रालयको समन्वयमा स्थानीय तहले सिजनलमा एक अस्थायी प्रहरी चौकी स्थापना गर्न सकिने ।
६. सम्पर्क अधिकृत खटाउदा बृफिङ शुरु भएपछिबाट “फस्ट कम फस्ट आउट“ निश्चित संख्या र समय तोकि समूह बनाई जस्तैः ५/५ जना १०/१० दिनको लागि आधार हुन सक्छ, खटाई आफ्नो टिमको पूर्ण र अन्य टिमको पनि समन्वय र सहयोग पुर्याउने गरि जिम्मेवार बनाई आधार शिविरमा कर्मचारीको अभाव नहुने गरि व्यवस्थापन गर्न सकिने ।
७. आधार शिविरमा व्यवसायी समेतको समन्वयमा एउटा ठूलो सर्भिस टेण्ट भित्र कार्यालय खडा गरि एकै स्थानमा क्एऋऋ, ज्च्ब्, सुरक्षा, स्थानीय, कर्मचारी सहितको सेवा केन्द्र स्थापना गर्न सकिने ।
८. पर्यटन विभागले आरोहण पर्मिट जारी गर्दा आधार शिविरको क्षमताः मानौ २५०० टेण्ट सम्म राख्न मिल्ने हो भने त्यो नबढ्ने गरि, जनशक्तिको चापः मानौँ २००० जना जति हो भने त्यो नबढ्ने गरी, समयः बरु सिजन नै एक महिना वा केही दिन अगाडि बढाउने र जलवायु परिवर्तनका कारण पनि बढ्दो रिस्कलाई कम गर्न पनि जरुरी भै सकेकोले निश्चित मिति जस्तै २९ मे भन्दा पछि आरोहण गर्न नहुने गरि जारी गर्न सकिने ।
९. सगरमाथा सफल आरोहण गर्नेलाई प्रमाण पत्र दिदा क्रयाम्पन पइन्ट टु टप टु क्रयाम्पन पइन्ट हिडेर आउनेलाई मात्र दिने । हेलिकप्टरको अत्याधिक प्रयोगले ल्याएको विकृत रुप र बढ्दो जोखिम समेतलाई न्यूनीकरण गर्न अत्यन्तै जोखिम युक्त रेस्क्युको लागि मात्र आधार शिविर माथी हेलिकप्टर जान दिने नत्र अन्य माध्यमबाट पनि निरुत्साहित गर्दै जान सकिने ।






