निषेधाज्ञापछि भिडियो बजार उठाउने तयारीमा विधान

काठमाडौं । निर्देशक विधान कार्कीलाई गत वर्ष कोरोना संक्रमणपछिको समय निकै फाप्यो । उनले गत साउनबाट यता गत वैशाखसम्म ४५ वटा म्युजिक भिडियोको निर्देशन गरे । १६ वैशाखदेखि काठमाडौंसँगै मुलुकका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएपछि उनी घरमै विगतका केही बाँकी भिडियोको सम्पादन सम्पन्न गर्न सक्रिय छन् ।

हुन पनि विधानले गत वर्ष लकडाउनपछि नबोली नबोली….., केटो अलि कमाउने होस्……, छुदिनँ म जाले रुमाल……, मैले बोलेको छैन ढाटेर ……, आँखामा बसाऊ मलाई ……, वनैमा मनैमा……, मेरो देश नेपाल……, काले केटा–२, माया नयनी ताल……, यस्तो माया……, कान्छी मट्याङ ट्याङ……, अन्तर्राष्ट्रिय मान्छे, तिम्रो संसार……, मै राम्री, त्यस्तै त्यस्तैमा, पारै मिलेन……, भुरभुर पुतली, माकुरी, वनचौरी……, धारै नखोली जस्ता थुप्रै गीतको भिडियो निर्देशन गरे । यीमध्ये उनका घेरै गीतले युट्युबमा राम्रो भ्युज पाउन सफल पनि भए । धेरै भिडियोले नेपाली संगीतलाई विश्व बजारमा पनि चिनायो । विधानको निर्देशनमा तयार नबोली नबोली गीतको भिडियो २०७७ कै चर्चित र व्यावसायिक भिडियो एवं गीत कहलियो ।

अब लकडाउन खुलेपछि आफूले एक महिनाभित्र नौवटा म्युजिक भिडियोको निर्देशन गर्ने तयारीमा विधान छन् । वैशाखको तेस्रो सातादेखि असारको पहिलो सातासम्म गर्नु पनि बाँकी भिडियोको तयारी अहिले गरिरहेको छु । यो नौवटा गीतको भिडियोका लागि कलाकार प्राविधिक चयन गरेर क्रिप्ट सम्पन्न गरेकाले यी भिडियो सकिएपछि मात्र बाँकी नयाँ भिडियोको काम सुरु गर्नेछु,’ निर्देशक कार्कीले राजधानीसँग भने ।

विगत आठ महिनामा नियमितजसो काम गरेका विधान अहिलेको यो डेढ महिना लामो लकडाउनलाई कार्य विश्रामका रूपमा व्याख्या गर्छन् । योबीचमा उनले आफ्नो निर्देशन रहेको धर्ती आकाश, चुप चाप, रित्तो रित्तो, भकारीमा धन छैन, कसले रोक्न सक्छ, गुलेली जस्ता गीतको भिडियोको सम्पादन सकेका छन् । लकडाउन खुलेपछि यी गीतको भिडियो क्रमशः रिलिज हुने उनले बताए ।

कोरोनापछिको लकडाउनका कारण पूर्णरूपमा सुस्ताएको नेपाली म्युजिक भिडियो बजारलाई आफूहरूले एक महिनामा राम्रा भिडियो प्रस्तुत गरेर माथि उठाउने जिकिर यी निर्देशकको छ । कोरोनापछि गत वर्ष सबैभन्दा बढी भिडियो निर्देशन गर्ने निर्देशकका रूपमा चिनिएका कार्की यस वर्ष पनि विगतको रेकर्डलाई पहिल्याउने तयारीमा छु भन्छन् ।

गत लकडाउनपछिको क्रममा भिडियो निर्देशक विधान कार्कीले चलचित्रका कलाकारलाई महँगो पारिश्रमिक दिलाएर उनीहरूलाई भिडियो खेलाउँदै बजार बिगारेको आरोप पनि लाग्यो । पल शाहलाई प्रतिभिडियो डेढ लाख, आकाश श्रेष्ठ, पुष्प खडका, नाजिर हुसेनलगायतलाई प्रतिभिडियो १ लाख रुपैयाँसम्म पारिश्रमिक दिएर उनीहरूको भिडियोमा अभिनय पारिश्रमिक दोब्बरभन्दा बढी महँगो तुल्याएको पनि उनीमाथि अरू भिडियो निर्देशकको आरोप छ ।

जवाफमा विधानले राजधानीसँग भने, ‘मैले कलाकारहरूको पारिश्रमिक’bout भिडियोमा लगानी गर्ने गायक गायिकासँग कहिल्यै वार्ता गरिनँ । मैले भेट गराइदिएपछि उहाँहरू आफैंले पारिश्रीमक तय गर्नुहुन्थ्यो ।’ सम्बन्धित गायक गायिकाले नै अभिनेता अभिनेत्रीको मागबमोजिमको पारिश्रमिक दिएपछि आफूले त्यसमा बोल्ने कुरा नभएको पनि विधानले स्पष्ट पारे ।

महँगो पारिश्रमिक लिने निर्देशकको आरोप भने उनले स्विकारे । ‘भिडियो राम्रो बनाउन सोही प्रकारको मेहनत गर्नुपर्ने भएकाले म अरूभन्दा बढी नै पारिश्रिमक पक्कै लिन्छु । महँगो पारिश्रमिक दिन नसक्नेहरूलाई सस्तो निर्देशकसँग काम गर्न म आफैं सिफारिस पनि गर्छु ।’ मेहनतले राम्रो भिडियो बनाएकै कारण धेरैजसो भिडियो युटुब ट्रेडिङको शीर्ष स्थानमा पुग्ने गरेको पनि विधानले दाबी गरे ।

नायक नायिकालाई महँगो पारिश्रमिक दिएको आरोप खेपेकै बेला पछिल्लो नौ महिनामा विधानले करिब एक दर्जन नयाँ मोडल आफ्नो भिडियोबाट नेपाली बजारमा ल्याएका छन् । विधानल नबोली नबोली गीतको भिडियोबाट सुधीर श्रेष्ठ र गरिमा शर्मा, पारै मिलेनबाट एलिस राई दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ, आई लभ युबाट विक्रम बुढाथोकी, केटो अली कमाउने होसबाट अजय श्रीज र अस्मिता अधिकारी, माया नयनी ताल गीतको भिडियोबाट सुशिल रेग्मीलाई मोडलका रूपमा म्युजिक भिडियोमा ल्याए ।

यी सबै मोडल अहिले व्यावसायिक भइसकेका छन् । यस्तै, विधानले नै वनैमा मनैमा गीतको भिडियोबाट चाहना बस्याललाई, डुम्रे काटेरबाट सुदित श्रेष्ठलाई, भिडमा पनिबाट स्मृति श्रेष्ठलाई, उड्न देऊ मलाई गीतको भिडियोबाट प्रकृति बुढाथोकीलाई मोडलका रूपमा बजारमा ल्याएका हुन् । यी मोडल पनि विभिन्न म्युजिक भिडियोमा व्यस्त बन्दै छन् ।

विधानको भनाइमा राम्रो भिडियो बनाउन खर्च पनि महँगै हुन्छ । भिडियो राम्रो बनेपछि गीतलाई दर्शकले अझ बढी हेर्ने यी निर्देशकको कथन छ । आफ्नो निर्देशनमा तयार भएको नबोली नबोली गीतको भिडयोबाट यो वर्ष निर्देशनमा आफूसहित संगीतकार, मोडेल, छायाकार, सम्पादकलगायतले नेपालका विभिन्न राष्ट्रिय स्तरका अवार्डहरू जित्नुमा भिडियो नै राम्रो थियो भन्ने दाबी विधानको छ ।

हालसम्म ९० वटा बढी म्युजिक भिडियो निर्देशन गरेका कैलालीका विधान कार्कीले आधा दर्जन बढी छोटा चलचित्र, केही वृत्तचित्र र टेलिभिजन विज्ञापनको पनि निर्देशन गरेका छन् । निर्देशक कार्कीद्वारा निर्देशित छोटा चलचित्र जीवन जोवन सगुन, गरिबी, जब एप्लिकेसन, राधिका, छाउपडी, सपना, दाइजो र प्रेम कथा आदि नेपाली तथा अन्तर्राष्टिय महोत्सवमा पनि प्रदर्शन भए । अमेरिकामा सम्पन्न ग्लोबल नेपाली फिल्म अवार्ड २०१६ र २०१८ बाट भिडियो निर्देशक र सर्ट फिल्म उत्कृष्ट निर्देशकको अवार्ड जितेका उनी केही समय भिडियो निर्देशनमै लाग्ने योजना सुनाउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 466 times, 1 visits today)

epaper

ताजा समाचार

हुलाकी सडकले डफाली परिवारलाई बेघर बनाउँदै