काठमाडौं । कोरोना नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा झन्डै दुई महिनादेखि जारी निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बसलाई स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएपछि मंगलबारदेखि सार्वजनिक सवारी साधन खुुलेका हुन् । ६१ दिनपछि काठमाडाैका सडकमा सार्वजनिक सवारी साधन गुडेकाे थियाे । स्वीकृत सिट संख्याभरि मात्र यात्रु बस्न पाउने प्रावधानसहित सार्वजनिक सवारी सञ्चालन भए पनि निषेधाज्ञापछि सञ्चालनमा आएको पहिलो दिन नै सार्वजनिक यातायातमा भीडभाड बढी देखिएको छ ।
सार्वजनिक सवारी चालक तथा परिचालक र यात्रुले समेत स्वास्थ्य सावधानी अपनाउने तथा सामाजिक दूरी कायम गर्ने कमै मात्रामा देखिएको छ । सञ्चालनमा रहेका अधिकांश सार्वजनिक सवारी साधनमा सेनिटाइजर राखिएको पाइएको छैन ।
पहिलो दिन नै भीडभाड बढी, देखिएन स्वास्थ्य सावधानी
यात्रुको भीडभाडका कारण सिट संख्याभन्दा बढी समेत यात्रुलाई चढाइएको पाइएको छ भने कतिपय यात्रुले मास्क समेत नलगाउने गरेको लगाउनेले पनि चिउडोमुनि लगाएको पाइएको छ ।
यातायात व्यवसायीले सरकारले मापदण्ड तय गरेर थोरै मात्रामा सवारी साधन सञ्चालन गर्न दिएको यात्रु बढी हुँदा भीडभाड हुन पुगेको जनाएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले त सार्वजनिक यातायातमा जोरबिजोर लगाएर सरकारले अवैज्ञानिक निर्णय गरेको जनाउँदै जोरबिजोर प्रणाली हटाउनुपर्ने बताएका छन् ।
यातायात व्यवसायीले जोरबिजोर प्रणाली हटाएर सबै प्रकारका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिनुपर्ने, लामो दूरीका सवारी साधन खुला गर्नुपर्ने माग राखेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबारदेखि लागू हुने गरी स्वास्थ्य मापदण्डको पूर्णपरिपालना गर्दै भौतिक दूरी कायम हुनेगरी कुल स्वीकृत सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराखी सवारी सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । सार्वजनिक सवारी साधन बिहान ६ः०० बजे देखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न दिइएको छ ।
यसअघि, गत साता निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिने निर्णय भएको थियो ।
सरकारले सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिने समय तोकेको थियो ।
तरकारी फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपक्षीजन्य पदार्थ, भेटनरीसम्बन्धी कार्य, इन्धन, खाना पकाउने ग्यास, सरसफाइमा प्रयोग गरिने मास्क, साबुन, सेनिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, बिउलगायतका सामग्री ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ८ बजेदेखि बिहान ११ बजेसम्म न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाउने छन् ।






