काठमाडाैं । डा. हेमन्त खतिवडाको आध्यात्मिक गीतको पुस्तक हालै प्रकाशित भएको छ। यसमा गणेश, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण र लक्ष्मीका भजनका साथमा भजन जीवन मृत्युसंग सम्बन्धित विषय छ।
कृतिमा एक सय ६ भजन संगृहित छन् । एक सय १५ पृष्ठको पुस्तकमा रहेका भजन मध्ये पचास भजन आशा भोषले, साधना सरगम, कैलाश खेर, पण्डित जसराज, कुमार सानुलगायतका गायक गायिकाले गाएका छन्।

धेरैजसो भजन क्लासिकल र सेमिक्लासिकलमा गाइएका छन् भने भजनको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका छन्। अधिकांश भजन निराशावादी नभई आशा र उत्साह जगाउने किसिमका छन्। मृत्युलाई पनि उत्सवको रूपमा चित्रण गरेर पनि भजन लेखिएका छन्। जीवनजस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजन पुस्तकमा छन्।
यसमा मानिसलाई उत्प्रेरणा जगाउने र प्रेरित गर्ने खालका जीवन दर्शनका विषय पनि समेटिएका छन्। गीतकार स्वयम् प्रकाशक रहेको भजन संग्रहको मूल्य दुई सय रुपियाँ रहेको छ। आकर्षक छपाई र राम्रो कागजमा सजिएको भजन संग्रह गीतकार डा। हेमन्त खतिवडाको पहिलो भजन संग्रह हो।
खतिवडा २०५३ सालमा संगीत साधक नातिकाजीको स्वर तथा संगीतमा मनमा काँडा बिझेपछि बोलको गीत रेकर्ड गराएर सांगितिक क्षेत्रमा प्रवेश गरेका थिए ।






