इटहरी । इटहरीमा दिउँसोको समयमै बन्धक बनाएर मानिस अपहरण गर्दै गरेको अवस्थामा तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार शुक्रबार इटहरी ८ फूलबारी टोलको प्लटिङमा २२ वर्षीय निर्मल श्रेष्ठमाथि आँखामा पट्टी बाँधेर कुटपिट समेत गदैै गरेको सूचनाका आधारमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनका अनुसार पक्राउ पर्नेमा इटहरी ७ बस्ने २५ वर्षीय सङ्गीत थापा, सोही स्थानमा बस्ने १९ वर्षीय अनिष कार्की र इटहरी ८ बस्ने २३ वर्षीय सिद्धार्थ राई रहेका छन् ।
पक्राउ परेका तीनजनाले गत बिहीबार दिउँसो १ बजेतिर इटहरी ९ बाट श्रेष्ठलाई अपहरण गर्दै नम्बर थाहा नभएको सिटी सफारीमा राखेर लगिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी केसीले जानकारी दिए । उनका अनुसार रातभर सङ्गीत थापाको कोठामा बन्धक बनाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।
शुक्रबार तीनै जनाले आँखामा पट्टी बाँधेकै अवस्थामा पैदल हिडाउँदै ल्याएर कुटपिट गरेकाले पीडित श्रेष्ठले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा जाहेरी समेत दिएका छन् । जाहेरीपश्चात पक्राउ परेका तीनैजनामाथि जिल्ला अदालत सुनसरीमा सातदिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना के कारणले भएको भन्ने’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






