राजधानी समाचारदाता काठमाडौं राजधानी न्युज पब्लिकेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक महेन्द्र शेरचनको कोरोना संक्रमणका कारण ६७ वर्षको उमेरमा निधन भएको छ ।
उनको उपचारका क्रममा नेपाल एपीएफ अस्पताल बलम्बुमा बुधबार साँझ निधन भएको हो । उनको बिहीबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।
श्रीमती नन्दा शेरचन र छोराहरू सचिन शेरचन र आशिष शेरचनले संक्षिप्त धार्मिक परम्पराअनुसार अध्यक्ष शेरचनलाई अन्तिम बिदाइ गरेका थिए । राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्षसमेत हुन् ।
हाल भने उनी मिडिया सञ्चालककै संस्था मिडिया अलायन्सको उपाध्यक्ष थिए । नेकपा एमालेकातर्फबाट संविधानसभा सदस्यसमेत भएका शेरचन हाल विज्ञापन बोर्डका सदस्यसमेत थिए । यस्तै, उनी वैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
उनको पार्थिव शरीरमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली व्यक्त गर्न एमालेका नेता प्रदीप ज्ञवालीसहितका नेताहरू आर्यघाट पुगेका थिए ।
यसैगरी, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, कांग्रेस नेता भीमसेनदास प्रधानसमेतले स्वर्गीय शेरचनप्रति आर्यघाटमा नै पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
यसैगरी, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधान, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, पत्रकार महासंघका पूर्वसचिव रामप्रसाद दाहाल, राजधानी दैनिकका पूर्वसम्पादक राजन शर्मा र डिल्ली आचार्य, पत्रकार ऋषि धमलालगायतले राजधानी न्युज पब्लिकेसनका अध्यक्ष शेरचनप्रति आर्यघाटमा नै पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
यस्तै, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, प्रवक्ता एवं नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल, नेपाल एपीएफ अस्पतालका प्रमुख एसएसपी रूपक महर्जन, सशस्त्र प्रहरीका उच्च अधिकृतहरूले अध्यक्ष शेरचनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उनीहरूले शोकसन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेका थिए । कोरोना संक्रमण पुष्टि भएपछि १९ साउनमा अध्यक्ष शेरचन उपचारका लागि नेपाल एपीएफ अस्पताल भर्ना भएको थिए ।
सभामुख र एमाले अध्यक्षले दिए श्रद्धाञ्जली !
कोरोना संक्रमति भई निधन भएका राजधानी न्युज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनप्रति प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बिहीबार बिहान उनीहरूले शेरचनप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । ‘संविधानसभा सदस्य एवं राजधानी न्युज पब्लिकेसनका अध्यक्ष शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको खबरले दुःखित बनाएको छ,’ सभामुख सापकोटाले व्यक्त गरेको श्रद्धाञ्जलीमा भनिएको छ, ‘दिवंगत शेरचनप्रति भावपूर्ण श्रद्धाञ्जली १ शोकमा रहनुभएका परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’
यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी तथा संविधानसभा सदस्य शेरचनको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन् । कोभिड संक्रमणबाट संविधानसभा सदस्य तथा राजधानी दैनिकका अध्यक्ष एवं प्रबन्ध सञ्चालक शेरचनको बुधबार साँझ निधन भएको हो ।
शेरचनको निधनले आफू निकै दुःखी भएको अध्यक्ष ओलीले शोक वक्तव्यमार्फत जनाएका छन् । ‘प्रतिष्ठित सञ्चार उद्यमी एवं संविधानसभाका सदस्य महेन्द्र शेरचनको असामयिक निधन भएको सुनेर दुःखी भएको छु,’ एमाले अध्यक्ष ओलीले शोक वक्तव्यमा भनेका छन्, ‘राजधानी दैनिकको प्रकाशकका रूपमा उहाँले लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा, खासगरी ब्रोडसिट दैनिकको व्यावसायिक प्रकाशनमा महत्वपूर्ण योगदान गर्दै आउनुभएको थियो ।
पछिल्लो समय सञ्चार उद्यमीहरूको संगठन मिडिया एलाइन्स र नेपाल सरकारद्वारा गठित विज्ञापन बोर्डको नेतृत्व तहमा रहेर उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको थियो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले वक्तव्यमा स्वर्गीय शेरचनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
‘कोभिड–१९ को महामारीमा जीवन गुमाउनु हुने उहाँ हाम्रो पार्टीका सदस्य हुनुहुन्थ्यो । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ अध्यक्ष ओलीको वक्तव्यमा भनिएको छ ।
शब्दचित्र

स्व. महेन्द्र शेरचन अध्यक्ष तथा प्रबन्ध निर्देशक राजधानी न्युज पब्लिकेसन प्रा लि जन्म २०१०-८-३ मृत्यु २०७८-५-२
अनुभवः
– उपाध्यक्षः मिडिया एलाइन्स नेपाल
– सदस्यः विज्ञापन बोर्ड
– अध्यक्षः नेपाल मिडिया सोसाइटी काठमाडांै २०५९
– अध्यक्षः न्यूनतम पारिश्रमिक तथा क्षतिपूर्ति निर्धारण समिति २०५२
– संस्थापक अध्यक्षः नेपाल वैदेशिक रोजगार व्यवसायी संघ २०४८
– अध्यक्षः साउथ इस्ट एसियन म्यानपावर एक्सपोर्ट एसोसियसन २०५१
– सल्लाहकारः नेपाल सरकार श्रम मन्त्रालय वैदेशिक रोजगार सल्लाहकार समिति २०५२
– विशेषज्ञः नेपाल सरकार श्रम मन्त्रालय वैदेशिक रोजगार सल्लाहकार समिति २०५६
– सदस्यः संविधान सभा, प्रतिनिधि सभा २०७०
– मानपदवीः प्रबल गोरखा दक्षिणबाहु २०६० सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी) २०७६ संविधान सभा पदक तथा सम्मान २०७६
– प्रमुख संरक्षकः धौलागिरी समाज नेपाल
– पारिवारिक स्थितिः श्रीमती, तीन छोरा र एक छोरी