काठमाडौं । नेपाली गीत लेखनमा पाँच दशकभन्दा लामो समयदेखि योगदान दिएका अग्रज गीतकार राजेन्द्र थापा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०७८’ बाट सम्मानित भएका छन् । उनले ‘पोहोर साल खुसी फाट्दासहित’ एक हजारभन्दा बढी गीत लेखेका छन् ।
आइतबार काठमाडौंमा सम्पन्न नवौं म्युजिक खबर म्युजिक अवार्ड समारोहमा गीतकार थापालाई ३० हजार रुपैयाँसहित आजीवन योगदान सम्मानबाट सम्मानित गरिएको हो ।
सोही समारोहमा १० हजार रुपैयाँसहित संगीत पत्रकारिता पुरस्कार पत्रकार विदुर गिरीलाई प्रदान गरियो । कार्यक्रममा गायक रामप्रसाद खनाललाई डायस्पोरा संगीत सम्मान, गायक हेमन्त शर्मा र गायिका सीता थापालाई दशकको संगीत सम्मान, अनुराधा शाह र युवराज अधिकारीलाई गीतकार सम्मान, सुमित खड्कालाई राष्ट्रिय गीत सम्मान, गायक राजु ढकाललाई युवा प्रतिभा गायक सम्मान र सफलता श्रेष्ठलाई बाल प्रतिभा गायिका सम्मानबाट सम्मानित गरियो । संस्कृतिमन्त्री प्रेमबहादुर आले मगरले सो सम्मान प्रदान गरेका हुन् ।
म्युजिक खबरद्वारा आयोजित सो समारोहमा २०७७ सालमा बजारमा आएका विभिन्न गीतसंगीत, म्यजिक भिडियोबाट ४२ विधामा अवार्ड प्रदान गरिएको छ । जसमा सगुम संगीततर्फ उत्कृष्ट गीतिसंग्रह नवीन कार्कीको ‘नवीन’, उत्कृष्ट गीत समीर आचार्य र अन्जु पन्तको ‘झम्के माया’ भएका छन् । सुगम संगीतमै गायकको अवार्ड सरोज कोइरालाले, गायिकाको अवार्ड पूर्णिमा लामाले, संगीतकारको अवार्ड राजेश थापाले, पुरुष गीतकारको अवार्ड प्रकाश पुञ्जले, महिला गीतकारको अवार्ड प्रतिमा गुरुङले, युगल गायनको अवार्ड सपना श्री र प्रेम सेन्चुरीले, स्वरांकनको अवार्ड भोला पौडेलले, संगीत संयोजनको अवार्ड मनोहर सुनामले हासिल गरेका छन् । सुगम संगीतर्फ नै म्युजिक भिडियो सम्पादनको अवार्ड प्रवीण भट्टले, छायांकनको अवार्ड नवराज उप्रेतीले, भिडियो निर्देशनको अवार्ड विज्ञान राईले, मोडल पुरुषको अवार्ड गौतम खातीले महिला मोडलको अवार्ड सुशीला थापाले र वर्षको पपुरल मोडलको अवार्ड दुर्गेश थापाले प्राप्त गरेका छन् ।
राष्ट्रिय भावको गीतको अवार्ड पारसमणि बरालले, पपतर्फ गायकको अवार्ड देव तन्डुकारले, गायिकाको अवार्ड रुचि घिमिरेले, गीतकारको अवार्ड अमर बान्तुले, संगीतकारको अवार्ड राम सिटौलाले प्राप्त गरे । यस्तै, लोकदोहोरीतर्फ संगीत संयोजन अवार्ड कृष्ण केसीले, नव प्रतिभा अवार्ड जानुका तामाङ र निकेश तामाङले, मिक्सिङको अवार्ड मानबहादुर बरालले, गीत रचनाको अवार्ड रविन लामिछानेले, भाकाको अवार्ड धरोधर्मबाट श्रीकृष्ण बम मल्लले प्राप्त गरे । लोक दोहोरीमै गायकको अवार्ड शिव संगीतले, गायिकाको अवार्ड कला लम्सालले, लोक दोहोरी भिडियोतर्फ पुरुष मोडलको अवार्ड रमेश थापाले, महिला मोडलको अवार्ड सञ्चिता शाहीले, भिडियो निर्देशक अवार्ड दीप कोके गुरुङले प्राप्त गरे ।
लोकगीत तर्फ गायकको अवार्ड सन्तु थापाले, गायिकाको अवार्ड तारा श्रीषले, संगीतकारको अवार्ड दीपसागर थापाले, सर्वोत्कृष्ट लोकगीतको अवार्ड ‘पाटनैको पातलो चिउरा’बाट तुलसी पराजुलीले, लोक दोहोरी गीतको अवार्ड नैना रेशमबाट सूर्य खडका र दुर्गा सापकोटाले, काँठेगीतको विक्रमजंग शाह र सृजु अधिकारीले, पूर्वेली गीतको अवार्ड एनी होबाट शम्भु राई र अन्जु गौतमले देउडा गीत गायकको अवार्ड जोसेफ शाही ठकुरी र गायिकाको अवार्ड लक्ष्मी आचार्यले प्राप्त गरे ।
सोही कार्यक्रममा चलचित्रतर्फ संगीतकारको अवार्ड सुरेश अधिकारीले, गीतकारको अवार्ड लोकराज अधिकारीले, गायकको अवार्ड ध्रुव विस्को र गायिकाको अवार्ड सहिमा श्रेष्ठले प्राप्त गरे । सर्वोत्कृष्ट गजलको अवार्ड चन्द्र प्रसार्इं परिष्कृतले हासिल गरे ।
कार्यक्रममा जुरी अवार्ड देविका वन्दना, कौसलराज खड्का, डेनी निरौला र विमल डाँगीलाई प्रदान गरियो । नूतन भुसालले डायस्पोरा अवार्ड प्राप्त गरिन् ।