जुम्ला । कर्णाली राजमार्गबाट १ घण्टाको उकालो यात्रापछि भेटिन्छ, जुम्लास्थित तिला–२ को लर्मी गाउँ । यो त्यही गाउँ हो, जुन गाउँले एक दशकअघिसम्म आफ्नो पहिचान खोजिरहेको थियो । वरिपरि भीर, बीचमा खेतीयोग्य जमिनसहितको चौर अनि सिरानमा गाउँ । खासै उब्जनी नहुने पाखोबारी । व्याप्त गरिबी, अशिक्षा र अन्धविश्वासले ग्रस्त ।
यो गाउँका स्थानीय विगतमा आफ्नो उन्नत्ति नहुनुको कारण आफ्नै भाग्यलाई दोष दिन्थे । गाउँलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर बेलाबेला छलफल र बहस गर्थे । तर, जवाफ प्रश्नको गर्भमै थियो ।
८० घरधुरीको लर्मी गाउँका केही घरमा भेडापालन गरिएको थियो भने अन्य घरमा खेतीपाती गरिन्थ्यो । वर्षभरिको उब्जनीले ६ महिनासमेत खान नपुग्ने भएपछि विकल्पको खोजी गर्न थाले, गाउँलेहरू ।
त्यही विकल्पको खोजी गर्ने क्रममा हिजो अभाव, दुःख र कष्टको पर्याय बनेको लर्मी गाउँ अहिले समृद्ध बन्दै छ । आज समय फेरिएको छ, फरकपनको ऐनामा लर्मीको आत्मनिर्भरको चित्र देखिएको छ ।
सानैदेखि भेडापालनमा लागेर अनुभव संगालेकी स्थानीय दामा रावत राडीपाखी बुन्ने सिप विस्तार गर्ने गाउँकै गुरु थिइन् । सिपकी धनी उनले पढ्न लेख्न भने पाइनन् । उनलाई आफ्नो जन्ममितिसमेत थाहा छैन ।
सायद युरोप र अमेरिकामा उनीसँगै पाइला टेकेका शिशुले अत्याधुनिक नर्सिङ होमको सेवा उपभोग ग¥यो होला, उनले सुडेनी पाइन् । घाँस दाउराको भारी बोक्दाबोक्दै जन्मेका धेरै छन्, यो गाउँमा । एक पुस्ता अघिसम्म कर्णालीमा जन्मने सन्तानको जन्ममिति पहिरो गएको, आगो लागेको वा प्राकृतिक विपद्ले सताएको वर्षसँग जोडेर मापन गरिन्थ्यो ।
बिस्तारै गाउँलेले बुनेका राडिपाखीले बजार पाउँदै गयो । भेडाबाख्राको मूल्य पनि बढ्यो । उनले गाउँका अन्य महिलालाई भेडापालनबाट आत्मनिर्भर बन्न सकिने उपाय सिकाउन थालिन् । आफ्नो पहिचान खोजिरहेको यो गाउँ अहिले भेडी गोठालाहरूको गाउँका रूपमा परिचित छ । भेंडापालन र राडीपाखी बुन्न अरूले पनि सिको गर्न थाले । आफ्नै भाग्यलाई दोष दिने एउटा परम्परा भत्कियो । भाग्यवादी सामाजिक चिन्तन बदलिएर समाज र व्यक्तिको भूमिकामा विश्वास गर्ने भएको छ । पसिनाको मसीले भविष्य कोरिन्छ भन्ने सत्यलाई पछ्याइरहेको गाउँ हो, लर्मी ।
अहिले घरघरमा राडिपाखी बुनिरहेका भेटिन्छन्, स्थानीयहरू । हिउँदको समयमा हिँउका कारण घरबाहिरका काम थाती राखिन्छ, जुम्लाका मानिसहरू फुर्सदिला हुन्छन् तर लर्मी गाउँका स्थानीयलाई राडिपाखी बुन्न भ्याइनभ्याइ छ ।
‘कसले कति कमायो भनेर महिनौं चर्चा हुन्छ, यसले गाउँलेलाई आम्दानीको भोग बढाउँछ, उत्साह पनि थप्छ,’ स्थानीय दामा रावतले भनिन् ।
गफिँदै, हिँड्दै गर्दा पनि उनबाट धागो बनाउन सकिन्छ । अधिकांश घरमा भेडापालन गरिएको छ । गफिँदै, हिँड्दै गर्दा पनि उनबाट धागो बनाउन सकिन्छ । भेडाको उनबाट राडीपाखी, लिउ, फेरुवा, टोपी, स्विटर, बनाउनेहरू बढेका छन् ।
स्थानीय धान्य रावतले माघ महिनामा मात्रै राडिपाखी बेचेर ५० हजार रुपैयाँ आम्दानी गरेका छन् । उनी पुनः बिक्री गर्न जाने तयारी गरिरहेका छन् ।
‘स्वास्थ्यका दृष्टिले राडीपाखी ओढ्नु लाभदायक हुने हुँदा यसको विज्ञापन गर्नु पर्दैन, सहजै बिक्री हुन्छ, जिल्लाभित्र न्यूनतमप्रति राडिपाखीको ४ हजार रुपैयाँ मूल्य छ, अन्य जिल्लामा ५ हजारमा बिक्री हुन्छ,’ उनले भने ।
‘आर्थिक विपन्नतामा बाँचिरहेका अभिभावकबाट सुविधाको माग गर्नु अप्ठ्यारो लाग्थ्यो, अहिले ढुक्कसँग पढ्न पाइएको छ,’ छात्र वसन्त रावतले भने ।
‘नांगो खुट्टा स्कुल गएको इतिहास पनि छ तर अहिले घरमा भेंडापालनका कारण आर्थिक अभाव छैन,’ उनले भने ।
जुम्लामा नेपालकै सबैभन्दा बढी भेडाको संख्या रहेको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए । उनका नुसार जुम्लामा ८० हजारको हाराहारीमा भेडाको संख्या छ । भेडा र राडीपाखीबाट दोहोरो आम्दानी हुने भन्दै स्थानीय पिउसी रावतले भेडापालनमा जोडिन अन्य किसानलाई सुझाउँदै भनिन्, ‘प्रतिकिलो ५ सय रुपैयाँ तिरेर किन किन्नुप¥यो कुखुराको मासु ? अव घरघरमा भेडाबाख्रा पाल्नुप¥यो अनि पेस गर्नुप-यो हामी गरिब होइनौं भन्ने प्रमाण ।’