काठमाडौं । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलले स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दलको अवस्था बुझ्न प्रदेश, जिल्ला र स्थानीय तहमा संयुक्त संयन्त्र बनाउने निर्णय गरेका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको हो । बैठकले गठबन्धनबाहेकका दलसँग भने तालमेल नगर्ने निर्णय गरेको छ ।
– स्थानीय तहसम्म नै संयन्त्र बनाइने
– गठबन्धन बाहिरका दलसँग तालमेल निषेध
गठबन्धन बैठकले प्रदेश, जिल्ला र स्थानीय तहसम्म नै तालमेल गर्ने विषयमा निर्णय गर्न स्थानीय तहसम्म नै पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता एवं सरकारका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘तालमेलका लागि प्रदेश, जिल्ला र पालिकास्तरीय समिति बनाउने सहमति भएको छ, त्यो समितिले २२ चैतभित्रमा प्रदेश, जिल्ला र स्थानीय तहमा गठबन्धनको अवस्था’bout प्रतिवेदन दिन्छ, सो प्रतिवेदनका आधारमा कहाँ कसरी तालमेल गर्ने भन्ने’bout निर्णय हुन्छ,’ सरकारका प्रवक्ता मन्त्री कार्कीले बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।
गठबन्धन बैठकको सुरुमै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारूढ दलहरू मिलेर चुनावमा अघि बढ्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले सहमति जनाएका हुन् ।
सरकारको नेतृत्वकर्ता दल कांग्रेसले गत मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकबाटै स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।
बैठकले महानगरपालिकाको उम्मेदवार’bout केन्द्रबाटै टुंगो लगाउने निर्णयसमेत गरेको छ । बैठकमा सहभागी नेकपा एसका नेता झलनाथ खनालले देशका ६ महानगरको उम्मेदवारको टुंगो केन्द्रबाट नै टुंगाइने सहमति भएको जानकारी दिएका हुन् ।
यस्तै, अन्य तहका उम्मेदवार’bout टुंगो लगाउन तल्ला तहलाई नै अधिकार दिने निर्णय पनि बैठकले गरेको उनले भनेका छन् । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।