काठमाडौं । एक समयका व्यस्त अभिनेता आर्यन सिग्देल र अभिनेत्री पुजा शर्माको हातमा आजकाल फिल्म छैन । उनीहरु म्युजिक भिडियोमा केन्द्रित छन् । यसै क्रममा उनीहरुले म्युजिक भिडियोमै फिल्मी शैलीमा काम गरिरहेका छन् ।
यस्तै यी दुईले फिल्मी शैलीमा काम गरेको गीत मायालु आभाष…को भिडियो शनिबार रिलिज भएको छ । रबि मल्लको शब्द तथा संगीत रहेको यस गीतमा प्रताप दास र अनु ढकालको स्वर रहेको छ । गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन् ।
निर्देशक विधान कार्कीले यस भिडियोमा फिल्मी शैलिमा कथा भनेका छन् । अष्ट्रेलिया र नेपालमा सक्रिय ’नेपमेलो’ले यो गीत तयार पारेको हो । यो गीतको भिडियोमा हरि हुमागाईंले छायांकन गरेको यस भिडियोका सम्पादक बिकाश दाहाल हुन् ।
निर्देशक कार्कीले केहि फरक शैलीमा कथा भन्ने प्रयास गरेको बताए । उनले भने, ’चलचित्रका कलाकारहरुलाई म्यूजिक भिडियोमा अभिनय गराउन सजिलो छैन । चलचित्रको ठुलो क्यानभासमा काम गरेका कलाकारको लागि म्यूजिक भिडियोमा पनि कथा भन्ने शैली बदल्नुपर्ने हुन्छ । सोहि प्रयास गरेको छु’ ।