हत्याका आरोपी गुण्डा नाइके सँग गोप्य भेटगरेपछि हटाइए जिम्मेवारीबाट
काठमाडौं । प्रहरी वृत्त स्वयम्भूका डीएसपी मिलन केसीलाई गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई केन्द्रीय कारागारमै पुगेर भेटेको आरोपमा जिम्मेवारीबाट हटाइएको छ । बहालावाला डिएसपी केसीले हत्याका आरोपी र गुण्डा नाइकेसँग कारागारमै गएर भेट्नुले डिएसपी केसी आफै पनि अवैध कार्यमा संलग्न रहेको देखाउँछ । केसीले स्वयम्भुमा प्रहरी प्रमुखको रुपमा रहदा खराब व्यवसायीबाट हप्ता उठाउदै असल र राम्रा व्यवसायीलाई दुख दिने गरेको आरोप लाग्दै आइरहेको थियो ।
डिएसपी केसीले भेटेका बस्नेत निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेकोे आरोपमा पुर्पक्षका लागि कारागारमा छन् । साढे २ करोड रुपैयाँ कमिसन नदिएपछि गौचनको हत्या भएको खुलेको थियो ।
उनै गुण्डा नाइकेलाई गोप्य रुपमा भेटेको सूचनापछि केसीलाई स्वयम्भू वृत्तको प्रमुखबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको छ । अपराधिक र अवैध कार्यमा संलग्न केसीलाई वर्खास्त गर्नुपर्ने माग स्वयम्भूवासीको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले केसीलाई जिम्मेवारीबाट हटाइएका हुन् ।
गत आइतबार सरकारी बिदाका दिन स्वयम्भूका डीएसपी केसीले गुण्डा नाइके बस्नेतलाई बिना जानकारी कारागारमा नै पुगेर भेटेको सुचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन प्रक्रिया अघि बढाएको थियो ।
परिसरका प्रमुखसमेत रहेका एसएसपी सुदीप गिरीका अनुसार एसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
समितिले छानबिन गरेर प्रतिवेदन पेस गरेपछि दोषी देखिए कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।
२३ असोज २०७४ मा साढे दुई करोड रुपैयाँ नदिएको भन्दै बस्नेतकै निर्देशनमा काठमाडौंको शान्तिनगर, खरीबोटमा गौचनको गोली हानी हत्या गरिएको थियो । १७ मंसिर २०७४ मा बस्नेत पक्राउ परेका थिए ।
डीएसपी केसी अर्का विवादास्पद व्यक्ति अमृत केसीलाई लिएर कारागार पुगेका बताइन्छ । कारागारमा डीएसपी केसीले बस्नेतसगको भेटमा के विषयमा कुराकनी गरे भन्ने खुलेको छैन ।
कारागारमा रहँदासमेत बस्नेतले अपराधिक गतिविधि संचालन गर्ने गरेको अरोप लाग्ने गरेको छ । केही समयअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका भई नरेश थापालाईसमेत प्रयोग गरेर बस्नेतले जेलभित्रबाटै आपराधिक धन्दा संचालन गरेको आरोप लागेको थियो ।
त्यसबखत केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गृहमन्त्री थापाका भाइ थापासहित ८ जनालाईसमेत पक्राउ गरेर कारवाही अघि बढाएको थियो ।






