दोलखा । गठबन्धनका साझा उम्मेदवारहरुले मंसिर ४ मा दोलखाली जनताले इतिहास रच्ने बताएका छन् । राजधानीमा भएको गठबन्धनको संयुक्त कार्यक्रमलाई सम्वोधन गर्दै उनीहरुले दोलखाको भाग्य र भविष्य नै गठबन्धन उम्मेदवारसँग जोडिएको दावी गर्दै गठबन्धनलाई जिताउन आह्वान समेत गरे ।
एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका गंगा कार्कीले एमालेको ३० वर्षे विरासत यसपटक तोड्ने उद्घोष गरे । उनले भने, ‘गठबन्धनको विजयी पश्चात जिल्लामा विकासको मुहान फुट्नेछ । नबनेका सडकहरुको स्तरोन्नतीसँगै पिचको काम अगाडि बढाइनेछ ।’
प्रदेश सभा ‘क’का उम्मेदवार तथा कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जनतालाई झुक्याएर एमालेले राज गरेको दोलखामा मंसिर ४ पछि कांग्रेसको विजयसँगै दोलखा कांग्रेसमय हुने दाबी गरे । काफ्लेले भने, ‘एमालेले वर्षौँदेखि दोलखाका नदीनाला दोहनदेखि जडिबुटि तस्करसम्मको हिसाब किताब जनताले खोज्ने बेला आएको छ । सोझासाझा जनतालाई सधैं झुक्याउने एमालेलाई आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट एमालेलाई जनताले तिरस्कृत गर्नेमा कुनै शंका छैन ।’
ऐतिहासिक जिरि बजारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नसकेको भन्दै काफ्लेले विकासमा दोलखा धेरैपछि पर्नुमा एमाले प्रमुख कारक रहेको दाबी गरे ।
जिल्ला पार्टी सभापति समेत रहनुभएका प्रदेश ‘ख’ का उम्मेदवार बर्मा लामाले एमालेसँग दोलखामा भोट माग्ने एजेन्डा समेत नभएको बताए । विगतका निर्वाचनहरुमा जनताले पटक–पटक अनुमोदन गरेर पठाउँदा पनि काम गर्न नसकेको बताउँदै दोलखालीसँग एमाले उम्मेदवारहरु डराइरहेको बताए । उनले कांग्रेस सांसद जिपछिरिङ लामाले निर्माण गरेको चरिकोट जिरि सडकदेखि अपर तामाकोशी लगायत ठुला जलविद्युत आयोजनाको जन्मदाता नेपाली कांग्रेसका स्व नेता भिमबहादुर तामाङ भएको दाबी गरे । उनले एमालेले अपर तामाकोशीलाई मागि खाने भाँडो बनाएको आरोप लगाए ।
लामाले शैलुङ, कालिञ्चोक र ऐतिहासिक दोलखा बजारलाई जिल्लाको पर्यटकीय गन्तव्यको रुपमा थप विकासका लागि अब दोलखामा गठबन्धनको विकल्प नभएको जिकिर गरे ।