राप्रपा घोषणापत्रः दुई तहको सरकार, प्रदेश खारेज गर्ने

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा ल्याउने तथा प्रदेश संरचना खारेज गर्ने चुनावी एजेन्डासहितको घोषणापत्र ल्याएको छ ।

राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रूपमा राजसंस्थालाई राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको परिकल्पना छ । राप्रपाले आफ्नो चुनावी एजेन्डामा प्रदेश तहको संरचना खारेज गर्ने नीतिसमेत अघि बढाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र सार्वजनिक गर्दै पूर्ण समानुपातिक संसद् राप्रपाको एजेन्डा रहने उद्घोष गरे । उनले प्रदेश तहको संरचनालाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह मात्रै रहने गरी दुई तहको शासकीय स्वरूप राप्रपाको आगामी नीति रहने बताए ।

– प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित

– २०४६ पछिका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन

घोषणापत्रमार्फत राप्रपाले राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि मुलुकमा सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको नीति घोषणापत्रमार्फत अघि बढाएको छ ।

यसैगरी, बृहत् राष्ट्रिय एकता, आर्थिक उदारीकरण र कल्याणकारी राज्यलाई राप्रपाले आफ्नो दलको आधार स्तम्भ भनेको छ ।

राप्रपाले घोषणापत्रमा एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्रीजस्ता कार्यकारी पदमा बस्न नपाउनेगरी नीति लिने उद्घोष गरेको छ भने २०४६ पछिका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने योजना पनि अघि सारेको छ । सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ । त्यसरी सम्पत्ति छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्ने घोषणापत्रमा भनिएको छ ।

घोषणापत्रमार्फत राप्रपाले नेपाल बन्द कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने सत्ता केन्द्रित राजनीति नगर्ने भन्दै राप्रपाले आफ्ना प्राथमिकताका मुद्दा स्थापना गर्नतर्फ केन्द्रित हुने घोषणापत्रमा उल्लेख गरेको छ ।

यसैगरी, आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क गर्ने, सबै नागरिकलाई बिमाको दायरामा ल्याउने र सबै बिमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गर्ने राप्रपाको घोषणापत्रमा भनिएको छ । समयक्रममा सबै स्वास्थ्य सेवा निःशुल्क गर्ने राप्रपाले घोषणापत्रमा उल्लेख छ ।

ज्येष्ठ तथा अशक्त नागरिकको घर दैलोमा स्वास्थ्य सेवा पु-याउने, प्रत्येक वडामा सुरक्षित प्रसूति सेवा दिने, न्यून आय भएका परिवारका सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिने, क्यान्सर, मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित नागरिकका लागि मासिक स्वास्थ्य भत्ताको व्यवस्थालाई सदृढ बनाउने राप्रपाले घोषणापत्रमा भनेको छ ।

यसैगरी, वडा स्वास्थ्य केन्द्रमार्फत वडाका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने, घोषणापत्रमा सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडलाई सुदृढ बनाई अत्याश्यकीय औषधिको गुणस्तरीय उत्पादन गर्ने राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

यस्तै, प्रत्येक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप दिने, आयुर्वेद, प्राकृतिक योग तथा अन्य चिकित्सा पद्धतिको विकास र विस्तार गर्ने पनि राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

यसैगरी, किसानको खेतखेतमा बिजुली व्यवस्था मिलाउने प्रतिबद्धता पनि राप्रपाले घोषणापत्रमा गरेको छ । ‘कृषि तथा पशु, खाद्यान्न सुरक्षा’ शीर्षकअन्तर्गत किसानको खेतखेतमा बिजुली व्यवस्था मिलाउने प्रतिबद्धता राप्रपाले घोषणापत्रमार्फत गरेको हो । कृषि कार्यका लागि खपत भएको विद्युत् महसुलमा अनुदान दिने पनि राप्रपाले भनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९