बर्दीको आवरणमा सशस्त्रका एआईजी गौतमले केसम्म गरेनन् ?

काठमाडौं । सशस्त्र प्रहरी बलको १२ नम्बर गणका तत्कालीन गणपति रविनराज कर्णजितले एक दिन आफ्नो क्षेत्रबाट हुन्डी कारोबारीबाट २ अर्ब रुपैयाँ बरामद गरे । यति ठुलो रकम बरामद भएपछि उनले तत्कालै आफ्नो ‘चेन’मा जाहेर गरे । उनले जाहेर गरेको ठाउँ थियो बर्दिबासस्थित सशस्त्र प्रहरी बलको नम्बर २ बाहिनीको कार्यालय । र, मधेस प्रदेशका आठवटा गण हेर्ने सो कार्यालयका बाहिनीपति थिए सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम ।

गणपति कर्णजीतको ‘लोभलाग्दो’ जाहेरीपछि उनले कर्णजीतलाई ती हुन्डी कारोबारीलाई जसरी पनि होल्ड गरिराख्न निर्देशन दिए । र, नम्बर ९ गण महोत्तरीका तत्कालीन गणपति सुरेश सापकोटालाई तत्कालै सम्पर्क गरी गणको गाडी आवश्यक सुरक्षा व्यवस्थासहित बारा पठाउन निर्देशन दिए । योभन्दा बढी उनले गणपति सापकोटालाई केही भनेनन् ।

बारा जान लागेको गाडीमा बाहिनीपति गौतमले एक जना ‘पब्लिक’ राखे । आफू भने बाहिनी कार्यालयमै बसे । बाहिनीपति गौतमले नम्बर ९ गणको गाडीमा बारा पठाएका व्यक्ति थिए, मनोज मिश्र कानठाडा । बिचौलियाका रूपमा काम गर्दै आएका महोत्तरीका कानठाडा गौतमको अत्यन्तै नजिकका विश्वास पात्र थिए, जसले उनलाई आफूले पाएको तस्करीको सूचना दिन्थे । उनको सूचना नै गौतमको कमाइ खाने भाँडो बनेको थियो ।

कानठाडा बारा पुगेपछि १२ नम्बर गणका तत्कालीन गणपति कर्णजीतले ‘होल्ड’ गरी राखेका हुन्डी कारोबारीसँग गोप्य रूपमा ‘डिल’ गरे । डिल गर्ने क्रममा बाराका गणपति कर्णजीतलाई अगाडिसमेत राखेनन् । सहमतिअनुसार बरामद भएको २ अर्बमध्ये १ अर्ब ६० करोड हुन्डी कारोबारीलाई नै फिर्ता दिइयो र ४० करोड रुपैयाँ कानठाडाले आफूले लिएर गएको महोत्तरी गणको गाडीमा ल्याएर बाहिनीपति गौतमलाई बुझाए । यो काम गरेवापत् गौतमले कानडाठालाई ५ लाख रुपैयाँ इनाम दिए । यो कुरा कानठाडा आफंैले आफ्ना नजिकका साथीभाइलाई सेयर गरेपछि गौतमको राज्यमाथिकै गम्भीर अपराध बाहिरिएको हो ।

बर्दीको नाममा राज्यमाथि यस्तो गम्भीर अपराध गरेका गौतम अहिले सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । असोजदेखि सशस्त्र प्रहरी बलको मानवस्रोत विभाग प्रमुखका रूपमा आएका भ्रष्ट आचरणका यिनै एआईजी गौतम अहिले आफूलाई भ्रष्टाचारविरोधी अधिकृतका रूपमा प्रस्तुत गरिरहेका छन् ।

एआईजी गौतमको व्यहारले संगठन सुधारका लागि डटेर काम गरिरहेका महानिरीक्षक अर्याल नै ‘फेलियर’ हुने त होइन भन्ने चिन्ता पनि बढ्न थालेको सशस्त्रका अधिकृतहरू चिन्ता व्यक्त गर्छन्

सशस्त्र प्रहरी संगठनले लिएको ‘भ्रष्टाचारविरुद्ध’को शून्य सहनशिलता’ नीतिका नाममा उनी आफ्नो विगत बिर्सेर विभिन्न कार्यालयमा रहेका कमान्डरमाथि कारबाहीको डन्डा चलाउन उद्धत छन् । उनले हालसम्म झन्डै दर्जन कमान्डरमाथि कारबाहीको डन्डा चलाइसकेका छन् ।

पेसाको सिलसिलामा विभिन्न कालखण्डमा हालको मधेस प्रदेशमै रहेर काम गरेका गौतमको त्यस क्षेत्रका व्यापारी, तस्कर, बिचौलियासँग राम्रो उठबस रहेको कुरा सशस्त्र प्रहरीका प्रायः अधिकृतलाई जानकारी छ । आफ्नो कार्यकालमा लुटधन्दा मच्चाएका उनी अहिले तिनै व्यापारी, तस्कर, बिचौलिया र सूचना संकलनका नाममा विगतमा खटाइएका सशस्त्र प्रहरीका घुमुवाले भनेको भरमा त्यहाँ खटिएका कमान्डरमाथि धावा बोल्ने गरिरहेका छन् ।

तस्करी गराएको आरोपमा उनले कमान्डर परिवर्तन गरिएको बताए पनि त्यसको ठोस आधार र पुष्टि गर्ने प्रमाण उनले दिन सकेका छैनन् । उनको यस्तो व्यवहारले आफूहरूको मानमर्दन र बेइज्जत भएको भन्दै कतिपयले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालनिकट रहेका अधिकृतलाई गुनासोसमेत गरेका छन् । त्यसो त केही अधिकृतले त आफ्नो कालो विगत बिर्सेर पदको आडमा आफूहरूमाथि कारबाहीको डन्डा नचलाउन पनि उनलाई चेतावनी दिन थालेका छन् ।

बर्दीको आडमा अकुत सम्पत्ति कमाएका एआईजी गौतमले आफ्नो स्वार्थअनुसार कमान्डबाट फिर्ता बोलाइएका एक जना सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र भट्टले उनलाई टेलिफोन नै गरी आफूमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिएको विषय अहिले सशस्त्र मुख्यालयमा चर्चाको विषय बनेको छ । सशस्त्र प्रहरी निरीक्षक भट्टले उनलाई तस्कर तपाईं कि म, जाऊँ पशुपतिमा कसम खान भनेको विषयले मुख्यालयमा चर्चा पाएको हो । उनले आफूलाई कमान्डबाट फिर्ता बोलाए पनि त्यसपछिको कारबाही गरेर देखाउन पनि गौतमलाई चुनौती दिइरहेका छन् ।

कार्य विभागबाट सरुवा भएर मानवस्रोत विभाग पुगेपछि उनले गरेका विवादास्पद निर्णय र काम गराइ, अनि हेपाहा प्रवृत्तिले सशस्त्रका अधिकृत उनीदेखि रुष्ट बन्न थालेका छन् । मानवस्रोत विभागमा आएपछि उनले चालेका हरेक कदम विवादास्पद देखिएका छन् । चाहे, काज सरुवालाई व्यवस्थित बनाउन ल्याइएको नियम होस् वा युनिट सरुवा, यसको समर्थन गर्ने भन्दा विरोध गर्नेको संख्या अहिले बढ्दै गएको देखिन्छ । कुनै तयारीबिना र समय नतोकी युनिट सरुवा गरिएको भन्दै एआईजीहरू नै उनको विपक्षमा उभिएका छन् । यसले कालान्तरमा नराम्रो नतिजा ल्याउने भन्दै उच्चपदस्थ सशस्त्र अधिकारीहरूले महानिरीक्षक अर्यालको ध्यानाकर्षणसमेत गराएका छन् ।

मानवस्रोत विभागमा आएपछि एआईजी गौतममाथि उनीभन्दा अघिका मानवस्रोत विभाग प्रमुख नारायणदत्त पौडेलले बनाएको पारदर्शी नियमलाई समेत कुल्चिँदै मनपरी गर्न थालेको र महानिरीक्षक अर्याललाई समेत जानकारी नदिई आफूखुसी काम गर्ने गरेको आरोप लागेको छ । उनको व्यहारले संगठन सुधारका लागि डटेर काम गरिरहेका महानिरीक्षक अर्याल नै ‘फेलियर’ हुने त होइन भन्ने चिन्ता पनि बढ्न थालेको सशस्त्रका केही अधिकृत बताउँछन् ।

गौतमले अहिले मानवस्रोत विभाग प्रमुख भएपछि विभिन्न गण, गु्ल्म र बीओपीमा कार्यरत कमान्डरहरूलाई तस्करी नियन्त्रण गर्न नसकेको, संगठनको जिम्मेवारीअनुरूप काम नगरेको आरोप लगाई फिर्ता बोलाउने, मानमर्दन गर्ने कार्य गरिरहे पनि विगतमा उनी आफैंले गुल्मपति, गणपति र बाहिनीपति हुँदा यस्ता कार्य गरेका थिए ।

२०६६ सालमा सर्लाहीको सीमा सुरक्षा कार्यालय प्रमुख हुँदा कार्यालय सञ्चालनका लागि आएको रकममा उनले जसरी ब्रम्हलुट गरेका थिए, त्यो धेरैले बिर्सेका छैनन् । २०६६ माघमा सुरक्षा योजना लागुु हुनुभन्दा पहिला सर्लाही सीमा सुरक्षा कार्यालय मातहत जम्मा दुईवटा बेस थियो मनुष्मारा र सुन्दरपुर । हरिओन, धरहरा र सागरनाथ भने तत्कालीन छिन्नमस्ता गण मातहत थियो । सुरक्षा योजना लागू भएपछि सर्लाहीमा संग्रामपुर, त्रिभुवननगर, खुटौना, सिमरा, मधुवनी, छटौना गरी ६ वटा बीओपी बस्यो । यस्तै फरदवाहमा पनि अर्काे बेस बस्यो । यी सबै काम दुई÷तीन दिनको अन्तरमा भएको थियो ।

त्यसबेला, एउटा बीओपी स्थापनाका लागि मासिक ९० हजार रुपैयाँ तिर्नेगरी भाडामा दुईवटा गाडी, मासिक ६ सय लिटर इन्धन, प्रतिबीओपी भाँडावर्तनका लागि ५० हजार रुपैयाँ, मासिक कार्यालय खर्च ३० हजार रुपैयाँ पठाइएको थियो । यसबाहेक अन्य भैपरी खर्च पनि पठाइएको थियो ।

त्यसबेला, ती बीओपीमा बसेका सशस्त्र प्रहरी निरीक्षकका अनुसार, केन्द्रबाट पठाइएको रकम कुनै पनि बीओपीमा पुगेन । तत्कालीन गणपति गौतमले सबै रकम पचाए । त्यो बेला यस्तोसम्म स्थिति बन्यो कि केन्द्रले दुईवटा गाडी भाडामा लिएर चलाउन भनेपनि रकम अभावमा कतिपय बीओपीले एउटा मात्र गाडी लिए । योभन्दा निर्लज्ज काम त बीओपीपतिले कार्यालय सञ्चालनका लागि तस्करहरूको सहयोग लिनुपर्ने अवस्था आयो । योभन्दा गैरजिम्मेवार काम त बीओपीपतिहरूले नै तस्करबाट उठाएको रकममा पनि गौतमले आँखा लगाउने काम गरे र उनलाई मासिक रूपमा बुझाउनुपर्ने अवस्था बन्यो ।

त्यसबेला आफूलाई सहयोग गर्ने बीओपीपतिले जस्तोसुकै तस्करीको धन्दा चलाए पनि चुप लागेर बस्ने र मासिक रूपमा रकम बुझाउन नसक्नेलाई दुःख दिनुसम्म दिने गरेको भुक्तभोगीहरू बताउँछन् । त्यसबेला इन्सपेक्टर रहेका र हाल डीएसपीमा कार्यरत श्याममणि ढकाललाई उनले तस्करहरूबाट रकम उठाउन परिचालन गरेका थिए ।

उनी बाँकेको त्रिपुरा गण, सप्तरीको दन्तकाली गण पनि बसेका थिए । कोहलपुरमा रहेको तत्कालीन त्रिपुरा गणको गणपति हुँदा उनको कार्य सम्पादन राम्रो नदेखिएपछि सुर्खेतस्थित तत्कालीन बाहिनीपतिले गणका जवानदेखि जुनयिर अधिकृतलाई अन्यत्र कार्यालय पठाएका थिए । यी कार्यालयमा बस्दा पनि घुमुवा परिचालन गरी रकम उठाएको, मासिकरूपमा रकम नदिनेहरूलाई दुःख दिने गरेको आरोप पनि उनीमाथि छ ।

त्यसो त कपिलवस्तुमा डीएसपी हुँदा तस्करलाई समातेर एसएलआर देखाइ ठूलै रकम असुलेको आरोप पनि उनीमाथि छ ।

एसएसपीमा बढुवा भएपछि भने अधिकाँश समय उनले यूएन मातहत रहेर काम गरे । एक वर्षको लागि त्यहाँ गएका उनले शक्तिकेन्द्रलाई रिझाउँदै चार वर्ष काम गरे । तर, त्यहाँ काम गरेर फर्किएपछि सशस्त्र प्रहरीको कल्याणकारी कोषलाई जति रकम बुझाउनु पर्ने हो, बुझाएनन् । यसमा उनले फेक डकुमेन्टको सहारा लिएको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षकमा बढुवा भएपछि नौ नम्बर पशुपति बाहिनीको बाहिनीपति हुँदा उनले मातहतका कमान्डरलाई आफूलाई रकम नबुझाएको भनी दिएको सास्ती र रासन घोटालाको विषय त्यसबेला चर्चाको विषय बनेको थियो । उनी ९ नम्बर बाहिनीपति हुँदा कोभिड १९ सुरु भयो । त्यसबेला, सशस्त्र प्रहरी संगठनले नै थोरै जनशक्ति मात्र कार्यालयमा राखेर काम गर्ने नीति अख्तियार गरेको थियो । त्यसपछि उनको ध्यान रासनतर्फ गयो । उनले त्यसबेला रासनमा अनियमितता गरेको भन्दै उजुरीसमेत परेको थियो । सो उजुरीउपर छानबिन हुने भएपछि शक्तिकेन्द्र गुहारेर मिलाएको आरोप पनि उनीमाथि छ ।

९ नम्बर बाहिनीपति हुँदा उनले नम्बर २० गणका तत्कालीन गणपति विशेश्वर थापालाई आफूलाई मासिक रूपमा रकम नदिएको भन्दै दुःख दिनुसम्म दिएका थिए । दुःख दिने नियतले तत्कालीन बाहिनीपति गौतम बिहान ६ बजै नै पीटी हाजिर लिन सिनामंगलस्थित थापा कार्यरत रहेको गणमा पुग्थे । यस्तै, राति १० बजे गएर टोली सामेल गर्न निर्देशन दिन्थे ।

९ नम्बर बाहिनीबाट उनको सरुवा नम्बर २ बाहिनीमा भएको थियो । राशन काण्डकै छानबिनका कारण उनी अन्य बाहिनीपतिहरू सरुवा भएको ठाउँमा गइसक्दा उनी भने १५ दिनपछि मात्रै पुगेका थिए ।

उनले २ नम्बर बाहिनीको बाहिनीपति हुँदा देवदिया बीओपीका तत्कालीन बीओपीपति राजकुमार पण्डितलाई तस्करी गर्न छुट दिएको चर्चा पनि त्यसबेला चलेको थियो । त्यसबेला पण्डितले मासिक पाँच लाख रुपैयाँसम्म संकलन गरेको र सो रकमको ठुलो हिस्सा गौतमलाई दिने गरेको स्रोतको दाबी छ । गौतम सर्लाहीको सीमा सुरक्षा कार्यालयको प्रमुख हुँदा पण्डित क्वार्टर मास्टर र घुमुवासमेत थिए ।

पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षक हुँदा उनको कार्यकालको अन्तिम क्षणमा ३० बर्से सेवा अवधि हटाउने ठुलै कसरत भएको थियो । महानिरीक्षक केसी र यिनै गौतम ३० बर्से हटाउन सक्रिय रूपमा लागेका थिए । ३० वर्ष हटाउँदा केसी थप दुई वर्ष महानिरीक्षक बन्थे । केसीपछि आफू महानिरीक्षक बन्ने भनेर उनले त्यस बेला ५० लाख रुपैयाँ बुझाएको चर्चा पनि त्यसबेला चलेको थियो । ३० बर्से सेवा अवधि हटाउन नयाँ बानेश्वस्थित होटल एभरेष्ट र ललितपुरस्थित होटल भिमान्तमा पटक पटक बैठक गरेका उनीहरूले ११ करोड रुपैयाँमा डिल गरेका थिए । महानिरीक्षक केसी आफैले एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । ३० बर्से नहट्ने पक्का भएपछि बुझाएको दुई करोड रुपैयाँ उठाउन उनीहरूले ताकेता पनि गरेका थिए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गौतमले भने आफूमाथि लागेको आरोपले आफूलाई केही फरक नपर्ने बताए । उनले भने, ‘केही फरक पर्दैन, म मेरो बाटोमा छु, संगठनको नीति अनुशरण गरिरहेको छु ।’

तपाइको प्रतिक्रिया
(Visited 2,582 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी