मुम्बई । बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे’लाई अब पूर्वनिर्धारित समयमा रिलिज नगर्ने भएका छन् । उनले यो फिल्म आगामी २२ मेमा यो वर्षको इदको अवसर पारेर रिलिज गर्न लागेका थिए ।
यतिबेला मुम्बईको आफ्नो पनबेल फाम हाउसमा बसिरहेका यी अभिनेताले घरबाटै एक भिडियो बनाएर अहिलेको कोरोना संक्रमणको कारण अब आफूले फिल्म ‘राधे’ २२ मेमा रिलिज गर्न नसक्ने बताएका छन् । सलमानको भनाइअनुसार अहिले कोरोनाको संक्रमण छ । उनी पनि कोरोनाको संक्रमणबाट डराएका छन् । त्यसैले, घरभित्र सुरक्षित बस्नुपरेको छ ।
हरेक वर्ष इदमा आफ्नो फिल्म रिलिज गर्दै आएका सलमानले यसपटक इदमा दर्शकलाई फिल्म ‘राधे’ दिन नसक्ने भिडियोमार्फत बताएका हुन् । फिल्मको केही दृश्य छायांकन गर्न बाँकी भएको पनि यी अभिनेताले खुलासा गरेका छन् । भारत लडडाउनका कारण फिल्म ‘राधे’को ल्याबको काम पनि रोकिएको छ ।
यो फिल्मको थाइल्यान्डमा हुने छायांकन रोकिएको हो । छायांकनका लागि थाइल्यान्ड जान लागेका सलमान विश्वमा कोरोनाको संक्रमण बढेपछि रोकिएका हुन् । अब यो फिल्मको बाँकी छायांकन मुम्बईमै गर्ने योजनामा अभिनेता सलमान खान रहेका छन् ।