प्रेमको व्यापार

लभ अर्थात् प्रेम यस्तो शक्तिशाली भावना हो, जसले मानिसलाई अद्भूत शान्ति दिन्छ, अपूर्व शक्ति पनि दिन्छ । वास्तवमा प्रेम जीवनको प्रेरक शक्ति हो, मनमस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो । जब मानिस प्रेममय हुन्छ तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुन पुग्छ । प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ ।

हरेक सामान्य महिला पुरुषमा प्रेम भावना रहन्छ । मानिसमा प्रेम भावना बाल्यकालदेखि नै विकसित हुन्छ । जब व्यक्ति अन्य कुनै व्यक्ति, पशुपक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ तब यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लव वा एफेक्सन्)को संज्ञा दिइन्छ । यस्तो संवेगमा व्यक्तिले मित्रता, सहानुभूति तथा सहयोगको प्रवृत्ति देखाइन्छ । प्रेम मूलभूत रूपमा दुई किसिमका हुन्छन्, अकामुक प्रेम (ननसेक्सुअल लव) र कामुक प्रेम (सेक्सुअल लभ) ।

एक बालकको अर्को बालकसँगको प्रेम, छोराछोरीको आमाबाबुप्रतिको प्रेम, आमाबाबुको छोराछोरीप्रतिको प्रेम, एक व्यक्तिको पशुपक्षीप्रतिको प्रेम तथा साथीसाथी बीचको प्रेम आदि प्रायः अकामुक प्रेमका उदाहरण हुन् भने पतिपत्नी बीचको प्रेम तथा प्रेमीप्रेमिका बीचको प्रेम कामुक प्रेमका उदाहरण हुन् । कामुक प्रेमको अभिव्यक्तिमा आलिंगन, चुम्बन तथा रतिक्रिया (सेक्सुअल इन्टरकोर्स)को प्रधानता रहन्छ ।

हो, प्रेमपूर्ण जीवन नै उत्कृष्ठ जीवन हो । यो नै जीवन सरिताको प्रक्रिया हो । प्रेमको प्रक्रिया उध्र्वगामी प्रक्रिया हो । मूत्र्तबाट अमूत्र्त, विशेषबाट सामान्य तथा व्यष्टिबाट समष्टितर्फ गतिमान गर्ने शक्ति केवल प्रेममा नै छ । प्रेमबिना मानिसको जीवन असम्भव छ । प्रेमबिना मानिस बाँच्नै सक्दैन । त्यसैले मानिसले आपूmले चाहेको प्रेम पाउन जुनसुकै मूल्य चुकाउन पनि पछि पर्दैन ।

कसैको कुनै व्यक्ति, पशुपक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुने संवेगात्मक स्थितिलाई प्रेम भनिन्छ

मानिसको यो मनोविज्ञान विश्वबजारले नबुझ्ने कुरै भएन । त्यसैले विश्वबजारले प्रेमलाई अनेक ब्रान्ड नाम दिएर बजारमा भित्याउने गरेको छ । त्यसैले त विश्वबजारभित्र अहिले अनेकौं बजार छन् । सियोदेखि रकेटसम्मका बजार छन् । नुनदेखि सुनसम्मका बजार छन् । शिक्षादेखि स्वास्थ्यका बजार छन् । धर्मदेखि संस्कृति र परम्पराका बजार छन् । सेवादेखि राजनीतिका बजार छन् । भावना, माया, ममता र प्रेमका बजार पनि छन् ।

हिन्दी फिल्म दामिनीमा वकिल गोविन्दले अर्का वकिल चढ्ढालाई चेतावनी दिँदै भन्छन्, चढ्ढा, सम्झा यसलाई सम्झा, यस्ता हतियार बजारमा खुब बिक्री हुने गर्छन् । तर, यसलाई चलाउन जुन आँट चाहिन्छ, त्यो कुनै बजारमा किन्न पाइँदैन । मर्द मानिसले त्यसलाई लिएर जन्मिएको हुन्छ । गोविन्दको भनाइमा मनोवैज्ञानिक सत्य छ । तर, मजाको कुरा के भने विश्वबजार यति विस्तार र विकसित भएको छ कि अहिले विश्वबजार भित्र आँट, साहस, माया र प्रेमजस्ता भावनाका पनि बजार पनि स्थापना भइसकेका छन् । बजारमा पाइने आँट, साहस, माया र पे्रमले काम गरोस् वा नगरोस्, खुबै बिक्रीवितरण पनि भइरहेका छन् । मानिसको भावना खरिदबिक्री गर्न बजार पूर्ण रूपले सफल छ ।

प्रेमको बजार संसारको एक भव्य बजार हो । यस बजारको अनेक रूपरंग भए तापनि भ्यालेनटाइन्स डे अर्थात् प्रणय दिवस यसको प्रमुख उद्योग हो । हाल भ्यालेनटाइन डेको विश्वप्यापी व्यापार ८० लाख करोडभन्दा पनि बढी छ । विश्वका हरेक देशमा यसको बजार विस्तार भए तापनि सबैभन्दा ठूलो बजार भने अमेरिका हो । अमेरिकामा भ्यालेन्टाइन डेमा गहना, कार्ड, फल तथा खानपिनमा खुब खर्च हुने गर्छ ।

एक अध्ययनका अनुसार गत वर्ष अमेरिकाले मात्र भ्यालेन्टाइन डेका लागि ३६.८ बिलियन डलर अर्थात् ४१ खर्ब ७० अरब १७ करोड खर्च गरेको थियो । भ्यालेन्टाइन मनाउनेले चकलेटमा १.७ बिलियन डलर, गुलाबमा २५० मिलियन डलर, १४१ मिलियन डलर कार्डमा, ४.३ बिलियन गहना तथा रक्सीमा खर्च गरेका थिए । भ्यालेन्टाइन्स डे मनाउने औसत अमरिकीले २ सय डलर अर्थात् २२ हजार रुपैयाँ खर्च गरेका थिए ।

भ्यालेन्टाइन डेको बजार युरोपमा पनि ठूलो छ । बेलायतमा मात्र गत वर्ष कार्ड, उपहार, फल, खाना र पेयमा ९८० मिलियन खर्च भएको थियो । एसियाका ठूला राष्ट्र भारत र चीनभित्र मात्र होइन हङकङ, थाइल्यान्ड, नेपालजस्तो सानो देशमा पनि भ्यालेन्टाइन डेको बजार फैलिएको छ । गत वर्ष चीनमा भ्यालेन्टाइन मनाउने औसत मानिसले ३ सय ५० डलर खर्च गरेका थिए भने भारतमा औसत २ हजार देखि ३ हजार भारतीय रुपैयाँ खर्च गरेका थिए ।

भारतमा गरिएको एक सर्वेक्षणअनुसार भ्यालेन्टाइन डेको दिनमा मात्र १५ बिलियन भारतीय रुपैयाँबराबरको कारोबार हुने उल्लेख छ । तर, भारतीय उद्योग तथा वाणिज्य महासंघको महासचिव डीएस रावतको भनाइ छ, ‘भ्यालेन्टाइन डे एक दिनको उत्सव होइन, यो आठ दिनसम्म मनाइन्छ । त्यसैले आठ दिनको हिसाब गर्ने हो भने भारतमा भ्यालेन्टाइन डेको बजार भारु १२ हजार करोडभन्दा बढी रहेको रावतको दाबी छ ।

प्रेमका लागि जे पनि गर्न पछि नपर्ने मानिसले प्रेमलाई बजार व्यापारका रूपमा फिँजाइरहेका हुन्छन्

यहाँ उल्लेखनीय कुरा के भने विश्वबजारले भ्यालेन्टाइन डेलाई यत्ति व्यावसायीकरण गरेको छ कि यसलाई एक दिन होइन, विभिन्न नाममा सप्ताहव्यापी रूपमा मनाउने गरिन्छ । फेब्रुअरी ७ तारिखमा रोज डे । रोज डेका दिन गुलाबको फूलको व्यापार हुन्छ । गत वर्ष यस दिन करिब २५ करोड गुलाबको फूल बिक्रीवितरण भएर करिब २५ अर्बको व्यापार भएको थियो । यस वर्ष रोज डेका दिन नेपालमा मात्र करिब ३० करोडको गुलाबको फूलको व्यापार भएको देखिन्छ ।

फेब्रुअरी ८ मा प्रपोज डे । प्रपोज डेका दिन विभिन्न किसिमका डिफ्ट आइटमको व्यापार हुने गर्छ । आर्थिक पत्रिका बिजेनेस स्टान्र्डडका अनुसार यस दिनको व्यापार पनि करोडौं डलमा हुने गर्छ । फेब्रुअरी ९ मा चकलेट डे । यस दिन चकलेटको खुब व्यापार हुने गर्छ । यस दिन अमेरिकामा मात्र २२ बिलियन डलरको चकलेटको व्यापार हुन्छ । फेब्रुअरी १० मा टेडी डे । टेडी डेका दिन गुडिया भालुको व्यापार हुन्छ । यसैगरी, फेब्रुअरी ११ मा प्रोमिस डे, फेब्रुअरी १२ मा किस डे, फेब्रुअरी १३ मा हग डे तथा फेब्रुअरी १४ मा भ्यालेन्टाइन्स डे आउँछ र हरेक दिन प्रेमको नाममा अर्बाैंको व्यापार हुने गर्छ । र, प्रेमको यो व्यापार तीव्र गतिमा बढ्दो छ ।

हालै गरिएको एक अध्ययनका अनुसार अधिकांश मानिसले भ्यालेन्टाइन डे निकै व्यावसायिक भएको र प्रेमको नाममा गरिने यस्तो खर्चलाई फजुल खर्च मानेका छन । मायाप्रेम संसारको कुनै पनि बजारमा नपाइने र किन्न नसकिने अधिकांश मानिसको दाबी छ । तर, प्रेमका लागि जे पनि गर्न पछि नपर्ने मानिसले बजारमा प्रेम किन्न खोजिरहेका छन् । त्यसैले प्रेमको व्यापार यसरी फैलिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

epaper

ताजा समाचार

स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत : प्रतिवेदन