फुटबल गतिविधि शून्य हुनुमा दोषी को ?

काठमाडौं । २०औं शताब्दीको सुरुवातमा ब्रिटिस गोर्खा सैनिकहरूले नेपालमा फुटबल भित्र्याएदेखि नै यसको लोकप्रियताले शिखर चुमेको थियो । तर, यतिबेला नेपाली फुटबलको सर्वाच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को आन्तरिक किचलोले फुटबलका गतिविधि शून्य छ ।

चार महिनाको अन्तरालमा नै एन्फाले तेस्रोपटक साधारण सभा सोमबार बस्न लागेको छ । ६ असार २०७९ मा पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फामा नयाँ कार्यसमिति आएपछि एउटा पनि कार्यसमितिको बैठक सहज रूपमा सम्पन्न भएको छैन । यस्तो कमजोर अवस्थाको नेतृत्वका कारण नेपाली फुटबल खेलाडी पनि पलायन भइरहेका छन् । तथापि, खेलाडीलाई राष्ट्रको गहना भन्ने सरकारको खेलकुद हेर्ने युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् पनि उत्तिकै जिम्मेवार छन् । यी दुवै निकाय गैरजिम्मेवार भइरहँदा नेपाली खेलकुदको अवस्था दिनानुदिन खस्किँदै गएको छ ।

यतिबेला एन्फाका पक्ष विपक्ष दुवैको ध्यान नेतृत्व, पद र पैसामा केन्द्रित छ । तर, शीर्ष डिभिजन लिग कहिले गर्ने भन्ने विषयमा एन्फासँग कुनै योजना छैन । ‘बी’ र ‘सी’ डिभिजन लिग अब हुन्छ कि हुँदैन भनेर क्लब रनभुल्लमा छन् । महिला लिगको हालत पनि उस्तै छ । अबको सन् २०२७ को फिफा महिला विश्वकपमा नेपालको सहभागिता गराउने लक्ष्य एन्फाले लिएको छ । फुटबलका गतिविधिलाई शून्य बनाएर कार्यसमितिको बैठक बोलाउने, त्यसलाई असफल बनाउने र साधारण सभा गर्नेबाहेक अर्काे कुनै काम एन्फाको यो कार्य समितिले गरेको छैन । बेथिति र अनियमितता हुँदासमेत नेपालभित्र यस्ता संघसंस्थालाई हेर्ने कुनै निकाय नै नभएको जस्तो अवस्था छ ।

केही समयअघि फुटबलका अत्यधिक गतिविधि हुँदा ती गतिविधिलाई समेत रोक्न अख्तियारदेखि विभिन्न स्थानमा उजुरी पर्नेदेखि रोक्ने कामसमेत भएको देखिन्छ । बिगार्नका लागि सबै एकजुट हुने तर निर्माणका लागि कसैको पहल हुँदैन भन्ने उदाहरण एन्फाबाट देख्न सकिन्छ । गत ३ देखि ६ फागुनमा एन्फाको पछिल्लो बैठक बसेको थियो । त्यसमा पनि ११ जना कार्यसमितिका सदस्यले बैठक बहिष्कार गरे । जसका कारण कोरम नै फुगेन । बहुमत सदस्यले लेखापरीक्षण रिपोर्ट मागे । एन्फा पदाधिकारीले दिनै सकेन । लेखा परीक्षण नगराएको नेपालको सर्वाधिक ठूलो संघलाई समेत राखेपले सामान्य पत्राचारसमेत नगर्नू गैरजिम्मेवारीपनाको पराकाष्ठा होइन भनेर कसरी नभन्ने ? एन्फा र नेपाली फुटबललाई जोगाउने हो भने निम्न अनुसारका कार्य गर्नैपर्छ ।

पारदर्शिता र जवाफदेहिताः सबै तहमा जवाफदेहिता सुनिश्चित गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)भित्र पारदर्शी शासन संरचना लागू गर्नुपर्छ । त्यसका लागि नियमित लेखा परीक्षण गर्ने, प्रत्येक चार महिनामा सार्वजनिक रूपमा हिसाबकिताब सार्वजनिक गर्ने, राखेप, मन्त्रालय र स्वतन्त्र लेखापरीक्षण संघको प्रतिनिधित्वको छुट्टै आन्तरिक लेखापरीक्षण समितिसमेत बनाएर यसमा पारदर्शी वित्तीय व्यवस्थापन, स्पष्ट निर्णय प्रक्रिया र नियमित रिपोर्टिङ संयन्त्र समावेश गरेको खण्डमा मात्र एन्फामा सुधार हुने सम्भावना छ । यहाँभित्रको द्रव्यमोहले अब यसलाई बचाउन कुनै न कुनै कदम चाल्नैपर्छ ।

व्यावसायिकीकरणः प्रमुख प्रशासनिक पदमा योग्य र व्यावसायिक व्यक्तिलाई नियुक्त गरेर सबै क्रियाकलाप उसैमार्फत गर्ने, जसले नेपालमा फुटबलको व्यवस्थापनलाई व्यावसायिक बनाउन मद्दत गर्छ । अध्यक्ष तथा पदाधिकारीलाई आर्थिक रूपमा अलग्गै राखेर नीतिगत निर्णय गर्ने संयन्त्रका रूपमा मात्र राख्ने । यसले लिग, टुर्नामेन्ट र विकास कार्यक्रमको कुशल संगठन र व्यवस्थापनमा मद्दत गर्नेछ ।

ग्रासरुट विकासमा लगानीः युवा एकेडेमी, कोचिङका कार्यक्रम र तल्लो तहमा पूर्वाधार विकासमा लगानी गरेर तल्लो तहको फुटबल विकासलाई प्राथमिकता दिनुपर्छ । त्यसका लागि नेपाल सरकारले केन्द्रीकृत योजना ल्याउनुपर्छ । फुटबलका नाममा पालिकादेखि प्रदेश सरकारले ठूलो रकम खर्च गरेको छ । तर, पनि रूपान्तरणको आशा गर्न भने सकिँदैन । कनिका छरेजस्तो भएको छ । नेपाली फुटबलको दीर्घकालीन सफलताका लागि सानैदेखि युवा प्रतिभाको पहिचान र पालनपोषण गरेर बलियो टिम निर्माण गर्नुपर्छ ।

महिला फुटबल विकासः समान अवसर, स्रोत र पूर्वाधार उपलब्ध गराएर नेपालमा महिला फुटबलको विकासलाई प्रवद्र्धन गर्न सकेको खण्डमा छोटो समयमा ठूलो उपलब्धि हासिल हुन सक्ने स्पष्ट छ । महिला लिगलाई निरन्तरता, अन्य राष्ट्रिय तथा मैत्रीपूर्ण महिला प्रतियोगिता आयोजना र महिला खेलाडीका लागि तालिम र कोचिङ कार्यक्रमले मुलुकमा महिला फुटबलको विकासमा टेवा पुग्नेछ ।

खेलाडी कल्याण र विकासः खेलाडीलाई उचित प्रशिक्षण सुविधा, चिकित्सा सहायता र शैक्षिक अवसर प्रदान गरेर उनीहरूको कल्याण र विकास सुनिश्चित गर्नुपर्छ । यसका लागि एन्फाको नेतृत्व भिजनरी हुन आवश्यक छ । खेलाडीका लागि सहयोगी वातावरण सिर्जना गर्नाले प्रतिभा कायम राख्न र सकारात्मक फुटबल संस्कृतिको विकास गर्न मद्दत पुग्छ । फुटबलको लोकप्रियता व्यापक छ । आज अभिभावकले समेत छोराछोरीलाई फुटबल खेलाडी बनाउने सपना पाल्न थालेका छन् ।

नैतिक आचरण र इमानदारिताः कडा नियम र आचारसंहिता लागू गरी नेपाली फुटबलभित्र नैतिक आचरण र इमानदारिता कायम राख्ने समय हो यो । यसका लागि राखेप र मन्त्रालयको महत्वपूर्ण भूमिका रहन्छ । फुटबलमा मात्र होइन अन्य खेल संघमा पनि अराजकता, अनियमितता कायम छ । त्यसलाई चिर्न पहिले त राखेपका सदस्यसचिवबाट नै नैतिक आचरण र इमानदारिता प्रस्तुत हुन आवश्यक छ । साथै भ्रष्टाचार र अनैतिक व्यवहारजस्ता मुद्दालाई सम्बोधन गर्दा खेलमा विश्वास र विश्वसनीयता कायम हुने भएकाले यसमा सबै निकायको विशेष ध्यान जान आवश्यक छ ।

सहयोग र साझेदारीः नेपाली फुटबलको विकासका लागि स्रोत, विशेषज्ञता र सञ्जालको उपयोग गर्न सरकारी निकाय, निजी क्षेत्रका संस्था र अन्तर्राष्ट्रिय फुटबल निकायसँगको सहकार्य र साझेदारीलाई बढावा दिनुपर्छ । आफंै विवादमा रुमल्निे कि यसका लागि जिम्मेवारी भएर अगाडि बढ्ने ?

सामुदायिक संलग्नताः फुटबलका लागि समर्थन र उत्साह निर्माण गर्न स्थानीय समुदाय र सरोकारवालासँग संलग्न हुुनुपर्छ । सम्बन्ध विस्तार गर्नुपर्छ ग्रासरुटका कार्यक्रम, विद्यालय कार्यक्रम र सामुदायिक प्रतियोगिता आयोजना गर्नाले बलियो फुटबल संस्कृति र प्रशंसक आधार सिर्जना गर्न मद्दत पुग्छ ।

अब एन्फाले यी विषयलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । समस्या सिर्जना गर्दै त्यसैमा अल्झिरहने छुट एन्फाका कुनै पनि पदाधिकारी र सदस्यलाई छैन । पक्ष विपक्ष दुवैको ध्यान यी विषयमा जाओस् । भागबन्डाका लागि मात्र झगडा नहोस् । एन्फाका सबै पदाधिकारी र सदस्य समयमा नै सुध्रिऊन्, नत्र इतिहासले धिकार्ने छ । कलंकको दाग कहिल्यै मेटिनेछैन ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लम्कीचुहाको नगरप्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी