सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा जोखिममा रहेको समुदायको बालबालिकालाई दादुरा र रुबेला खोप लगाइएको छ । बुधबार वडा नं ४ त्रिभुवनगरस्थित आधारभुत प्राथमिक विधालयमा राखिएको खोप केन्द्र मार्फत ८० जना करोडी जातिको ९ महिना देखि १५ वर्ष सम्मको बालबालिकालाई दादुरा र रुबेला खोप लगाइएको स्वास्थ्य शाखा ब्रह्मपुरीका प्रमुख विवेक कुमार साहले जानकारी दिए ।
त्यस्तै ब्रह्मपुरी वडा नं ५ पडरीयामा रहेको ईट्टा भट्टामा जोखिममा रहेको तर खोप लिन नमानेको १० जना बालबालिकालाई खोप लगाईएको थियो । उनीहरु खोप लिन नमानेपछि नेपाल प्रहरीको विशेष पहलमा खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए ।
ब्रह्मपुरीमा हाल सममा वडा नं १ देखि ७ सम्म १० हजार ४ सय १५ बालबालिकालाई खोप लगाइ सकिएको प्रमुख साहले बताए । सर्लाहीमा दादुरा र रुबेला खोप फागुन १६ गते २० वटै पालिकामा एकै साथ सुरु भई २२ गतेसम्म नियमित रूपमा चलेको थियो । हाल नेपालभरीमा चैत्र ७ गतेसम्म नियमित रुपमा खोप चल्ने भएकोले ब्रह्मपुरीमा जोखिमपूर्ण समुदाय, खोप लिन नमान्नेलाई खोजी कार्य गर्दै खोप लगाउन थालिएको ब्रह्मपुरीका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले जानकारी दिए ।
सर्लाहीको २० वटा पालिका गरी २ सय ४ वटा खोप केन्द्रहरु द्वारा दादुरा र रुबेला विरुद्धको खोप दिइसकिएको छ। खोप ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई प्रदान गरिएको थियो । २०३४ सालदेखि नेपालमा राष्ट्रिय खोप कार्यक्रम सुरु भएको र सो कार्यक्रम मार्फत १३ थरीका एन्टीजेन खोप बालबालिकालाई दिन सुरु गरिएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
नेपालमा नियमित खोप १५ महिना सम्मका बालबालिकालाई १६ हजार भन्दा बढी खोप केन्द्र मार्फत खोप लगाउने गरिनछ। अहिले पनि १६ प्रतिशत बालबालिका पूर्ण खोप बाट बञ्चित छने भने ४% बालबालिका शुन्य डोजमा रहेको छ । हाल सर्लाही जिल्ला भरी ७ सय २० वटा नियमित खोप केन्द्रहरु रहेका छन ।