२०७६ मा रिलिज ५६ चलचित्रमध्ये ६ वटा नाफामा

काठमाडौं । नेपाली चलचित्र उद्योग विगतको जस्तो यो वर्ष व्यवसायिक रूपमा उत्कृष्ट हुन सकेन । २०७५ सालमा १ सय १ वटा नेपाली चलचित्र रिलिज भएको थियो । २०७६ सालमा त्यो संख्या आधाभन्दा बढी घट्यो । यो वर्ष जम्मा ५६ वटा मात्र नेपाली चलचित्र रिलिज भएका छन् ।

२०७६ सालको १३ वैशाखमा रिलिज भएको कालो वर्षसँगै यो वर्षको सिनेमा प्रदर्शन काउन्ट डाउन सुरु भयो । गत १६ फागुनमा रिलिज भएको चलचित्र ‘धुरो’ नै यो वर्ष रिलिज भएको अन्तिम चलचित्र भयो । गत पुस महिनाभरि एउटा पनि नेपाली चलचित्र रिलिज भएनन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सक्रमणको जोखिम नेपालमा बढेपछि गत फागुनको तेस्रो साताबाट चैत महिनाभरि एउटा पनि नेपाली चलचित्र रिलिज नभएको हो । यो कारणले पनि रिलिज संख्या विगतको भन्दा यसपटक घटेको हो ।

२०७६ सालमा प्रदर्शनमा आएका ५६ वटा नेपाली चलचित्रमध्ये सातवटा चलचित्रले मात्र राम्रो नाफा कमाएका छन् । अरू पाँचवटा सिनेमा लगानी सुरक्षा गर्न सक्ने अवस्थामा छन् । बाँकी ४५ चलचित्रले यो वर्ष घाटा बेहोर्नुपरेको छ ।

यो वर्ष रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ले सिनेमा हलबाट १३ करोड व्यापार गरेको छ । अहिलेको राजनीतिक अवस्थालाई व्यंग्य गरिएको यो चलचित्रमा दीपकाराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्टसहितको मुख्य भूमिका थियो । यसका निर्देशक दीपेन्द्र लामाले लिएको जानकारी अनुसार ‘छ माया छपक्कै’ले विदेश राइट्सबाट १ करोड १० लाख रुपैयाँ र डिसहोमबाट एक सातामा ४० लाख रुपैयाँ प्राप्त गरेको छ । यो फिल्म्सको डिजिटल राइट्स बेचिएको छैन । यसरी आफूहरूको फिल्मको सबै राइट्सको ग्रस व्यापार जोड्दा १७ करोडभन्दा बढी हुने पनि लामाले बताए ।

यता, चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले देशभरिका फिल्म हलबाट करिब १५ करोडको ग्रस व्यापार गरेको निर्माता मणिराम पोखरेलले राजधानीलाई बताए । चलचित्र ‘कबड्डी’ यो सिरिजको तेस्रो सिरिज हो । डिजिटल राइट्स र टेलिभिजन राइट्सबाट १ करोडभन्दा बढी प्राप्त भइसकेको पनि उनको कथन छ । यसमा दयाहाङ राई, उपासनासिंह ठकुरी, कर्मा, विल्सनविक्रम राई, पुष्कर गुरुङ, माओत्से गुरुङलगायतको प्रमुख भूमिका थियो । यो चलचित्र प्रेम कथामा आधारित थियो ।

यस्तै, निर्देशक प्रदीप भट्टराईका अनुसार उनको चलचित्र ‘जात्रैजात्रा’ २०७६ सालमा व्यावसायिक हिसाबले तेस्रो स्थानमा रह्यो । ‘जात्रा’को सफलतापछि सिरिजका रूपमा उनले चलचित्र ‘जात्रैजात्रा’ बनाएका हुन् । सफल प्रदर्शनीको ५१ दिनसमेत मनाउन सफल आफ्नो चलचित्रले सिनेमा हलबाट ९ करोड रुपैयाँको ग्रस व्यापार गरेको निर्देशक प्रदीप भट्टराईको दाबी छ । उनका अनुसार यो चलचित्रले विदेश, डिजिटल र पे टेलिभिजनमा गरेर डेढ करोडभन्दा माथि कमाइसकेको छ । चलचित्र ‘जात्रैजात्रा’मा विपिन कार्की, दयाहाङ राई, वर्षा राउतलगायतको मुख्य भूमिका थियो । गत ३ जेठमा रिलिज भएको यो चलचित्र हास्यप्रधान थियो ।

हास्यप्रधान चलचित्र ‘दाल भात तरकारी’ले व्यावसायिक हिसाबले तेस्रो स्थानमा रहेको यसका निर्माता किरण केसीले बताएका छन् । यो चलचित्रले नेपाल र विदेश तथा अन्य राइट्स गरेर ९ करोडको ग्रस व्यापार गरेको केसीले बताए । १ करोड ९० लाखमा निर्माण भएको आफ्नो चलचित्रले सबै खर्च कटाएर ८२ लाख रुपैयाँ नाफा गरेको पनि उनको कथन छ । वैशाख २० मा रिलिज भएको हास्यप्रधान यो चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, राजाराम पौडेललगायतको मुख्य भूमिका थियो । यसलाई सुदन केसीले निर्देशन गरेका थिए ।

निर्देशक दीपेन्द्र के खनालका अनुसार उनको चलचित्र ‘आमा’ व्यावसायिक हिसाबले पाँचौं स्थानमा रहेको छ । यो चलचित्र जम्मा ८० लाखमा तयार भएको थियो । गत ९ फागुनमा रिलिज भएको यो सिनेमा हलमा पाँचौं साता पनि राम्रो चलेको थियो । त्यसपछि कोरोनाको कारण सरकारले हल बन्द गरेपछि यो फिल्म रोकियो । फिल्मले हलबाट ३ करोड रुपैयाँको ग्रस व्यापार गरेको पनि निर्देशक खनालले बताए । यस्तै, विदेशबाट ५८ लाख, डिसहोम रिलिजबाट ५० लाख रुपैयाँ र डिजिटल राइट्सबाट ३५ लाख रुपैयाँ पनि प्राप्त भइसकेको र १ करोडभन्दा माथि आफूहरूलाई नाफा हुने उनले बताए । यो चलचित्रमा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनालसहितका कलाकारको मुख्य भूमिका थियो ।

यसरी, २०७६ सालमा रिलिज भएका चलचित्रहरूमध्ये ‘छ माया छपक्कै’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘जात्रैजात्रा’, ‘दाल भात तरकारी’ र ‘आमा’ हिट फिल्मको सूचीमा परेका छन् । अर्को चलचित्र घरले पनि करिब ३० लाख रुपैयाँ नाफा कमाएको निर्माता दीपेन्द्र के खनालले राजधानीलाई बताए । ४२ लाख लागतमा हलमा रिलिज भएको यो फिल्मले सिनेमा हलबाट १ करोड ५२ लाखको ग्रस व्यापार गरेको थियो । डिजिट राइटस् र अन्य राइट्सको पैसा नाफा भएको उनले बताए । जसमा अर्पण थापा, सुरक्षा पन्त, वेनिशा हमाललगायतको मुख्य भूमिका थियो ।

यीबाहेक निकै आशा गरिएको धुमुर्स सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ घाटामा गयो । कोरोनाका कारण हल बन्द भएपछि यो फिल्मले हलमा जम्मा ४ करोडको मात्र ग्रस व्यापार गरेको निर्माता सीताराम कट्टेलले बताए । २ करोड ८५ लाखमा निर्माण भएको यो फिल्मले विदेशबाट अहिलेसम्म ३० लाख रुपैयाँ मात्र पाएको छ । ‘सेन्टी भाइरस’मा सीताराम कट्टेल, दयाहाङ राई, कुन्जना घिमिरे, सन्दीप क्षत्री, राजाराम पौडेल, विल्सनविक्रम राईलगायतको मुख्य भूमिका थियो ।

चलचित्र ‘वीरविक्रम २’ भने व्यावसायिक रूपमा सफल हुन सकेन । निर्माता निर्देशक मिलन चाम्सका अनुसार यो फिल्मलाई करिब ६० लाख रुपैयाँ घाटा भएको छ । यसमा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटीलगायतको मुख्य भूमिका थियो ।

ठूलो बजेटका कारण चलचित्र ‘रातो टीका निधार’मा पनि करिब ५० लाख घाटामा गएको यसका निर्माता निर्देशक अशोक शर्माले बताए । यो चलचित्रमा अंकित शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, राजाराम पौडेल, खुस्बु खड्कालगायतको मुख्य भूमिका थियो ।

निर्माता विराज भट्टले आफ्नो चलचित्र साङ्लोले लगानी उठाउन सक्ने बताएका छन् । तर, अहिलेसम्म उठिसकेको छैन । डिसहोम र नेट टिभी र विदेश रिलिजबाट उठ्ने उनको विश्वास छ । यो चलचित्रमा विराज भट्ट, निकिता चन्डक, प्रकाश शाह, कामेश्वर चौरसियालगायतको मुख्य भूमिका थियो ।

शिशिर राणा निर्देशित चलचित्र ‘पोइ प-यो काले’ पनि घाटामा गयो । साँढे २ करोड लागत भनिएको यो फिल्ममा पुशा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठसहितको मुख्य भूमिका थियो । ठूलो बजेटका कारण चलचित्र ‘मारुनी’ पनि घाटामा गएको छ । यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा थिइन् । यस्तै, आर्यन सिग्देल अभिनित चलचित्र ‘हजार जुनीसम्म’ र अर्को चलचित्र ‘चच हुई’ पनि व्यावसायिक रूपमा असफल भए । निश्चल बस्नेत अभिनित फिल्म ‘घामड शेरे’ पनि व्यावसायिक रूपमा असफल भयो । यस्तै, विपिन कार्की अभिनित निकै आशा गरिएको छलचित्र सेल्फी किङले पनि राम्रै घाटा सहुन परेको छ । बाँकी अरू सबै नेपाली चलचित्र यो वर्ष घाटामा गएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी