राष्ट्रपतिको उपस्थितिमा गुठी कार्यालय प्रमुखले भोटो देखाउने

ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ जात्राअन्तर्गत आज आइतबार भोटो जात्रा देखाइँदै छ । गएको बिहीबार रातो मत्स्येन्द्रनाथको रथलाई थतिटोलबाट जावलाखेल पु-याएपछि आज भोटो जात्रा मनाउन लागिएको हो । रथलाई जावलाखेल ल्याइएको चौथो दिनमा भोटो देखाउने चलन रहेको जात्रा व्यवस्थापन गरेको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ ।

आज भोटो जात्रा

कार्यालयका प्रमुख बैकुण्ठ आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाउने कार्यक्रम छ । ‘भोटो देखाउने कार्यक्रम दिउँसो ४ देखि ५ बजेको समयमा हुनेछ,’ प्रमुख आचार्यले भने, ‘यसपालि शुक्रअस्तले गर्दा साइत ढिला निस्किएको र भोटो जात्रा ढिलो भएको हो ।’

भोटो जात्रा हेर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख जावलाखेल पुग्ने कार्यालयका प्रमुख आचार्यले जानकारी दिए ।

बाक्लो भीडबीच गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुखले भोटो चारै दिशाबाट देखाउने चलन छ । कार्यालय प्रमुख आचार्यले मत्स्येन्द्रनाथको रथको चारवटै दिशाबाट तीनपटक भोटो देखाउने छन् ।

संस्कृतिविद्का अनुसार पहिलोपटक नाग देवताका लागि भोटो देखाइन्छ भने दोस्रोपटक मत्स्येन्द्रनाथलाई कामरूप कामाक्षबाट नेपाल भित्र्याएका लिच्छिवीकालीन राजा नरेन्ददेव, ललित ज्यापु, काठमाडौंका बन्धुदत्त र कर्काेटक नागलाई देखाइने परम्परा छ । यसैगरी, तेस्रोपटक नागबाट मणिजडित भोटो पाएका किसान वैद्य, भोटो चोर्ने भूत र यक्ष लोकलाई देखाउने परम्परा छ ।

भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लाग्नेगर्छ । त्यस अवसरमा राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिले टीका र प्रसाद ग्रहण गर्ने चलन छ । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन हुनेछ ।

मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकाली खटमा राखेर बाजागाजासहित बुङ्मती लगिन्छ भने मीननाथको रथलाई पनि पाटन टंगलमा तानेर लगिन्छ । बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका एक जना ज्यापू वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रूपमा प्रमाणसहित भोटो दाबी पेस गर्न भोटो देखाउने चलन सुरु भएको जनविश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ ।

मत्स्येन्द्रनाथका परम्परागत दुई ज्योतिषले साइत जुराएपछि जावलाखेल लाने मिति जुरेको हो । ज्योतिष कीर्तिकिरण जोशी र ज्योतिष पूर्णमंगल जोशीले साइत निकालेका हुन् । रथ जावलाखेल लैजान ४ जनाले साइत हेर्नुपर्ने परम्परा भए पनि पछिल्लो समय २ ज्योतिषले मात्र हेर्ने गरेका छन् ।

ती दुवै ज्योतिषले मणिमण्डपको सोह«खुट्टे पाटीमा बसेर साइत निकालेका हुन् । ५४९ देखि सुरु भएको यो जात्राको साइत हेर्न विगत ८ सय वर्षअघिदेखि पाटनका ज्योतिषी जोशी परिवारलाई जिम्मा दिइएको थियो । भोटो देखाएपछि रातो मत्स्येन्द्रनाथको जात्रा सकिन्छ । भोटो देखाएकै दिन रातो मत्स्येन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु-याइन्छ ।

मत्स्येन्द्रनाथको जात्राका क्रममा विभिन्न स्थानमा रथ परिक्रमा गरिरहँदा जुन स्थानमा रथ पुग्छ, त्यहाँका वासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर मीठो मसिनो खुवाएर जात्रा मनाउने परम्परा छ । करिब १४ सय वर्ष पहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौं, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल भित्र्याएको भनाइ चल्दै आएको छ ।

परापूर्वकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित भोटोसम्बन्धी विवाद मिलाउन हरेक वर्ष रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको छ । हरेक वर्ष रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका प्रमुखले ‘यो भोटो कसको हो’ भनी देखाउने गर्छन् ।

कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिँदै आएको छ । परापूर्व कालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ ।

जात्राका बेला वर्षा
रातो मच्छिन्द्रनाथको रथ जात्रा सुरु भएदेखि नसकिन्जेल बेलाबेलामा पानी पर्ने गरेको छ । पाटन तवहालबाट मच्छिन्द्रनाथलाई पुल्चोकमा रथ बनाएर राखिदादेखि भोटो जात्रा सक्काएर मच्छिन्द्रनाथलाई बुङ्मती नलैजाँदासम्म आकासबाट कहिले घनघोर त कहिले छिटपुट पानी परेकै हुन्छ ।

कसैले भगवान् मछिन्द्रनाथको शक्तिका कारण पानी पर्ने गरेको बताउँछन् त कसैले यो पानी पर्ने समय नै भएको हुनाले पानी परेको हो भन्ने तर्क गर्छन् । मच्छिन्द्रनाथलाई रथारोहण गर्दा, लगनखेलबाट जावलाखेल पु¥याउँदा र भोटो देखाउने जात्राका बेला आकाशबाट पानी परेकै छ ।

हिन्दु धर्म संस्कृतिमा पनि कुनै काम सुरु गर्दा पानी परेको शुभ मानिन्छ । नेपाल पञ्चांग निर्णायक समितिका पूर्वसदस्यसमेत रहेका मत्स्येन्द्रनाथका परम्परागत ज्योतिष कीर्तिकरण जोशीका अनुसार मच्छिन्द्रनाथको जात्राका समय पानी परिरहन्छ ।

‘रथारोहण गर्दा, रथ तान्दा र भोटो देखाउँदा पानी पर्ने गरेको छ,’ उनले भने, ‘मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता पनि भनिन्छ ।’ बुढापाकाको भनाइअनुसार पनि मच्छिन्द्रको रथ तान्ने र भोटो देखाउने बेला विगतमा पनि पानी पर्ने गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

epaper

ताजा समाचार

मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश