काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रिएको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ५ महिनामा विप्रेषण आप्रवाह ४ दशमलव ४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ दशमलव ५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव १ प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैंकले ५ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै चालू खाता १ खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४१ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोड रुपैयाँले बचतमा रहेको चालु खाता १ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ ।
५ महिनामा शोधनान्तर स्थिति पनि मजबुत रहेको छ । ५ महिनामा २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ ।
गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ दशमलव ४ प्रतिशतले वृद्धि भई मंसिर मसान्तसम्ममा २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा २०८१ मंसिर मसान्तमा ९ दशमलव ७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८१–८२ को ५ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव ६ महिनाको वस्तु आयात र १४ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रक्षेपण राष्ट्र बैंकको छ । २०८१ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९ दशमलव ८ प्रतिशत, १२१ दशमलव ६ प्रतिशत र ३१ दशमलव ६ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५ दशमलव ८ प्रतिशत, १०८ दशमलव ६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
५ महिनामा बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा मूल्यवृद्धि ६ दशमलव शू्न्य ५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ९९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५ प्रतिशत र ४ दशमलव ९२ प्रतिशतले वृद्धि भएको थियो ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४३ दशमलव शून्य ५ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ७ प्रतिशत र घ्यू तथा तेलको ९ दशमलव ३९ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १ दशमलव १८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ८३ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७ दशमलव ९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७ दशमलव शून्य १ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६ दशमलव ७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५ दशमलव २९ प्रतिशतले बढेको छ ।
५ महिनामा आयात ३ प्रतिशतले र निर्यात १६ दशमलव ५ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च ५ खर्ब ५६ अर्ब १२ करोड र राजस्व परिचालन ३ खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २ दशमलव ७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव ५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १० दशमलव ९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७ प्रतिशत रहेको छ ।






