सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ

इटहरी । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन राजनीतिक दल, कोशी प्रदेश सरकार र सुरक्षा निकायले एकैसाथ शान्ति, सुरक्षा र सामाजिक सद्भावका पहल अघि बढाएका छन् । बुधबार एकातिर सर्वदलीय बैठकले संयुक्त अपिल जारी ग¥यो भने अर्कोतर्फ प्रदेश सरकारले राहत घोषणा गर्दै सीमा सुरक्षा थप कडा बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई जोगाउन सातबुँदे संयुक्त वक्तव्य जारी गर्दै सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ ।

खासगरी बैठकले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, कुनै पनि उक्साहटपूर्ण गतिविधि, साम्प्रदायिक विभाजन र हिंसालाई अस्वीकार गर्दै समस्याको समाधान संवाद र सहमतिमार्फत खोज्नुपर्नेमा जोड दिएको छ ।

संयुक्त वक्तव्यमा प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी समुदायस्तरसम्म संवाद विस्तार गर्न, धार्मिक अगुवा, नागरिक समाज र प्रशासनसँग सहकार्य गरेर विश्वासको वातावरण बनाउन तथा सामाजिक सञ्जालमा फैलिने अफवाह र घृणास्पद सामग्रीप्रति सतर्क रहन सबैलाई अपिल गरिएको छ । बैठकले सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, नागरिकको जिउधनको सुरक्षा र पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।

यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको कोशी प्रदेशस्तरीय सर्वपक्षीय बैठकले मृतकका परिवारलाई दुई लाख रुपैयाँ तथा आगजनीबाट प्रभावित र घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारले सामाजिक सद्भाव अभिवृद्धिका लागि स्थानीय तहमा सर्वदलीय बैठक, सद्भाव यात्रा, सार्वजनिक अपिल तथा समुदायस्तरीय मेलमिलापका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । साथै, घाइतेको उपचार र थप राहतका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

सुरक्षाको दृष्टिले भने देवानगञ्ज घटनापछि भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकामा निगरानी उल्लेखनीय रूपमा बढाइएको छ । सम्भावित घुसपैठ, धार्मिक संगठनको आवरणमा हुने प्रवेश, हातहतियार तथा लागुऔषध ओसारपसारको जोखिमलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालका अनुसार सीमा क्षेत्रमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ भने मधेश प्रदेश र कोशीका अन्य जिल्लाबाट समेत प्रहरी जनशक्ति सुनसरीमा खटाइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि परिचयपत्र (आईडी कार्ड) अनिवार्य गरिएको जानकारी दिँदै शंकास्पद गतिविधिमाथि विशेष निगरानी राखिएको बताए ।

गत आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई पक्षबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा स्थानीय र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । त्यसपछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन, आगजनी, तोडफोड र अवरोधका घटना भएपछि प्रशासनले कफ्र्यु, निषेधाज्ञा तथा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

बुधबार पनि प्रशासनले इटहरीका केही वडा, रामधुनीका केही वडा साथै इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगन्ज, हरिनगर र बर्जु क्षेत्रमा पूर्ण रूपमा कफ्र्यु लगाएको थियो । खासगरी कफ्र्युसँगै बाक्लो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जिल्लाका शंकास्पद र अवाञ्छित गतिविधि हुने ठाउँमा खटिएका थिए ।

राजनीतिक दल, प्रदेश सरकार र सुरक्षा निकायले अहिलेको प्राथमिकता शान्ति स्थापना, सामाजिक सद्भाव कायम राख्ने र घटनाको निष्पक्ष अनुसन्धानमार्फत जनविश्वास पुनःस्थापित गर्ने रहेको बताएका छन् ।

यसैबीच उक्त घटनापछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले नागरिक समाजको अगुवाइमा बुधबार इटहरीमा सद्भाव ¥याली निकालिएको छ । इटहरीको मुख्य चोकबाट सुरु भएको ¥यालीमा विभिन्न भाषा, जाति, धर्म तथा समुदायका नागरिक, बुद्धिजीवी, सामाजिक अभियन्ता, व्यवसायी, युवा र महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले हातमा शान्ति र सद्भावका सन्देश लेखिएका प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए ।

¥यालीका क्रममा सहभागीहरूले ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’, ‘हिंसा होइन, शान्ति चाहिन्छ’, ‘सद्भाव कायम गरौं’, ‘जातीय र धार्मिक सद्भाव जोगाऔं’ लगायतका सन्देश प्रवाह गरेका थिए । उनीहरूले कुनै पनि घटनालाई जातीय वा धार्मिक द्वन्द्वमा रूपान्तरण गर्न नहुने भन्दै सामाजिक एकता कायम राख्न सबैलाई आग्रह गरेका थिए ।

¥यालीमा सहभागी नागरिक समाजका अगुवाहरूले सुनसरीको घटनाले समाजमा अविश्वास र विभाजन बढ्न नदिन सबै पक्ष संयमित हुनुपर्ने धारणा राखे । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, तर त्यसको नाममा समुदाय–समुदायबीच वैमनस्य फैलाउने गतिविधि स्वीकार्य नहुने बताए ।सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना, भ्रामक प्रचार तथा उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहन पनि आग्रह गरियो ।

यस्तै, उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ जिल्ला अदालत बार एसोसिएसनले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् ।

दुवै बार एसोसिएसनद्वारा जारी संयुक्त अपिलमा देवानगञ्जमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूको तत्काल उचित व्यवस्थापन गर्न र सामाजिक सद्भाव जोगाउन संयमता अपनाउन आग्रह गरिएको छ । अपिलमा नेपाल विविधतामा एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको आधारमा अघि बढेको मुलुक भएकाले कुनै पनि बहानामा सामाजिक एकता र धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधि कसैको हितमा नहुने उल्लेख गरिएको छ ।

छानबिन समिति घटनास्थलमा, स्थानीयसँग बयान संकलन
घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति बुधबार घटनास्थल पुगेको छ । टोलीले घटनास्थलको स्थलगत अध्ययनसँगै स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी र सरोकारवालासँग सोधपुछ तथा बयान संकलन थालेको छ ।

दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समिति सोमबार नै विराटनगर पुगेको थियो । पहिलो चरणमा टोलीले उपचाररत घाइतेहरूलाई भेटेर घटना’bout बयान लिएको थियो ।

त्यसपछि बुधबार बिहान घटनास्थल पुगेर झडप भएको क्षेत्र, सुरक्षा परिचालनको अवस्था तथा घटनाक्रमको स्थलगत अवलोकन गरेको हो । समितिले स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी, जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीसँग पनि छुट्टाछुट्टै छलफल गर्दै घटनाको वास्तविक कारण, गोली चलाउनुपरेको अवस्था तथा त्यसअघिका परिस्थिति’bout जानकारी संकलन गरिरहेको जनाएको छ । समितिले संकलित प्रमाण, बयान र स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार गरी एक साताभित्र गृह मन्त्रालयमा बुझाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ