काठमाडौं । १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यो वर्ष अन्तर्राष्ट्रिय तर्फ १६ देशका १९ वटा चलचित्रहरू चयन भएका छन् । महोत्सवका लागि ४० भन्दा बढी देशका चलचित्र प्राप्त भएकोमा निर्णायक टिमले १६ देशका १९ चलचित्र चयन गरेको हो ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकसेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सव यही ९ फागुनबाट ११ फागुनसम्म काठमाडौँको नेपाल पर्यटन बोर्डमा हुँदैछ । महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार यस पटक अफ्रिका समूहको चलचित्रमा दक्षिण अफ्रिकाबाट स्फमण्डला आरोन म्भेला निर्देशित चलचित्र गुड मोदर र सिभिलाईज्ड उवोम्बो निर्देशित चलचित्र लेफ्ट अर राईट अर इन बिट्विन द लाईफ चयन भएको छ । यस्तै अफ्रिका समुहमै टाटा फिडेलिस निर्देशित क्यामरुनको चलचित्र जस्पेर र मोरक्कोबाट मोहम्मद डबानी निर्देशित चलचित्र जैद पनि चयन भएको छ ।
अन्तर्राष्ट्रिय समूह तर्फ यो महोत्सवमा संयुक्त राज्य अमेरिकाबाट डिलन लाथम निर्देशित चलचित्र विल, फ्रान्सबाट पार्टिस गुईल्लाईन निर्देशित चलचित्र ला डिर डेस डेर चयन भएको छ । डेनमार्कबाट निर्देशक लार्स बी फ्रहमको चलचित्र रन फर लाइफ, श्रीलंकाबाट वेलुपिल्लै राजेश निर्देशित चलचित्र सगावरम, बंगलादेशबाट फकिर विप्लव निर्देशित चलचित्र सौदा, भारतबाट देवेन्द्र जादव निर्देशित चलचित्र लोनी ट्युन्स रहेको छ ।
यस्तै अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ मै पाकिस्तानबाट अहसेन मुराद र फरहाद रियाज निर्देशित चलचित्र अंगार, अफगानिस्तानबाट काजिम अजराम निर्देशित चलचित्र द मस्ट ब्युटिफुल काबुल, स्पेनबाट एलिस भिल्लालोंगा निर्देशित स्टेल, ओमनबाट सुलेमान अलखालिली निर्देशित चलचित्र सुलेमान पनि यो महोत्सवमा अन्तर्राष्ट्रिय समूहमा चयन भएको छ ।
यसै गरी यो महोत्सवमा अन्तर्राष्ट्रिय समूहतर्फ अस्ट्रियाबाट अर्मन विभेस निर्देशित चलचित्र जस्ट अ जिगेलो, क्यानडाबाट मञ्जु सुब्बरवाल निर्देशित चलचित्र कलर, बेलायतबाट एड्रिएना कुलिज निर्देशित चलचित्र लकडाउन गार्डेन डायरी, बेलायतबाटै ओडेट्टे निर्देशित चलचित्र जेन्ट पपेट्स फर डिग्निफाईड मिन्सुरेसन, अर्जेन्टिनाबाट जर्ज क्याराबोटा निर्देशित चलचित्र द टेम्पल फर इन्टरनल साउन्ड चयन भएको छ । यसरी नेपाल बाहेक विभिन्न १६ देशका यी चलचित्रहरू यो महोत्सवमा अन्तर्राष्ट्रिय र अफ्रिकन समूहतर्फ चयन भएका हुन् ।
यही महोत्सवमा राष्ट्रिय विधा तर्फ नेपालबाट २९ वटा चलचित्र यस अघि नै चयन भइसकेका छन् । यो महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, कार्यशालालगायतका कार्यक्रम पनि रहेको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् ।
महोत्सवमा यस अघि नेपाल र अफ्रिकन महादेशका मात्र चलचित्र प्रदर्शन गरिन्थ्यो । यो वर्षबाट अफ्रिकासँगै अन्तर्राष्ट्रिय क्षेत्रका चलचित्र पनि समावेश गरिएको पनि महोत्सव आयोजक पक्षले जनाएको छ । ९ फागुन शुक्रवार बिहान ११ बजेबाट सुरु हुने यो महोत्सव ११ फागुन साँझ अवार्ड प्रदानसँगै समापन हुनेछ ।






