साहित्यकार याक्खाद्वारा लिखित दुई कृतिको एक साथ विमोचन

बिराटनगर । मोरङको सुन्दरहरैँचा निवासी साहित्यकार पुरन याक्खाद्वारा लिखित दुई कृतिको एक साथ विमोचन गरिएको छ। सुन्दरहरैंचा ५ मा अवस्थित भानु साझा पुस्तकालयको सभा हलमा आयोजित कार्यक्रममा ‘झुपडी’ (कथासङ्ग्रह) र ‘गर्भभित्र’ (कवितासङ्ग्रह) विमोचन गरिएको हो।

वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको विमोचन कार्यक्रममा साहित्यकार याक्खाको कृतिमाथि कवि टीका आत्रेय र कवि बम देवानले समीक्षा गरेका थिए।

कार्यक्रमका अध्यक्ष तथा साहित्यकार याक्खाले २०४८ रचिएको ‘गर्भभित्र’ (कवितासङ्ग्रह) २०८१ सालमा जन्मिएको बताए। यति धेरै लामो समय गर्भभित्रै रहेको र बल्ल ‘गर्भभित्र’ (कवितासङ्ग्रह) जन्मिएको बताउदै उनले सबै पाठकहरुले पढेर प्रतिक्रिया दिन आग्रह गरे। यस्तै ‘झुपडी’ (कथासङ्ग्रह) को पनि कथा उस्तै रहेको बताए।

आगामी दिनहरुमा पनि साहित्यलाई निरन्तरता दिंदै थप कृति प्रकाशित गर्ने तयारी रहेको बताए। लेखकोको ‘गर्भभित्र’ (कवितासङ्ग्रह) बाट भानु साझा पुस्तकालयका सचिव बिशाल गुरागाई,सदस्य बाबा बस्नेत,कवि प्रिन्स प्रमोद ढकाल, गीताप्रसाद श्रेष्ठ लगायतले कविता वाचन गरेका थिए।

कार्यक्रममा कवि मनु मञ्जिल, लेखक तथा अनुसन्धाता केशु विरही, भानु साझा पुस्तकालयका पूर्व अध्यक्ष विरेश राई, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख पीतकुमार श्रेष्ठ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे लगायतको शुभकामना दिएका थिए।

कार्यक्रममा अग्रज स्रष्टा कृष्णविनोद लम्साल, कवि तथा कोसी प्रदेश सांसद मीना श्रेष्ठ, अच्छा राई रसिक साहित्य प्रतिष्ठान, इटहरीका अध्यक्ष केशव सुनाम, पूर्व अध्यक्ष लेखनाथ घिमिरे, झोराहाट नाट्य समूहका अध्यक्ष, कवि भरत बर्बरिक लगायतको अन्य धेरै साहित्यकारहरुको उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण भानु साझा पुस्तकालयका साहित्य सचिव गीताप्रसाद श्रेष्ठले गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

epaper

ताजा समाचार

मिडियाको कार्यालयअघि गाडी तेर्स्याइएको विषयमा रास्वपाले के भन्यो ?