काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आठ जटिल रोगका बिरामीले हाल पाइरहेको १ लाख उपचारमा थप १ लाख गरी २ लाख सुविधा प्राप्त गर्नसक्ने उल्लेख गरेका छन् ।
स्वास्थ्य बिमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने
‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ १ साउनबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्वप्रतिबद्धताअनुसार स्वास्थ्य बिमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं,’ मन्त्री पौडेलले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
मन्त्री पौडेलका अनुसार अब क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
मन्त्री पौडेलले आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए । सोहीअनुसार मन्त्रालयले स्वास्थ्य बिमा बोर्डलाई पत्राचार गरेको थियो । मंगलबार राति बसेको बोर्ड बैठकले आठ जटिल रोगीलाई २ लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए । उनका अनुसार आगामी १ साउनबाट यो निर्णय लागू हुनेछ ।
अब आफू बसेकै ठाउँमा उपचार पाइने
आफू बसोबास गरेको स्थानबाटै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ । स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिनसक्ने भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेवाग्राहीले स्वास्थ्य बिमामा दर्ता भएको एक महिनाभित्रमै सुविधा उपभोग गर्न पाउने पनि भएका छन् । यसअघि बिमासेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो । अब नेपालको जुन ठाउँबाट स्वास्थ्य बिमा गरे पनि र जुनसुकै ठाउँमा स्वास्थ्य बिमाको सुविधायुक्त अस्पतालमा भर्ना भए पनि बिमा सुविधा पाइनेछ ।
यसअघि सेवाग्राहीलाई बिमा गरेपछि सेवा लिनका लागि बिमा गराइएको स्थानमै पुग्नुपर्ने बाध्यता थियो । तर, अब बसोबास गरिरहेको स्थानमै प्रस्थान विन्दु कायम गरेर स्वास्थ्य बिमाको सुविधा लिन पाउनेछन् ।
स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिमितले अब आफूलाई पायक पर्ने जुनसुकै स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सक्नेछन् । स्वास्थ्य बिमा बोर्डले १ साउनदेखि बिमितले आफूलाई पायक पर्ने जुनसुकै स्वास्थ्य संस्थाबाट उपचार सेवा लिनसक्ने जनाएको हो । बोर्डका अनुसार बिमा बोर्डबाट प्रथम सेवा विन्दुका रूपमा काम गर्नेगरी अनुमति प्राप्त गरेका जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बिमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् ।
यसअघि बिमितले स्वास्थ्य बिमा गर्दाको छनोट गर्नुपर्ने प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने व्यवस्था रहेको थियो । यसले गर्दा बिमितलाई नेपालभित्र कुनै पनि स्थानमा रहँदा वा बस्दा प्रथम सेवा विन्दुमै पुगी सेवा लिनुपर्ने प्रावधानबाट समस्या भइरहेको थियो ।
यही समस्या’bout बिमितबाट निरन्तर गुनासो आएकाले सहज र सरल रूपमा बिमा सुविधा बिमितलाई प्रदान गर्न यो व्यवस्था गरिएको बिमा बोर्डले जनाएको छ । बोर्डले प्रथम सेवा विन्दुबाट सामुदायिक र निजी स्वास्थ्य संस्थालाई हटाउने निर्णय गरिसकेको छ । अब १ साउनबाट सरकारी स्वास्थ्य संस्थामा मात्रै प्रथम सेवा विन्दु कायम हुने व्यवस्था बिमा बोर्डले गरेको छ ।
यसले रेफर लिनका लागि बिमा गराएकै स्थानमा पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बिमामा आबद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।
मन्त्री पौडेलले यसअघि स्वास्थ्य बिमाका सदस्यले आफू बसेकै ठाउँबाट उपचार लिन मिल्नेगरी प्रथम बिन्दु कायम गर्ने तथा हरेक तहमा बिमा सुविधा लिन सक्नेगरी नीतिगत निर्णय गरेका थिए ।
आयस्रोत र आबद्धता बढाउने बिमा बोर्डको योजना
मन्त्री पौडेलले स्वास्थ्य बिमाबाट उपचार सहायता वृद्धिसँगै स्वास्थ्य बिमा कोषको आयस्रोत बढाउने नीतिगत निर्णय पनि गरेका छन् । हालैको नीति तथा कार्यक्रममार्फत सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउने उल्लेख छ । स्वास्थ्य बिमा ऐनमा भए पनि लागू नभएको यस व्यवस्थाले आबद्धता वृद्धि भई कोषमा हुने आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ । यसका अलावा वैदेशिक रोजगारीमा गएका तथा उनीहरूका परिवारलाई समेत स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्राचारपछि सरकारका विभिन्न मन्त्रालयले स्थानीय तहसम्मै प्रयास थालेका छन् ।
साथै, नयाँ बजेटमार्फत बिमा बोर्डको बक्यौता शून्यमा झार्ने घोषणा सरकारले गरिसकेको छ । संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत स्वास्थ्य बिमा कोषमा पठाउने निर्णय मन्त्री पौडेलले गरिसकेका छन् । यसैगरी, प्रगतिशील करमार्फत स्वास्थ्य बिमा कोषमा जाने रकम बढाउने समेत मन्त्री पौडेलले घोषणा गरेका छन् ।
यसैगरी, सरकारले वितरण गर्ने उपचार सहायतासमेत स्वास्थ्य बिमा कार्यक्रममार्फत वितरण गरेर धेरै नागरिक आबद्ध हुनेगरी काम भइरहेको छ । बिमा बोर्डले अनियमित रूपमा भुक्तानी माग्ने केही अस्पताललाई कारबाही गरेको छ भने निगरानी बढाउन आफ्नो प्रणालीमा सुधारसमेत गरिरहेको कार्यकारी निर्देशक काफ्लेले बताए । यसैगरी, कोषको आम्दानी वृद्धि गर्न विभिन्न उपायको खोजी भइरहेको उनले बताए । यी सबैले हाल कोषमा रहेको प्रिमियम र आबद्धता वृद्धि हुने र बिमा कार्यक्रम निरन्तरता हुने अपेक्षा गरिएको छ ।






