काठमाडौं । वैदेशिक रोजगारको लागि पछिल्लो समय दक्षिण कोरिया पनि आकर्षक केन्द्र बनेको छ । तर त्यहाँ रोजगारी गर्ने नेपालीहरूले पनि त्यत्तिकै पीडा पाउने गरेका छन् । कतिपय त कोरिया जाने नाममा नेपालमै ठगिएका थुप्रै घटनाहरू छन् । यही कुरालाई नयाँ नेपाली चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’को टिजरमा समेटिएको छ ।
यो चलचित्रको टिजर मंगलबार सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा वैदेशिक रोजगारीमा पैसा कमाउने सपनासँगै संघर्ष देखाइएको छ । जसमा प्रेम र धोकालाई पनि प्रस्तुत गरिएको छ ।
यो चलचित्रमा विजयसँगै, केकी अधिकारी, मिरुना मगर, भोलाराज सापकोटा, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रका शीर्ष अभिनेता विजय बरालले वैदेशिक रोजगारीको लागि कोरियो जान गरेको संघर्षसँगै दलालबाट ठगिएको पीडा पनि टिजरमा समेटिएको छ । कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौँमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा उल्लेख छ ।
चलचित्रका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनालीलगायतलाई टिजरमा समेटिएको छ । यो चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका छन् । चलचित्र जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू आगामी ६ भदौबाट रिलिज हुँदै छ । नेपाली युवाहरूको सपना र त्यो सपनामा घात हुँदा उनीहरूले भोग्नु परेको पीडालाई आफूले चलचित्रमा प्रस्तुत गरेको हिमालले बताएका छन् ।
यो चलचित्रको असोसियट निर्देशकमा मनिष राउत हुन् । पेपर क्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिम्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ । यो चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । जसमा नवीन गुरुङको डीओपी, कृष्ण परियारको छायांकन रहेको छ । चलचित्रको कोरियोग्राफी सुनिल क्षेत्रीले, द्वन्द्व निर्देशन चुल्ठे काजीले र निर्माण नियन्त्रक लक्ष्मणराज पौडेलले गरेका छन् ।






