काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालले राष्ट्रिय भावको नयाँ गीत ‘बुद्धको देश नेपाल…’ श्रोतामाझ ल्याएका छन् । काठमाडौँमा एक समारोहबिच उनको यो गीतलाई नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइराला, अग्रज पत्रकार पुरुषोत्तम दाहाललगायतले विमोचन गरे ।
यो गीतमा सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको छ । गीतलाई दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट लिइएको कार्यक्रममा जानकारी गराइयो । राजु कार्कीले संगीत संयोजन गरेको यो गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका हुन् ।
गीतको भिडियोलाई गायक सन्तोषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको छ । भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसालले अभिनय गरेका छन् ।
कार्यक्रममा पत्रकार कृष्ण भुसाल, गायक सन्तोष श्रेष्ठलगायतले यो गीत तथा भिडियोमा काम गर्दाको अनुभव सुनाए । यस्तै यसका गीतकार दाहालले श्वेतपत्रबाट अन्य केही गीत पनि श्रोता÷दर्शकमाझ चाँडै ल्याउने तयारी भइरहेको बताए । दाहालले श्वेतपत्र महाकाव्यको चर्चा गर्दै आफूले विभिन्न ठाउँ र परिवेशमा यो कृति तयार गरेको बताए ।
समारोहमा प्राडा.कुलप्रसाद कोइरालाले यो गीतबाट दाहालको परिचय गीतकारको रूपमा पनि भएको जिकिर गरे । साहित्यकार तथा पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा.अम्बिका अर्यालले दाहालको यो कृतिमा नेपाल, सिक्किम र भुटानको कथा समेटिएको कारण रोचक बनेको बताइन् । प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले आफूले पढेको श्वेतपत्र महाकाव्यका हरफहरू गीतको रूपमा आउँदा अझ मिठो बनेको बताए । यस्तै गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले महाकाव्यका हरफहरू उत्कृष्ट गीत भएको जिकिर गरे ।






