पोखरा । सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ ।
क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र छ ।
पत्रकार पाठक तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील छन् । यसैगरी, क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गर्ने निर्णय गरेको छ । पोखरा–१७ निवासी गुरुङ जुनियर सदस्यका रुपमा १० वर्षअघि क्लबमा प्रवेश गरेकी थिइन् ।
पुरस्कार संस्थाको २७ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशन अवसरमा यही ३० भदौमा प्रदान गरिने संस्थाका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १९ जना पत्रकार सम्मानित भइसकेका छन् ।